झापाका सीमावर्ती बजारहरुमा कानूनद्वारा प्रतिबन्धित लागूऔषधको कारोबार फस्टाउँदै जानु हाम्रा लागि चिन्ताको विषय हो । त्यस्ता लागूपदार्थको प्रयोगले स्नायु प्रणालीमा असर पार्छ, अपराध बढाउँछ, जनशक्ति कमजोर हुन्छ, अर्थव्यवस्था ध्वस्त हुन्छ र देशलाई नै पछि धकेल्छ । त्यहीकारण विश्वव्यापी समस्याका रुमपा रहेको लागूऔषधको कारोबार र प्रयोगलाई निरुत्साहित गर्न नेपालमा पनि कानूनी व्यवस्था नै गरिएको छ । लागूपदार्थको बढ्दो प्रयोग र कारोबारलाई नियन्त्रण गर्न वि.सं. २०३३ सालमा पहिलोपटक लागूऔषध नियन्त्रण ऐन ल्याइएको थियो । त्यसपछि आवश्यकता अनुसार कानून संशोधन गरी दण्ड सजायको व्यवस्थालाई कडा पारिएको छ । तर, लागूपदार्थको प्रयोग र कारोबारमा वर्षेनि बढोत्तरी भइरहेको छ ।

झापाको सीमाना बजार काँकरभिट्टा, भद्रपुरसँगै दक्षिणी क्षेत्रहरु लागूपदार्थ आयात गर्ने मुख्य केन्द्र बन्दै गएको पक्राउ परेकाहरुको विवरणले देखाइरहेको छ । पछिल्लो पटक भद्रपुरमा ब्राउन सुगरसहित एकजना प्रयोगकर्तालाई पक्राउ गरेपछि उनको बयानका आधारमा प्रहरीले कारोबारीको खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले झापालाई लागूऔषधमुक्त जिल्ला बनाउने अभियान चलाएको छ । यसै अनुसार झापामा दिनहुँ लागूऔषधहरु भित्रिने क्रम घटेको छैन । मंगलबार मात्र गृहमन्त्रीले लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण सम्बन्धी पुस्तक सार्वजनिक गरे । सो पुस्तकले पनि नेपालमा लागूऔषधको भयावहता बढ्दै गएको तथ्य खुलाएको छ ।
मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने, प्रयोगकर्ताको भावना र सोचाइमा परिवर्तन ल्याउन सक्ने प्राकृतिक वा रसायनिक पदार्थलाई लागूऔषध भन्ने गरिएको छ । लागूऔषधका नयाँ प्रयोगकर्ता दिनहुँ औसत अठार जना थपिँदैछन् । लागूऔषधकै सेवनका कारण विशवमा प्रति वर्ष दुई लाख ५३ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ भने नेपालमा अहिले दुई लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् । किशोर–किशोरीहरु यसको मूल प्रयोगकर्ता रहेकोमा हालको सर्वेक्षणले पाका मानिसहरु दुव्र्यसनमा फस्दै गएको देखाएको छ । साथीको लहै–लहैमा, मनोरञ्जनको खोजीमा, उत्सुकतावश, खुसी हुन, मानसिक तनाव कम गर्न, पढाइका समस्या लगायतका कारण युवापुस्ता दुव्र्यसनी बन्दैछन् । त्यसैगरी विकसित समाज, व्यस्त र विलासी जीवनशैली, चेतनाको कमी र खुल्ला सीमानाले पनि समस्या तीव्र दरमा बढ्दै गएको छ ।
विश्वकै लागि चुनौतिको विषय बनिएको लागूऔषधको प्रयोग संस्कारको निरन्तरताका रुपमा रहेको भए पनि आज अर्धविकसित देशका लागि गम्भीर समस्या बन्दै गएको छ । नेपाल खुल्ला सीमानाका कारण लागूऔषधको ट्रान्जिट क्षेत्र बन्दैछ । यसो हुनुका पछि अन्तर्राष्ट्रिय व्यापारको विकास, यातायात, सञ्चारमाध्यमको प्रगति र छिट्टै धन कमाउने लालसा जोडिएका छन् । दुव्र्यसनले जनशक्ति कमजोर हुने, सामाजिक संस्कार बिग्रने, अपराध बढ्ने, अर्थ व्यवस्था ध्वस्त हुँदै देशलाई पछि पार्ने भएकाले यसको नियन्त्रणका लागि राज्यसँगै सामाजिक सक्रियता बढाउनु आजको आवश्यकता हो । नियम–कानूनको कार्यान्वयनमा जोड दिँदै सचेतना कार्यक्रम सञ्चालन गर्न ढिला गर्नु हुँदैन । सुधार केन्द्र थप्ने र व्यवस्थित गरी रोजगारी बढाउने कार्यक्रम पनि थप्दै लगेर दुव्र्यसनी घटाउनेतर्फ गम्भीर बन्नुपर्छ । अनि मात्र यो दीर्घ समस्याबाट मुक्ति सम्भव छ ।




























