लक्ष्मी उप्रेती / मेचीनगर,

१ नम्बर प्रदेशको उदयपुरमा एकै दिन ११ भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि झापामा उच्च निगरानी बढाउनुका साथै शनिबारदेखि उच्च सतर्कता र सुरक्षाकर्मीको परिचालनसँगै सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । भारतको विहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ अन्तर्गत झापाको सीमा क्षेत्रमा थप कडाइ गरिएको झापा प्रहरीले जनाएको छ
अहिले झापाको पूर्वाेत्तर इलामको जिर्मेलदेखि दक्षिण पश्चिमको गौरीगञ्जसम्मको १ सय ४४ किलोमिटर खुला सीमाबाट अनाधिकृतरुपमा मानिसको आवतजावत नहोस भन्न जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरीले संयुक्तरुपमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा जिल्लाभर १ सय ५ वटा अस्थायी पोष्ट खडा गरेर सुरक्षा व्यवस्था कडा पारेको भएपनि आवश्यकता अनुसार अझ झापा प्रहरीले नयाँ पोस्ट थपिन सक्ने छ ।
शनिबार सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीहरुले संयुक्तरुपमा १ सय ४४ किलोे मिटर खुला सीमानाबाट अनाधिकृत मानिसको आवतजावत हुने सम्भावित क्षेत्रको अनुगमन गरेको छ । धेरै ठाउँमा प्रहरीले पाल टागेर र कुनै ठाउँमा अस्थायीरुपमा पोस्ट खडा गरेर प्रहरी तैनाथ राखिएका प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु र आफैले सम्भावितक्षेत्रको स्थलगत अनुगमन गरेको बताउदैं उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सीमाक्षेत्रको निगरानीमा कडाई गर्न स्थानीयवासीसँग समन्वय गरी सीमा सुरक्षा समिति गठन भएको र समितिले लुकिछिपी नेपाल प्रवेश गर्नेमाथि कडा निगरानी बढाउने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको समेत जानकारी दिनुभयो । सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यसअघि प्रहरी चौकी दशगजाक्षेत्रबाट २ देखि अढाई किलोमिटरको दुरीमा स्थापना गरिएको भएपनि अहिले स्थानीय समुदाय र वस्तीलाई लक्षित गरेर १० गजाक्षेत्रमै अस्थायी पोस्ट र पाल टागेर प्रहरी बस्न थालेका छन् । २÷२ किलोमिटरको दुरीमा प्रहरी पोस्ट खडा गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । सशस्त्र र नेपाल प्रहरीले दशगजामा चोकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढेपछि र स्थानीयवासीसँग समन्वय गरी सीमा सुरक्षा समिति गठन भउ पश्चात लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिने प्रहरी उपरीक्षक कोइरालाले विश्वास व्यक्त गर्नुभयो ।































