सुरेन्द्र भण्डारी / बिर्तामोड ।

बाह्रदशी गाउँपालिकाभित्र खानेपानीका ६ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । बाह्रदशी गाउँपालिकाका सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरुप गाउँपालिकाभित्र निर्माण भइरहेका आयोजनामध्ये ६ नम्वर वडाको साधुकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी बितरण शुरु गरेको छ ।
ती ६ वटा आयोजनामध्ये साधुकुटी उपभोक्ता समितिले खानेपानी बितरण गर्न शुरु गरे पनि अरु पाँच वटा आयोजनाको काम भइरहेको छ । सञ्चालित आयोजनामध्ये तीन वटा आयोजनाले चालू आर्थिक वर्षको अन्त्यसम्ममा पानी बितरण गर्ने लक्ष्य लिएका छन् । बाँकी दुईवटा आयोजनाको काम आगामी वर्ष मात्रै सकिने बताइएको छ ।
बाह्रदशी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि नेपाल सरकार खानेपानी मन्त्रालयसहित ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोग रहेको छ । गाउँपालिकाभित्र ६ वटा आयोजना सञ्चालन गर्न ५४ करोड रुपैयाँ बजेट विनियोजना भएको छ ।
गाउँपालिकाभित्र सञ्चालनमा रहेको खानेपानी आयोजना मध्ये दुईवटा योजना (घोडामारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र नवपाञ्चायन खानेपानी तथा सरसफाई उपभोक्ता समिति) सञ्चालनका लागि ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोग रहेको छ । जसमा प्राविधिक सहयोग सहारा नेपाल साकोस बिर्तामोडले गरेको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । खानेपानीका दुबै आयोजना बाह्रदशी गाउँपालिका–५मा सञ्चालनमा छन् ।
बाह्रदशीमा सञ्चालनमा रहेका आयोजनामध्ये साधुकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दुई लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गर्दै खानेपानी बितरण शुरु गरेको छ । बाह्रदशी गाउँपालिकाको वडा नम्वर ६स्थित बाह्रदशी डाँडामा ओभरहेड ट्याङ्की निर्माण गर्दै खानेपानी बितरण शुरु गरेको आयोजनाका अध्यक्ष मधुराम पनेरुले बताए । आयोजना सम्पन्न गर्न पाँच करोड रुपैयाँ खर्च लागेको बताइएको छ । खानेपानी आयोजना सञ्चालन भएसँगै त्यस क्षेत्रमा डोकोमा बोकेर खानेपानी खानुपर्ने बाध्यता हटेर गएको वडा नम्वर ६ का वडाध्यक्ष रत्नप्रकाश योङ्हाङले बताए ।
यता ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोगमा बाह्रदशी–५मा निर्माण गरिएका घोडामारा खानेपानी तथा सरसफाई उपभोक्ता समूह र नवपाञ्चायन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पनि पानी बितरणको तयारी गरिरहेका छन् । सहारा नेपालको प्राविधिक सहयोगमा छुट्टा÷छुट्टै ट्याङ्की निर्माण गर्दै अहिले पाइपलाइन बिस्तारको काम भइरहेको छ । सञ्चालित आयोजना मध्ये नवपाञ्चायन खानेपानी आयोजनाका लागि एक करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सोही बजेटबाट अहिले खानेपानी ट्याङ्की निर्माणसंगै आयोजनाका सबै काम सम्पन्न गर्दै पाइपलाईन विस्तारको काम भइरहेको आयोजनाका अध्यक्ष रामप्रसाद पोखरेलले बताए । उनका अनुसार २०–२० हजार लिटर पानी अटाउने दुई÷दुईवटा ट्याङ्की निर्माण गरिएका छन् । २ सय ७६ घरधुरीलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित कटरडाँगीमा नवपञ्चायतन मन्दिरले एक कठ्ठा र कटरडाँगी आधारभूत विद्यालयले पौने एक कठ्ठा जमिन प्रदान गरेसँगै खानेपानी आयोजनाको कार्यालय सहित ट्याङ्की निर्माण गरिएको हो । आयोजनाले खानेपानी बितरण शुरु गरेसंगै कटरडाँगी र मुक्तिटोलका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
