महिला र पुरुषबीच सद्भाव, समभाव र सहकार्य

१३ मंसिर २०७८, सोमबार मा प्रकाशित

हामी एक्काइसौं शताब्दीको उत्तर आधुनिक युगमा बाँचिरहेका छौं । यति बेला पनि पितृसत्तात्मक प्रणालीले महिलालाई दोस्रो नागरिकको व्यवहार गरिरहेको छ । संसारका अविकसित, विकासशील, विकसित र अति विकसित भनेर चिनिएका सबै मुलुकमा धेरथोर जे भए पनि महिला हिंसाका घटना घटिरहेका छन् । महिलाविरुद्धका घरेलु लगायत सबै प्रकारका हिंसाविरुद्धमा जनचेतनाको अभिवृद्धि भएको छ, तर हिंसामा कमी आएको छैन । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवम् परम्परा, विभेदपूर्ण कानून, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति–निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् । पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भइरहेको छ ।

महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवम् परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने÷गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भइरहेका छन् । त्यस्ता सबै कार्यलाई महिलाविरुद्धको हिंसा मानिएको छ । महिला हिंसामा सबभन्दा भयानक, राक्षसी र दुर्दान्त हिंसा भनेको बलात्कार हो । महिला हिंसाविरुद्ध अभियान जारी छ, तर बलात्कारका घटना चैतमासमा वनमा डढेलो लागे झैं ठूलो संख्यामा बढिरहेका छन् । पितृसत्ता र वर्गीय सत्ताको दुबैको जुवामुनि पिल्सिएका महिलामाथिका अपराध दिनहुँ बढ्दो क्रममा रहेका छन् । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००५ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ । उक्त अवसरमा नेपालमा पनि १६ दिनसम्म लैगिंक हिंसा अन्त्यका लागि विभिन्न संघ–संस्थाहरुले चेतनामूलक कार्यक्रमहरु गर्ने गरेका छन् ।

विश्वव्यापीरूपमा अहिले पनि महिला हिंसा जारी छ, त्यसैले महिला हिंसाविरुद्धको अभियान पनि जारी छ । पुरातनपन्थी सोच र अन्धविश्वासको प्राधान्य रहेको नेपाली समाज अहिले पनि सामन्ती पितृसत्ताको शोषणको जुवामुनि पिल्सिरहेको छ । चाहे प्रौढ हुन् वा बालिका वा नौजवान वा अधबैँसे, नेपाली महिला हिंसाको चपेटामा पर्ने क्रम रोकिएको छैन । महिला साक्षरता दर बढेको छ, तर दाइजो प्रथा, देउकी प्रथा, झुमा प्रथा, कुमारी प्रथा, कमलरी प्रथा लगायतका प्रथाहरु कुनै न कुनै रुपमा वृद्धि भइरहेका छन् भने एसिड आक्रमण, चेलीबेटी बेचबिखन, बलात्कार जस्ता अपराधका घटना दिनहुँ ठूलो संख्यामा घटित भइरहेका छन् । सरकारी तथा स्वदेशी र विदेशी गैरसरकारी संस्थाका महिला हिंसाविरुद्धका सचेतना अभियानहरु जारी छन् । महिला तथा घरेलु हिंसाविरुद्धका अभियानहरु निकै बलशाली छन्, तर पनि हिंसाको अन्त्य भएको छैन । लैङ्गिक हिंसा राज्यव्यवस्थामा आएको परिवर्तनले पनि रोकिएको छैन ।

जनान्दोलन, जनसंघर्षका परिणाम स्वरूप मुलुकमा राजनीतिक रुपमा परिवर्तन आएको छ । राजनीतिक रुपमा मुलुक सामन्ती एकातन्त्रात्मक केन्द्रीकृत व्यवस्थाबाट मुक्त भएको भनिए पनि महिला विरोधी ऐन कानून पूर्ण रुपमा संशोधन भइसकेका छैनन् । एकातिर सामन्तवादी सोच र व्यवहारले महिलाहरु थलिएका छन् भने भूमण्डलीकरणका नाममा, आधुनिकताका नाममा, स्वतन्त्रताका नाममा दलाल नोकरशाही पुँजीवादका विषालु नङ्ग्राबाट महिलाहरु झन् बढी क्षतविक्षत हुन पुगेका छन् । महिलाहरु सामन्ती शोषणले आक्रान्त हुन पुगेका छन् । आम महिलाका लागि एकातिर गहिरो समुद्र छ भने अर्कातिर तीखा दाह्रा र नङ्ग्रा भएको राक्षस छ । महिला एकातर्फ सामन्तवादबाट र अर्कातर्फ पुँजीवादका शोषण र भेदभावबाट आफूलाई स्वतन्त्र गर्नुछ । बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन् ।

