नेपाली सबको असार महिना बुझ्दा बडा गर्वको
जाति, धर्म र वर्ग भेद नहुने हाम्रो महा पर्व हो
पाहाडी हिमशैलका तलतलै बेंसी गरा टारमा
फल्ने धान मधेशमा कति थरी उब्जा हुने फाँटमा ।।१।।
बाली अन्न छ मुख्य स्वाद रसिलो सम्मान धानै छ यो
रोप्छौं धान असारमा सब मिली यो मुख्य पेशा भयो
खेती थोर हुनेहरु जति सबै न्वागी भनी रोप्तछन्
ठूला खेत हुने किसान जतिले पेशा गरी रोप्तछन् ।।२।।
धेरै खेत खला बडा पनि हुने बेठी लगाइ कति
रोप्छन् धान रमेर ताल लयमा बाजा बजे नौमती
रोपाहार र बाउसे अनि हली खेल्छन् जुवारी कति
छ्यापाछ्याप हिलो गरेर निहँुले हान्छन् बियाडे कति ।।३।।
खेताला रमिते छिमेक जतिले ढाकेर पूरै गरा
तानी खेत धनी खला तिर लगी निथु्रक्क पार्छन् बरा
पन्ध्रैका दिन धान्यका दिवसमा मान्छौं हिलैको गरी
खाजा त्यो दिनको दही र चिउरा सब्जी छ नानाथरी ।।४।।
हाम्रो चाड भनौं कि संस्कृति भनौं आषाढका पन्ध्रमा
रोपी धान हिलो गरेर गलिए राम्रो हुने स्वास्थ्यमा
खाई मानु असारका दिनहरु काटुन् मुरीको गरी
सबले जाँगर साथ पौरख गरे जान्थ्यो दरिद्री टरी ।।५।।

चित्रदेव कट्टेल
देउमाइ–९, जीतपुर, इलाम
हाल बिर्तामोड–५, झापा



