त्यस्तै फण्ड बोर्डकै आर्थिक सहयोगमा सञ्चालित बाह्रदशी– ५ घोडामारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले समेत यसै आर्थिक वर्षको अन्त्यसम्ममा उपभोक्तालाई खानेपानी बितरणको तयारी गरेको छ । एक करोड ७८ लाख रुपैयाँको लागतमा घोडामारामा निर्माण भइरहेको खानेपानी आयोजनाले अहिले पाइपलाइन विस्तारको काम गरिरहेको छ । आयोजना सञ्चालनसंगै ३ सय २६ घर परिवार प्रत्यक्ष लाभान्वित हुने समितिका अध्यक्ष रबीनवहादुर कार्कीले जानकारी दिए ।
यता बाह्रदशी गाउँपालिका–३ पनेरु गाउँमा पनि १६ करोड रुपैयाँको लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । संघीय सरकारले खानेपानी मन्त्रालयबाट रकम उपलब्ध गराएपछि आयोजनाको काम धमाधम भइरहेको राजगढ खानेपानी उपभोक्ता समितिका अध्यक्ष तोयानाथ पोखरेल ‘सागर’ले जानकारी दिए । स्थानीय रुपमाया पनेरुले ६ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएपछि अहिले पनेरु गाउँमा खानेपानीको ट्याङ्की निर्माणको काम सकिएको अध्यक्ष पोखरेलले बताए । साढे ४ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिएको छ– अध्यक्ष पोखरेलले भने– साबिक राजगढ गाविसलाई लक्षित गर्दै खानेपानीको योजना अघि बढाएका थियौं, अहिले बुट्टाबारीमा पनि खानेपानी आयोजना सञ्चालन हुने भएको छ ।
खानेपानीका आयोजना सञ्चालनका लागि भवन निर्माणसँगै ट्याङ्की निर्माणको काम समेत सकिएको अध्यक्ष पोखरेलको भनाइ छ । उनका अनुसार अब पाइपलाइन विस्तार गर्दै जतिसक्दो चाँडो उपभोक्तालाई खानेपानी बितरण गरिनेछ । साविक राजगढ–८मा आयोजना सञ्चालन भएसँगै हल्दिवारी गाउँपालिकाको साविकको गोलधाप १ र ९ तथा बाह्रदशी गाउँपालिकाको ३ नम्वर वडाका स्थानीयवासीले खानेपानी उपभोग गर्न पाउने भएका छन् ।
यता बाह्रदशी गाउँपालिका–२ जनतामा पनि खानेपानी आयोजनाको काम अघि बढाइएको छ । १ नम्वर प्रदेश सरकारले एक करोड रुपैयाँ वजेट विनियोजन गरेसंगै आयोजनाको काम अघि बढाइएको हो । १६ करोड रुपैयाँको लागतमा आयोजनाको काम अघि बढाइएको छ ।
स्थानीय तह, प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन गर्दै खानेपानी आयोजनाको कामलाई तीब्रता दिइने बुट्टाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब भीम सुवेदीले बताए । सचिव सुवेदीका अनुसार खानेपानी आयोजना सञ्चालनका लागि समितिका अध्यक्ष समेत रहेका कोङ्किन राजवंशीले ६ कठ्ठा १० धुर जमिन निःशुल्क उपलब्ध गराएका छन् । उनैले प्रदान गरेको जमिनमा खानेपानी आयोजनाका लागि कार्यालय भवन सहित घेरावेरा र डिप वोरिङको काम सकिएको सचिव सुवेदीको भनाइ छ । बाह्रदशी गाउँपालिका–१ र २का स्थानीयवासीलाई लक्षित गर्दै आयोजनाको काम अघि बढाइएको सुवेदीले बताए ।
त्यस्तै बाह्रदशी–५मा राजवानमा चकचकी खानेपानी आयोजना सञ्चालनमा रहेको छ । नारायण प्रसाईले ५ कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि अहिले खानेपानी आयोजनाको काम अघि बढाइएको समितिका अध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिए । गौतमका अनुसार आयोजनाका सम्पन्न गर्न १४ करोड रुपैयाँ खर्च लाग्ने भएको छ । सो आयोजनाको समेत काम धमाधम भइरहेको अध्यक्ष गौतमले बताए । उनका अनुसार पर्खाल, कार्यालय भवन निर्माण सम्पन्न भएको र ट्याङ्की निर्माणको काम भइरहेको छ ।
खानेपानी ट्याङ्की निर्माणसँगै बाह्रदशी गाउँपालिकाको ५ नम्वर वडाको पश्चिमी भाग र वडा नम्वर ४मा खानेपानी बितरण गरिने भएको छ । गाउँपालिकामा सञ्चालित सबै आयोजना सञ्चालन भएसँगै ३९ हजार ६ सय २२ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् । सात वटा वडामा विभाजन भएको गाउँपालिकामा ८०.०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।































