
संभवतः नेपाली इतिहासकै अद्वितीय क्रान्तिनायक–जननायक विश्वेश्वरप्रसाद कोइरालालाई वर्तमान राजनीति जगतैको समग्रताले मनग्य सम्झिन र महत्व दिन छाडिसकेको भान हुन्छ । उहाँकै सहोदर पथानुगत राजनीतिक दलमार्गीहरुले नै पनि उनीहरुका राजनीतिक अभ्यास वृत्तमा उहाँको पथानुशरणलाई वैदिक परम्परागत पूजाआजामा पुरोहितले आह्वान गर्दा पछाडि बसेको व्यक्ति (भक्त)–ले अगाडि बस्नेहरुका सारमा सार मिलाउँदै अन्धाधुन्ध ‘म म’ भने जति वा भने जस्तै महत्व (?) मात्र दिइरहेको आभास हुन थालेको छ । यस्तो अवस्थामा पनि जनक्रान्तिका महानायक विश्वेश्वरप्रसाद कोइरालाको यशस्वी ऐतिहासिकताका प्रति आत्मनिवेदित केही कलमकर्मी उहाँलाई विस्मृतितिर धकेल्न नदिने निष्काम प्रयत्नमा लागिरहेकै छन्— जसको प्रशंस्य कदर हुनै पर्दछ । इतिहासका जाज्वल्य निधिहरु हरेक वर्तमान हुँदै सन्ततिसम्म पुग्दा दन्त्यकथा मात्रमा सीमित हुनु वस्तुतः हरेक वर्तमानको महान अपराध त हुँदै हो भने मौलिक राष्ट्रियताका हकमा ठूलो अन्याय पनि हो ।
…“मैले या नेपाली कांग्रेसले कहिल्यै पनि यस व्यवस्था (पञ्चायत व्यवस्था)–को ठाउँमा नेपाली कांग्रेसको सरकार स्थापित गर्ने उद्देश्यले संघर्ष गर्नुपर्छ भनेको छैन । नेपाली कांग्रेस कहिले पनि अरु पार्टीभन्दा आफ्नो पार्टीलाई कुनै प्रकारको बढी सरकारी या राजनैतिक अधिकार खोज्दैन । प्रजातन्त्रमा जति अरु पार्टीलाई अधिकार प्राप्त हुन्छ त्यो भन्दा बढी अधिकार नेपाली कांग्रेसले कहिले पनि चाहना गरेको छैन ।”…
जननायक विश्वेश्वरप्रसाद कोइरालाको उपर्युक्त भनाइ आजको वर्तमानमा उदरम्भी महत्वाकांक्षाको अनुनाद नै ‘राजनीति’ भनेर धुमधाम कर्लिरहेका सबै कित्तासीन राजनीतिकर्मीहरुका लागि, तिनले बुझेमा, राहतदायी विशिष्ट सूक्ति (बउयउतजभनm) बन्न सक्तछ । यस्तैयस्ता बहुआयामयुक्त सूक्तिस्वरुप अनेक अंश समेटिएका उहाँ (वी.पी.)–का बहुमूल्य प्रजातन्त्रवादी विचारले सम्पोषित पुस्तक ‘विश्वेश्वरप्रसाद कोइरालाको अदालतमा बयान र राष्ट्रिय एकता तथा मेलमिलापको सन्दर्भ’ नामबाट राजेश ढुंगानाले प्रकाशनमा ल्याउनु भएको छ ।
जम्मा ६० पृष्ठको यो पुस्तकमा कता–कता छरष्ट प्रकाशमा आएका जनक्रान्ति नायक विश्वेश्वरप्रसाद कोइरालाका राजनीतिका निम्ति निर्देशक सैद्धान्तिक विचारहरु समावेश छन् । ३० डिसम्बर १९७६ (सन्)–मा लामो प्रवासकालपछि स्वदेश फर्कन लाग्दा देशबासीका नाउँमा उहाँले गर्नुभएको अपीलबाट पुस्तकको मूल खण्ड प्रारम्भ गरिएको छ । पुस्तकमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका उपल्ला नेता कृष्णप्रसाद सिटौलाले शुभकामना दिनु हुँदै ‘… यो तीन दशक (२०४७–०७७)–को बीचमा लोपप्रायः भएर गएको ऐतिहासिक दस्ताबेजलाई’ त्यसो हुन नदिने राजेश ढुंगानाको सत्प्रयासलाई सह«ाउनु भएको छ भने नेपाली कांग्रेसका (केन्द्रीय) प्रवक्ता विश्वप्रकाश शर्माले जननायक विश्वेश्वरप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना गर्न बीजारोपित सबै किसिमका संघर्षको नेतृत्व गर्दा अख्तियार गर्नुभएको उच्च नैतिकता, प्रवाह गर्नुभएका बहुआयामिक र दूरदर्शी सन्देश, समाजवाद सम्बन्धी उदात्त र मननीय विचारहरु आदिमाथि पृथक–पृथक सकारात्मक टिप्पणी साथ पुस्तकको उपयोगिता उजागर गर्नुभएको छ ।
