मेची क्याम्पसका उपप्राध्यापक झाको मोटरसाइकल दुर्घटनामा मृत्यु

२४ असार २०७८, बिहीबार मा प्रकाशित

झापा,

मोटरसाइकल दुर्घटनामा परी मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मृत्यु भएको छ। भद्रपुर निवासी ५० वर्षीय झा मेची बहुमुखी क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक हुन्।

भद्रपुर नगरपालिका-८ किरात कोलोनीको भित्री सडक खण्डमा बुधबार राति साढे ११ बजे भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे २ प २५२५ नम्बरको मोटरसाइकलले ना३ख ८५४२ नम्बरको सडकमा रोकी राखेको ट्रकलाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक झाले ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका १ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिएका थिए।

दुर्घटनामा परी मोटरसाइकल चालक झाको टाउकोमा गम्भीर चोट लागेको र ट्रक चालक ढुङ्गेललाई टाउको र खुट्टामा चोट लागेपछि दुवै जनालाई उपचारका लागि ओम साई पाथीभरा हस्पिटल पठाइएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

ओमसाईमा उपचार सम्भव नभएपछि झालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो। उनको उपचारको क्रममा सोही अस्पतालमा बिहीबार बिहान साढे २ बजे मृत्यु भएको हो। ट्रक चालक ढुङ्गेलको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here