त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवम् अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अमानवीय व्यवहार सहन अभिषप्त छन् । यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ । त्यस्तै रोजगारीका लागि खाडी लगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवम् अत्याचारका कहालीलाग्दो यथार्थ वेदना पनि बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । भारतका मुम्बई, कोलकाता लगायतका महानगरका रेडलाइट एरियाका वेश्यालयमा बेचिएका नेपाली चेलीका क्रन्दनले दक्षिण एसिया नै उद्वेलित हुने गरेको छ र नेपालीका हृदय चिराचिरा हुने गरेको छ । महिलावादीहरु महिलाविरुद्धका हिंसाको सम्पूर्ण दोष पुरुष हो भनेर औंला उठाउँछन्, तर यो आंंशिक सत्य हो ।

पितृसत्तात्मक सोचका कारण महिला र पुरुष दुबै महिलाको उन्नति, प्रगति र विकासमा बाधाका रुपमा उभिएका छन् । माइतीबाट पर्याप्त मात्रामा दाइजो नल्याएको निहुँमा बुहारीलाई आगो लगाउनेहरु बढी महिला नै छन् । चेलीबेटी बेचबिखनमा खलनायिकाको भूमिका खेल्ने र महिलालाई पासोमा पारी वेश्यावृत्तिमा लाग्न गलत प्रेरणा दिने, बाध्य पार्ने र महिलालाई वस्तुका रुपमा चित्रित गर्ने पुरुषभन्दा बढी महिला नै छन् । छोरा जन्माउँदा खुशी हुने र छोरी जन्माउँदा रुने पुरुषभन्दा बढी महिला नै छन् । सामाजिक संरचना, आर्थिक अवस्था र पुँजीवादले सृजना गरेका सारा मानकहरुका कारण महिला विरोधी गतिविधिहरुले प्रश्रय पाएका छन् । महिला भएकै आधारबाट समान ज्याला, समान सुविधा लगायतका मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्ध लगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

नेपालको सन्दर्भमा कूल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्नखालका हिंसाको शिकार भइरहेका छन् । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान कतिपय कानूनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन । देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् । तर, ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।

विज्ञान प्रविधिको उच्चतम विकास भइरहेको सभ्य भनिएको आजको आधुनिक युगमा मानिस नृशंस राक्षस जस्तो बनिरहेको छ । यो राज्यव्यवस्था र मानवीय प्रवृत्ति दुबैको दोष हो । साक्षरता दर बढेर माथि पुगिसकेको छ । विश्वविद्यालयका डिग्रीधारीहरुको संख्या पनि वृद्धि भइरहेको छ । चेतनशील र शिक्षित मानिसको संख्याको आधारमा आनुपातिक रुपमा बलात्कार जस्तो अपराधमा कमी आउनुपर्ने हो, तर स्थिति निराशाजनक छ । विभिन्न अध्ययनहरु अनुसार संसारभरिका प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनीहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वभाविक हो, तर आकर्षणको अर्थ हिंसा होइन । यतिबेला शरीर होइन मन जित्नसक्ने पुस्ताको खाँचो छ, नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको बीजारोपण गर्न जरुरी छ । आज असल मानव निर्माण गर्ने शिक्षाको जरुरत छ ।

शरीर होइन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी र पुरुष सँगै हिँड्ने साँचो अर्थमा समानतासहितको समाज निर्माण गर्नु आजको आवश्यकता हो । सामन्ती र पुँजीवादी संरचना भत्काएर महिला र पुरुषकाबीच समभावसहितको सहकार्यको संस्कृति निर्माण गर्न जरुरी छ । महिला हिंसाविरुद्धको अभियानले महिलालाई हिंसाविरुद्ध प्रतिरोधात्मक भाव जगाउन र पुरुषलाई आमा, दिदी, बहिनी र हजुरआमालाई सम्मान गर्न सिकाउने शिक्षा पनि दिन जरुरी छ ।

लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्न कानूनी, प्रशासनिक र सामाजिक संरचनामा परिवर्तन आवश्यक छ । पितृसत्ताले सृजेका शोषण र वर्गीय सत्ताले बनाएका अन्याय र अत्याचारका कहालीलाग्दा उत्पीडनका विरुद्ध सचेतनताका साथ आवाज उठाउनु, कानूनी, व्यावहारिक लगायतका लडाइँहरु लडेर मात्र यस्तो मुक्ति सम्भव छ । सामाजिक संरचनामा अत्यन्तै गहिरोसँग जरा गाडेर बसेको पितृसत्तात्मक राक्षसी उत्पीडन र तथाकथित आधुनिक पुँजीवादी प्रत्यक्ष–परोक्ष शोषणलाई अन्त्य गर्न जरुरी छ । लैङ्गिक हिंसाविरुद्ध सचेत अभियान चलाउन र वर्गीय, लैङ्गिक लगायतका सारा शोषण, भेदभाव र उत्पीडनबाट मुक्ति पाउन सरकारी र गैरसरकारी सबै पक्ष सचेत बन्दै जागरुकता र संघर्षको अभियान जारी राख्न आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here