बिर्तामोड ।
झापा जिल्ला सहकारी संघले ६४औं राष्ट्रिय सहकारी दिवस जीवन, व्यवसाय र रूपान्तरण विषयक उत्प्रेरणात्मक कार्यक्रम गरेर मनाएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा उत्प्रेरक प्रशिक्षक नरबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेका थिए ।
कार्यक्रममा उत्प्रेरक प्रशिक्षक नरबहादुर कार्कीले सहभागिलाई जीवन, व्यवसाय र रूपान्तरणका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
सोही कार्यक्रममा संघका अध्यक्ष ढकालले यो वर्ष पुरस्कृत र सम्मानित हुने सहकारी संस्था र कर्मचारी एवम् सहकारी व्यक्तित्वको नाम घोषणा गरेका थिए ।

झापा जिल्ला सहकारी संघले यो वर्ष कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ भने राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान मोरङका केशव पोखरेललाई प्रदान गर्ने घोषणा गरेको छ ।
झापा जिल्ला सहकारी संघले उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडलाई पुरस्कृत गरिने भएको छ भने बचत तथा ऋण सहकारी अन्तरगत कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, कृषि सहकारीतर्फ साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारी , उत्कृष्ट बचत बारोबार गर्ने सहकारीतर्फ दमक बहुमुखी सहकारी संस्था र कर्जा कारोबारी उत्कृष्ट संस्थाका रुपमा सुनकोशी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडलाई पुरस्कृत गरिने भएको छ ।
त्यसैगरी उत्कृष्ट व्यवस्थापक महिलातर्फ महालक्ष्मी कृषि सहकारी मेचीनगरका प्रेमकुमारी सुवेदी र पुरुषतर्फ चन्द्र दर्शन बचत तथा ऋण सहकारी कमलका राजु थापालाई पुरस्कृत गरिने भएको छ ।

उक्त सम्मान तथा पुरस्कारहरु अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आगामी २०७८ साल असार २४ गते प्रदान गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघले हरेक वर्ष प्रकाशन गर्दै आएको सहकारी स्मारिकाको विमोचन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास वोर्डका सञ्चालक रामचन्द्र उप्रेती , नेपाल कृषि केन्द्रीय सहकारी संघकी उपाध्यक्ष मिनाकुमारी ढकाल, नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारी, चिया सहकारी केन्द्रीय अध्यक्ष हर्क तामाङलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।






























