कोरोना त्रास बढ्दै

१३ मंसिर २०७८, सोमबार मा प्रकाशित

झण्डै दुई वर्षदेखि आतंक सृजना गरिरहेको कोरोना भाइरसको त्रास परिवर्तित स्वरुपमा फेरि बढेको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको सो भाइरसको पहिचान दक्षिण अफ्रिका, हङकङ, इजरायल लगायतका देशमा भइसकेको छ । विगतको तुलनामा झनै संक्रामक र खतरनाक रहेको भनिएको कोरोनाको संक्रमण रोक्न अमेरिका, क्यानाडा, बेलायत आदि देशले विशेष योजनासहित आवागमनमा प्रतिबन्ध लगाइसकेका छन् । त्यसमा पनि अमेरिकाको न्युयोर्कमा संकटकाल नै घोषणा लगाइएको छ । उक्त भेरियन्टका लागि अहिले लगाइएको कोरोनाविद्धको खोप निष्प्रभावी हुने चिकित्सकहरुले बताएका छन् भने संक्रमण भइहाले ज्यानै जानेसम्मको चेतावनी पनि दिइएको छ । विश्वलाई नै त्रस्त बनाएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण रोक्न धेरै देशहरुले रणनीतिक योजना तर्जुमा गर्न थालेका छन् । हालै नजिकको देश भारतमा पनि प्रधानमन्त्री मोदीले सरोकारवाला व्यक्ति र संस्थासँग अन्तरक्रिया गरी आवश्यक सजगता अपनाउन निर्देशन दिइसकेका छन् ।

पहिलोपटक संक्रमण शुरु भएको चीनले व्यापक अनुसन्धान गरी खोपको विकास ग¥यो । त्यसबेला र दोस्रो भेरियन्ट शुरु भइसक्दाका बीच प्रशस्तै समय हुँदा पनि हामीकहाँ आवश्यक प्रतिरोधको तयारी हुन सकेन । जसका कारण एकैदिन नौ हजारभन्दा बढी कोरोना संक्रमित हुन पुगे । त्यही दरमा दिनहुँ झण्डै अढाई सय जनाले ज्यानै गुमाउनु प¥यो । त्यसबाट पाठ सिकेर नेपालमा पनि तत्कालै पूर्व तयारी नथाल्ने हो भने कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट कोही नजोगिन सक्छ । भाइरसको विस्तारलाई न कानूनले रोक्न सक्छ, न भूगोलले न त कुनै भौतिक अवरोधले तसर्थ भाइरसलाई रोक्न आवागमन हुने ठाउँ र व्यक्तिलाई निगरानीमा राख्नुको विकल्प छैन ।

संक्रमण देखिएका देशहरुसँग हाम्रो प्रत्यक्ष सम्पर्क छ । ती देशहरुसँग आवागमन भइरहन्छ र भइरहेको पनि छ । ‘खोप लगाएकै छ’ ठानेर अहिले हुन थालेको लापरवाही मृत्युको कारण नबनियोस्– प्रत्येक व्यक्तिले मनन् गर्न जरुरी छ । संक्रमण घटेको ठानेर हुन थालेको असावधानी, हेलचेक्र्याइँ र स्वास्थ्य मापदण्डको अवज्ञा गर्ने प्रवृत्तिले जोखिम भयावह नबनोस्, त्यसका लागि राज्य पनि गम्भीर हुनुपर्दछ । यतिबेला नेपालीहरुको भारत लगायतका देशमा जाने–आउने क्रम बढ्दै गएको छ । लकडाउन खुल्यो, खोप लगाइयो, कुनै प्रतिबन्ध छैन र व्याधी पनि छैन भने जस्तै गरेर राजनीतिक दलहरुले शुरु गरेको गतिविधिले कोरोनालाई आकर्षित गरिरहेको छ । एमालेको चितवन भेला, कांग्रेसको अधिवेशन, सरकारको उदासीनता र आम मानिसको असावधानी कोरोना नयाँ भेरियन्टको संक्रमणको लागि सहायक नबनियोस् स्वास्थ्य मन्त्रालयको पूर्ण सतर्कता आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here