जनक्रान्ति नायक विश्वेश्वरप्रसाद कोइरालाले लामो भारत निर्वासनपछि सबै पक्षसँग मेलमिलाप गर्ने प्रस्तावरुपी स्वच्छ नीति लिएर नेपाल फर्कनासाथ गिरफ्तारीमा पर्नु भएको थियो । उहाँलाई विभिन्न अभियोगको घाँडो भिराई पटक–पटक अदालतमा ठिङ्गुर्याइएका अवस्थामा उहाँले दिनुभएका बयानहरु प्रस्तुत पुस्तकमा हुबहु राखिएका छन् । ती बयानहरु पढ्दा र पूर्वदीप्ति (ाबिकजदबअप)–मा ओर्लेर त्यो कठोरकाल अर्थात् एकाधिपति राजाको सक्रिय नेतृत्वमा नोकरशाही चारित्रिक हुद्दा (पञ्च)–द्वारा चलेको हुकुमी र पूर्णतः पञ्चकेन्द्रीत शासनकाललाई सम्झिँदा लोकतन्त्रका हार्दिक हिमायती नेपाली मनहरुले क्रान्तिनायक विश्वेश्वरप्रसाद कोइरालाको अदमनीय साहस, त्याग, नैतिकता, दूरदर्शिता तथा समाजवादका प्रतिको निश्छल आभ्यन्तरिक प्रतिबद्धता बुझ्न सजिलै सक्तछन् । अहिलेका राजनीतिक नेताहरुले उनै विश्व परिचित राजनीतिक महामनाले तयार गरिल्याएका बाटामा हिंड्नसम्म जानिरहेका भए पूर्ण प्रजातन्त्रोत्तरको पछिल्लो तीन दशकले यो गरिबी, पछौटेपन र शोषणले जर्जर नेपाललाई स्वर्णयुगमा प्रवेश गराइसक्ने कुरामा सन्देहको गुञ्जायस शायदै रहने थियो होला ।
यसलाई अर्को टिप्पणीको उपस्थापना गरेर भन्नुपर्दा— नेपाली जनक्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइरालाले प्रजातन्त्र स्थापनाको अतुल साहसपूर्ण राजनीतिक संघर्षबाट नाका खुलाइदिएर तयार गरिदिनु भएको धरातलसँग सम्बन्धित सयौं) महत्वपूर्ण आख्यान (mबवयच भउष्कयमभ) र त्यसका वैशाखीस्वरुप प्रकरी (अयलतभहतगब िलबचचबतष्यल)–हरुलाई इमानदारी साथ पृष्ठभूमि मानेर अहिलेका तल्ला–उपल्ला राजनीतिक पात्रहरुका वैभिन्ययुक्त बोली–व्यवहार छिन्किनु हो भने त्यसबाट ‘बाघको छालामाथि स्यालको रजाइँ’ उखानभन्दा अर्को निष्कर्ष निस्किन सहज सम्भव छैन । अतः राजेश ढुंगानाको प्रस्तुत पुस्तकले यी सबै कुरा उजागर गर्ने साक्षी–सहयोगीको हैसियत राख्तछ । एउटाको साहसिक अगुवाइमा आर्जित युग परिवर्तनको सम्पत्तिमाथि सहस्रले शासकीय रजाइँ गर्दै बुर्कुसी मार्न उछिन्पछिन् गर्नु र मूल मुद्दालाई आ–आफ्ना स्वार्थका लागि पुरानै सामन्ती लयमा फर्काउने दुष्कर्म भइरहेको देखिइरहनुको छोटोमिठो सार बनेर उल्लिखित उखान आज सम्पूर्ण उच्चतासाथ उभिएको छ भन्नु नै पनि अन्यथा नठहर्ला ।
