खोप केन्द्रका सेवाग्रहीको गुनासै–गुनासो: कोभिड–१९ विरुद्धको खोप अभियानमा सेवाग्राहीको गुनासो

१३ श्रावण २०७८, बुधबार मा प्रकाशित

रत्नबहादुर बस्नेत,
बिर्तामोड।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान २०७८/७८अन्तरगत बिर्तामोडमा सञ्चालन भइरहेको खोप कार्यक्रमका सहभागीले सेवाप्रति गुनासो गरेका छन्।

बिर्तामोड नगरपालिका–३ र ४ नं. वडाबासीका लागि महेन्द्र–रत्न मावि, बिर्ताबजारमा सञ्चालित खोप केन्द्रका सहभागी सेवाग्राहीले व्यवस्थापनपक्ष फितलो भएको भन्दै गुनासो गरेका हुन्। बिर्तामोड–४ का दिपेन्द्र अधिकारीले खोपकेन्द्रमा लापर्बाही गरिएको बताए । उनले चुनावमा निर्वाचन आयोगले व्यवस्थित गर्ने गरे पनि महामारीको समयमा सञ्चालन भइरहेको खोप अभियान व्यवस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने– बरु चुनावमा निर्वाचन आयोगले नियम–अनुशासनको पालना,रेखदेख व्यवस्थित गर्छ तर यस्तो महामारी जस्तो कुरामा लापर्बाही भएको छ,सही मार्गदर्शन नहुँदा धेरै दुःख पाइयो। सोही वडाका अर्का ६३ वर्षीय जोगेन्द्र चौधारीले भने दोस्रो डोजको लागि आए पनि नपाएको बताए। उनले गत जेठ २६ गते नै आफूले पहिलो मात्रा लगाइसकेकोले दोस्रो मात्रा पाइन्छ कि भनेर आएको बताए। लामो समय भइसक्दा पनि दोस्रो डोज नपाउँदा चिन्ता बढ्दै गएको उनको भनाइ छ ।

खोप कार्ड लिएर खोप लिन पालो पर्खेर बसेकी बिर्तामोड–४ भद्रपुररोडकी सुलोचना बरालले भने भिडभाड र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएकोमा आक्रोश व्यक्त गरिन् । ४÷४ घण्टासम्म भिडमा बसेर बल्ल पालो आउँदैछ – बरालले भनिन् – यहाँ आएर कोरोना हटाउने होइन, कोरोना लिएर चाहिँ जाने परियो। जनप्रतिनिधि कोही नआएको समेत उनको भनाइ छ ।

त्यस्तै खोप कार्ड लिएर खोप वितरण कक्षतर्फ जाँदै गरेका बिर्तामोड–३ विराटपोखर निवासी देवेन्द्र गौतमले पनि खोप केन्द्रको व्यस्थापनमा नगरपालिकाको कमजोरी भएको बताए। स्वास्थ्य सुरक्षाको पालनाको निर्देशन गर्ने स्वयम् नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा जेष्ठ नागरिक सेवाग्राहीले दुःख पाउनुका साथै रोग संक्रमणको जोखिम बढेको छ– महेन्द्र रत्न माविका पूर्व प्रधानाध्यापक समेत रहेका गौतमले भने–यहाँ तीन मीटर त के तीन ईञ्चको पनि भौतिक दूरी कायम भएन।

बिर्तामोड नगरपालिकाका १ देखि ३ वटा वडासम्मका नागरिकका लागि नगरभित्रका ६ वटा माविलाई खोप केन्द्रका रुपमा तोकेको थियो। खोप अभियान राम्रो भए पनि व्यवस्थापनप्रति जनस्तरमा प्रायः सबैतिर असन्तुष्टि रहेको पाइएको छ।

नगरपालिकाले ५५ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि साउन १२ र १३ गते भेरोसिल भ्याक्सिनको पहिलो डोज खोप लगाउने व्यवस्था गरेको थियो भने १४ र १५ गते प्राध्यापक,शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातका सवारी चालक,सहचालक, विदेश जान लागेका व्यक्ति र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरुलाई भेरोसिल पहिलो डोजको खोप सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here