अमित खम्बू, अर्जुनधारा ।

झापाको अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्ताहरुलाई लक्षित गरी अघिल्लो वर्षदेखि सुरु गरेको निःशुल्क सिलिन्डर ग्यास वितरणको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।
दाउरा संकलन गर्ने क्रममा वनमा हुनसक्ने चोरी र वन विनाशको कार्यलाई नियन्त्रण गर्न र दाउराको अभावमा विपन्न उपभोक्ताहरुको चुल्हो निभ्न नदिने उद्धेश्यले उक्त कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए ।
अध्यक्ष खतिवडाका अनुसार गरिबी न्यूनिकरण कार्यक्रम अन्र्तगत अघिल्लो वर्ष ३६ जना र गत वर्ष एक सय जनालाई सिलिन्डर ग्यास प्रदान गरेको समूहले यस वर्ष सात लाख बराबर(ढुवानी सहित)को सिलिन्डर ग्यास दुई सय जनालाई उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
समूहका अध्यक्ष खतिवडाको अध्यक्षतामा शुक्रबार समूहको कार्यालय परिसरमा आयोजित कार्यक्रममा विशेष अतिथिद्वय नगर सभा सदस्य राजेन्द्र वाग्ले र बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगप्रसाद आचार्यले संयुक्तरुपमा सिलिन्डर ग्यास हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

समूहबाट निःशुल्क सिलिन्डर ग्यास पाएपछी दंग देखिएका दुर्गा सुन्दासले दाउरा अभावमा लाथ्रा काट्ने भन्दा पनि ग्यासमा पकाएको खाना खाएर वनको विकासमा भूमिका खेल्ने प्रतिक्रिया दिए । त्यसैगरी दाउराको दुःख भइरहेको अवस्थामा समूहले सुविधाकोरुपमा प्रदान गरेको ग्यासका कारण वन जोगिनेमा अर्का उपभोक्ता पूर्ण रम्तेल पनि सहमत छिन् । उनी भन्छिन्–“विपन्न उपभोक्ताहरुको लागि ल्याउने यस प्रकारको सुविधाहरु समूहले आगामी दिनमा पनि ल्याइरहोस् ।”
समूहले सञ्चालन गरेको यस किसिमको कार्यक्रमबाट सुविधा लिएपछी वन संरक्षणमा लाग्नुपर्ने र दाउराको विकल्पमा अरु कुरा पनि प्रयोग गर्न सकिन्छ भनेर समाजमा राम्रो सन्देश गएको विशेष अतिथि वाग्लेले बताए ।
उनले स्थानीय सरकारले गर्नुपर्ने कार्य सामुदायिक वनले गरेको हुँदा आगामी दिनमा स्थानीय सरकारसँगको साझेदारीमा दुवै संस्थाले विपन्न उपभोक्ता र वनको संरक्षणको लागि यस किसिमको कार्य गर्न सके अति उत्तम हुने दावी गरे ।
समूहले पहिलो चरणमा समूहको कार्यालय परिसरमा ७८ जनालाई र दोस्रो चरणमा स्थानीय सरस्वती प्राथमिक विद्यालयको प्राङ्गणमा एक सय २२ जनालाई सिलिन्डर ग्याँस वितरण गर्ने कार्यसूची रहेको समूहकी उपाध्यक्ष मञ्जिला गौतमले जानकारी दिइन् ।
उपाध्यक्ष गौतमले स्वागत गरेको कार्यक्रममा औचित्य माथि प्रकाश अध्यक्ष खतिवडाले र कार्यक्रमको सञ्चालन सहसचिव प्रेम उपरकोटीले गरेका थिए ।































