लक्ष्मी उप्रेती,
मेचीनगर ।

छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि भारतसँग सीमा जोडिएका नेपालतर्फका नाकाबाट हुने आवतजावतमा कडाइ गर्न थालिएको छ ।
केही दिनयता भारतको पश्चिम बंगालस्थित रानीगञ्ज पानीट्यांकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा समेत कडाइ गर्न थालिएकोे छ । स्थानीय प्रशासनका अनुसार छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि कामको खोजीमा गएका नेपालीहरु केही दिनयता यो नाका भएर घर फर्कन थालेका छन् ।
संक्रमण देखिएका ठाउँबाट आएका नेपालीबाट संक्रमण फैलिने डरले आवतजावतमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिंह दाहालले बताए । खुला सीमानाका कारण त्यहाँबाट मानिसको आवतजावत हुनसक्ने प्रहरीको भनाइ छ । अहिले भारतका विभिन्न ठाउँबाट आउने र नेपालका विभिन्न ठाउँबाट भारततर्फ जाने सबैको अभिलेख राख्नुका साथै परिचय खुल्ने परिचय–पत्र अनिवार्य गरिएको छ ।
मेचीनगर नगरपालिकाको कोभिड–१९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिले यसअघि सीमा नाकामा सञ्चालनमा ल्याएको हेल्थडेक्सलाई थप प्रभावकारी रुपमा सञ्चालन गरेको छ । समितिले संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउने लगायतका निर्णय गरेको छ ।
अहिले भारतबाट नेपालतर्फ आउनेहरुको थर्मल गनबाट तापक्रम मापन गर्न थालिएको छ । यसका लागि सीमा नाकामा मेचीनगर नगरपालिका र सशस्त्र प्रहरीको सहायता कक्षमा स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको छ । भारततर्फ जानेहरुको समेत तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको छ । आवतजावत गर्नेहरुलाई पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । नेपाली सेनाले मेची पुलमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । सीमा नाकाबाट हुने आवतजावत र चेकजाँचलाई थप व्यवस्थित गर्न होल्डिङ सेन्टर सञ्चालन गरिएको हो । नेपाली नागरिकहरुलाई अत्यावश्यक काममा भारत जानु परे प्रक्रिया पूरा गरेर मात्र जान पाइने निर्णय गरिएको छ । घरायसी सामग्री खरिदका लागि भारतीय बजार जानेहरुलाई भने कडाइ गरिएको छ । मास्क, सेनिटाइजर, सामाजिक दूरी लगायत स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिएको छ ।
भारतको पश्चिम बंगालस्थित रानीगञ्ज पानीट्यांकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा नाका खुला सीमानाकै कारण संक्रमणको जोखिममा रहेको छ । भारतका मुख्य शहरमा संक्रमण बढ्न थालेपछि फेरि काम बन्द र लकडाउन हुने आशंकामा नेपाल फर्किने नेपालीको संख्या दैनिक बढ्दो छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राईका अनुसार दिनहुँ ६देखि ८ सय जना यो नाकाबाट भित्रिइरहेका छन् । घर फर्किनेको संख्या बढिरहेकै बेला कामको खोजीमा भारततर्फ जाने क्रम पनि चलिरहेको उनको भनाइ छ । नेपाल प्रहरीका अनुसार आइतबार १ हजार ६ सय २६ जना यो नाका भएर बाहिरिएका थिए भने ९ सय ५३ जना नेपाल प्रवेश गरेका थिए ।
सोमबार १ हजार १ सय १४ जना भारततर्फ लागे भने १ हजार ८३ जना नेपाल प्रवेश गरको तथ्याङ्क प्रहरीसँग छ । मंगलबार २ हजार ३ सय ९३ जना भारत गएका थिए भने १ हजार ६८ जना नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार बुधबार १ हजार ६ सय ८० जना भारत गएका थिए भने एक हजार ९ सय ७५ जना नेपाल प्रवेश गरेका थिए ।
दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएको र मानिसहरुको भीडभाड र आवागमन पनि बढेपछि मेचीनगरमा विहीवार कोरोना भाइरस सम्बन्धी सचेतनामूलक र्याली निकालिएको छ । संक्रमण फैलिने भन्दै नगरको प्रमुख व्यापारिक केन्द्रविन्दु काँकरभिट्टामा सचेतनामूलक र्याली र मास्क वितरण कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।































