झापा ।

निमोनिया भएका ब्यक्तिलाई कोरानाको आशंका भन्दै समाचार प्रकाशन भएपछि सर्वसाधारण त्रसित भएका छन् । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्का ब्यक्त गरिएको भन्दै समाचार विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएको थियो ।
झापा भद्रपुरका एक ब्यक्ति कोरोनाको संक्रमण भएको भन्दै गलत हल्ला फैल्याएपछि स्थानीय त्रसित भएका छन् । उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि काठमाण्डौं रेफर गरिएको थियो ।
यता नोबेल अस्पतालका कार्यकारी निर्देशक डा.राजेश नेपालले वास्तविकता प्रचार गरिए जस्तो नभएको बताएका छन् । उनले हल्ला कसरी फैलियो थाहा नभएको बताउँदै आश्चर्य लागेको बताए । बरु ती व्यक्तिलाई निमोनियाको आशंका गरेर रिफर गरेको अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए ।
उता ग्राण्डी अस्पतालले बिरामीमा मौसमी फ्लू देखिएको जनाएको छ । फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको ग्राण्डीका बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले जानकारी दिए । उक्त विरामीको फ्लू लगायत अन्य संक्रमणको सम्पूर्ण जाँच गराएको छ भने साँझसम्ममा रिपोर्ट आइसक्ने उनले बताए ।
ग्राण्डी अस्पतालमा कोरोनासँग जुध्न विभिन्न सुरक्षा सर्तकता अपनाइएको उनले बताए । प्रत्येक विरामीको ज्वरो नाप्ने लगायतको प्रक्रिया पुरा गरिएको र शंका लागेका विरामीलाई बाहिरै आइसोलेशन लगायतका विधि अपनाइएको उनले बताए ।