यदि वि.स. २००७ सालको परिवर्तनलाई नेपालमा ‘प्रजातन्त्रको शिलान्यास’ नमान्न सकिन्न भने त्यसपछिका घटना–परिघटनाहरुले २०४७ र २०६३ मा किमार्थ खुट्टो टेक्ने थिएनन् । तर, इतिहासको त्यो सुखद् शुरुबिन्दुमा खुट्टा टेकाउने मूल सूत्राधार समूहका उपस्थापक महापुरुषको कथा आज महाभारतको युद्धमा होमिएका अठार अक्षौहिणी फैजीमध्ये कुनै पराजयले अभिभूत भई कुनै कुनामा थिचिएर–मिचिएर मरेको सिपाहीका सन्ततिले कहेको कथा जस्तो बनाउने दिशातिर गलहत्याइने संभावना बढेको छ । अन्ततः आज क्रान्तिनायकका रुपमा नेपाली इतिहास र समाजवादी विश्व–समाजद्वारा स्थापित वीर विश्वेश्वरको ओजस्वी–यशस्वी भविता इतिहासको पन्ना बाहेक व्यावहारिक नेपाली राजनीतिको पटाङ्गिणीमा अनुतप्त हुँदै जाने लक्षणहरु प्रकारान्तरमा देखिँदैछन् । यिनै महापुरुषको गौरवगाथा यो सानो पुस्तकमा लोकतन्त्रका प्रति अविच्छिन्न रुझान राख्ने साहित्य एवम् सञ्चारसेवी राजेश ढुंगानाले आजका लोकतन्त्रवादीहरुलाई पुनस्र्मृत गराउने अनुकम्पा गर्नु भएको छ । धन्य छ ।
विश्वकै समाजवादी आन्दोलनका अगुवामध्ये एक, महामान्य विश्वेश्वरप्रसाद कोइराला जस्ता राजनीतिक विभूतिका अनुगतवृत्तमा आज ठूलो मतवैभिन्न्य र कलह छ, तानातान होहल्लाको कोलाहल छ र त्यसले आफ्ना महान पूर्वजहरुका अग्रजका आदर्श र उहाँद्वारा प्रतिपादित दलको सारभूत सिद्धान्तद्वारा निर्देशित बाटोमा हिंड्न बिर्साइरहेको होला ! उनीहरुमध्ये माथ्लो शिविर यो समयले दिएको सहज परिस्थितिमा पनि देश र जनतालाई क्रमशः आफ्नो प्रभुत्वको कबिला र आफ्ना रैतीमा रुपान्तर गर्न आतुर देखिन्छन् । त्यसैगरी तल्लो–तल्लो पदीय पीँढीदेखि स्थानीय तहका शिविरमा पदभार बोक्नेहरु त झन चेसको बोर्डमा ठड्याइएका प्लाष्टिकका गोटी सरह देखिँदाछन् । चेसका निर्जीव प्लाष्टिकका गोटीहरु चलायमान हुने कुरै भएन र तिनलाई राजा, प्रधानमन्त्री, मन्त्री, सिपाही, घोडा इत्यादि नामको सम्मान दिइए पनि तिनको गति (mयखझभलत) तिनलाई चलाउने हातमा हुन्छन्, ती आफैंमा त फगत गोटी हुन् प्लाष्टिकका ! र, यस्तो परिस्थितिका माझ चर्चा–पर्चाबाट अलग रहँदै आउनुभएका ‘स्थानीय कलमकर्मी राजेश ढुंगानाले आफ्नो इमानदार बोधगम्यताले भ्याएको सत्कार्यद्वारा महान जननायकलाई अभिषेक गर्नु वास्तवमै प्रशंसनीय छ ।
पुस्तकमा प्रस्तोता राजेश ढुंगानाले आफ्ना विभिन्न पाँच वटा विषय–सान्दर्भिक लेखहरु पनि राख्नु भएको छ । ती लेखहरुमा राष्ट्रिय एकता र मेलमिलाप सम्बन्धी जननायकका उच्च महत्वका विचारहरुलाई सरलरुपमा प्रस्तुत भएका छन् । यो पुस्तक आजको नेपाली राजनीतिको भताभुङ्ग परिस्थितिलाई प्रजातन्त्र–लोकतन्त्रको शुरुवाती भावभूमिमा पर्गेल्न सहयोगी हुने हुँदा पढ्न योग्य र आवश्यक मात्र होइन अहिलेको वर्तमानमा राजनीतिक नायक र राष्ट्र नायक समेत मै हूँ भन्ने मपाइँ र दम्भलाई दीर्घायु गराउन चाहनेहरुदेखि प्रजातन्त्रको (लोकतन्त्रको) मर्म जान्न इच्छुक सदाशयीहरुलाई विभिन्न कोणबाट अत्यन्त उपयोगी छ । सहधर्मी राजेश ढुंगानामा स्निग्ध साधुवाद ।

























