होटल बन्द हुँदा अर्बौंको लगानी जोखिममा, १० हजार मजदुर वेरोजगार

८ असार २०७८, मंगलवार मा प्रकाशित

विष्णुप्रसाद पोखरेल,
दमक ।

दमकमा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको दमकको थकाली किचनमा दिनभर जतिखेर गए पनि खान पाइने भएकाले एकछिन पनि खाली थिएन । विगत दुई महिनादेखि होटल पूर्णरुपमा बन्द रहेको छ । होटलका कर्मचारीहरु भने अहिले त्यही खान खाएर दिन कटाइरहेका छन् ।

‘बैंकको ब्याज र यहाँ काम गर्नेहरुलाई आकर्षक सुविधा दिन पनि कुनै चिन्ता थिएन र कमाई पनि चित्तबुझ्दो नै रहेको थियो’ –होटल सञ्चालक दिवस राईले भने– ‘होटलका कर्मचारीहरुलाई बिदाइ गर्यो भने भोलि नआउने र नपाउने चिन्ता हुन्छ । कमाई नभए पनि खानबस्न र केही तलब त दिनै पर्यो ।’

उनले यहाँमात्र नभएर आफ्नो शाखा विस्तारको क्रममा बिर्तामोडमा पनि आफ्नो शाखा विस्तार गरेका थिए । इलाममा पनि सञ्चालनको तयारी थियो । तर, लकडाउन अहिले उनलाई समस्या भएको छ । एक वर्षअघिको पीडा अलि कम हुँदै गएको समयमा फेरि शुरु भएको कोभिड र निषेधाज्ञाले उस्तै बनाएको उनले बताए ।

दमकको पाथीभरा होटल एण्ड लज पनि दमकको चल्तीको मानिन्छ । बस्न र खानाका लागि कुनै समय दमकमा यो होटल अब्बल मानिन्थ्यो । अहिले पूर्णरुपमा बन्द रहेको छ । एक बर्षअघिदेखि अहिलेसम्म पनि पूर्णरुपमा होटल नचलेको होटलका सञ्चालक पुष्प खनालले बताए । ‘खान र बस्नका लागि व्यवस्थापन गर्नका लागि हम्मे–हम्मे पथ्र्यो, तर अहिले त बैंकको ब्याज पनि कसरी तिर्ने मुश्किल भएको छ’ –खनालले भने ।

होटल तथा पर्यटन व्यवसायी महासंघका प्रदेश १ का अध्यक्ष राजन दंगालका अनुसार राज्यले ध्यान नदिने हो भने र होटल तथा लज व्यवसायीहरुको समस्या नबुझ्ने हो भने अर्बौं लगानीको व्यवसाय चौपट हुनेछ । ठूलो लगानीमा खुलेका होटल तथा लजहरुको लगानी डुबेर व्यवसायीहरु पलायन बन्ने खतरा रहेको उनले बताए ।

भाडामा लिएर चलाइएको होटल र त्यहीमाथि बैंकको ऋणको ब्याज तिर्न नसक्ने अवस्था हुँदा अब ब्यवसाय छाडेर हिड्नुको विकल्प के रहन सक्छ र ? दमकमा नै होटल व्यवसाय गर्दै आएका दंगालले भने । होटलका कामदारहरुलाई तलब दिएर अहिले पनि राखिरहनु परेको छ र कोठाभाडा पनि तिर्नु परेको उनले बताए । बैंकले पनि ताकेता गर्दा झनै समस्या भएको दंगालले बताए ।

प्रदेश १ मा २० अर्बको लगानी जोखिममा

होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश १ अध्यक्ष दंगालका अनुसार होटल क्षेत्रमा यहाँ २० अर्बभन्दा बढिको लगानी रहेको छ । पछिल्लो समयमा थप सुविधासम्पन्न होटलहरुले अझ धेरे लगानी गरे पनि उनीहरु पनि जोखिममा रहेका छन् । होटलहरु पूर्णरुपमा बन्द हुँदा यो सबै लगानी जोखिममा परेको दंगालले बताए ।

‘ऋण गरेर चलाइएका होटलहरु यत्रो समय नचल्दा व्यवसायीहरु अब कसरी उठ्न सक्ने अवस्था रहन्छ ?’ –दंगालले भने । ठूला तथा मझौला गरे नौ हजार चार सय होटलहरु प्रदेश १ मा रहेको पनि बताइएको छ । दैनिक घाटामात्र २५ करोडभन्दा बढिको रहेको दंगालले जानकारी दिए ।

१० हजार मजदुरको बिचल्ली, आधा पलायन

होटल व्यवसाय ठप्प रहँदा यहाँ कार्यरत रहेका १० हजार मजदुरको बिचल्ली हुने अवस्था रहेको छ । होटलका मजदुर तथा कर्मचारीहरुलाई कति दिनसम्म तलब दिएर खुवाएर राख्न सकिन्छ र ? दंगालको भनाइ छ । आधाभन्दा बढि त वैकल्पिक कामको खोजीले यस क्षेत्रबाट पलायन भइसकेको पनि उनले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here