तुलसीपुर,
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो ।
सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफँैले टहरा हटाउन शुरु गरेको उहाँले बताउनुभयो । “हामीले हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ”, अध्यक्ष यादवले भन्नुभयो, “तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हाँै ।
अहिले सडक विस्तारको काम अघि बढिसकेको जनाइएको छ । “घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हँुदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ ।”
जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो । केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ । त्यही कारणले पनि केहीलाई मुआब्जा वितरणमा पनि समस्या हुँदै आएको अध्यक्ष यादवले बताउनुभयो ।
सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै धेरै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको उहाँले बताउनुभयो । “अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ”, उहाँले भन्नुभयो, “स्थानीयकै अवरोधकै कारण सडक निर्माण ढिला हुँदै गएको छ ।”































