बिर्तामोडको सुरक्षा ब्यवस्था कमजोर भएकोभन्दै नगरपालिकाद्वारा चिन्ता व्यक्त

0
1107

झापा ।

झापाको एक स्थानीय तहले नै शान्ति सुरक्षा कामय गर्न नसकेको भन्दै प्रहरीको सुरक्षा ब्यवस्था प्रति प्रश्न उठाएको छ । प्रमुख व्यापारीक केन्द्र बिर्तामोडको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै बिर्तामोड नगरपालिकाले मंगलबार प्रेस विज्ञप्ति जारी गरी बिर्तामोडको शान्ति सुरक्षामा ठूलो चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

नगरपालिकाले सुरक्षा व्यवस्था कमजोर भएका कारण बिर्तामोड क्षेत्रमा केही समय यता आपराधिक क्रियाकलापहरु बढेको ठहर गरेको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जारी गरेको विज्ञप्तिमा बिर्तामोडको शान्ति सुरक्षामा चुनौती बढेकै कारण होटल व्यवसायी तथा स्थानीयबासीको मृत्यु तथा हत्याका घटना भएको जनाएका छन् ।

शिवाकोटीले सोमबार बिर्तामोड–५ सुगम पेट्रोल पम्प नजिक अर्धनग्न अवस्थामा २५ बर्षीया सृजना बस्नेतको शव फेला परेकोप्रति पनि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमार्फत शिवाकोटीले बिर्तामोड क्षेत्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन तथा नगरबासीको जिउधनको सुरक्षा गर्न सम्बन्धित निकायहरुसँग माग गरेका छन् । उनले शंकास्पद अवस्थामा मृत भेटिएकी सृजना बस्नेतको घटनाबारे सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न समेत आव्हान गरेका छन् ।

हत्याका घटनाको सत्य तथ्य तत्काल सार्वजानिक गर्न नगरपालिकाले माग समेत गरेको छ । पछिल्लो समयमा बिर्तामोड क्षेत्रमा अपराधका घटना बढ्न थालेको भन्दै स्थानीयले प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक(डीएसपी) सन्तोष आचार्यको कार्य शैली प्रति नै असन्तुष्ट जनाएका छन् । बिर्तामोडबासीले असुरक्षित महशुस गरिरहेका बेला स्थानीय सरकारले समेत सुरक्षा ब्यवस्था कमजोर भएको भन्दै विज्ञप्ति निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here