राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिकाको खोजी

१५ मंसिर २०७८, बुधबार मा प्रकाशित

नेपाली राजनीतिमा परिवर्तनको संवाहक मानिने युवा शक्ति वर्तमानमा नेपाली राजनीतिक दलहरूको महाधिवेशनमा आएर सक्रिय भएको देखिन्छ । वड़ादेखि पालिकासम्मको कांग्रेस र एमालेको अधिवेशनमा युवाको हस्तक्षेपकारी भूमिका देखिनुले युवाहरूको परिवर्तन प्रतिको जिम्मेवारी केही हदसम्म पूरा हुने सम्भावना बढेको छ ।

नेपालको समग्र राजनीतिक आन्दोलन नै क्रान्तिको चरणमा गतिशील, नवीन र जनमुखी हुने तर व्यवस्थापन र निर्माणको चरणमा पुगेपछि यथास्थितिले घेराबन्दी गर्ने प्रवृत्ति देखियो । ठूला आन्दोलन भए, संविधान पनि बन्यो तर आन्दोलनले निर्दिष्ट गरेको बाटो, लक्ष्य र गन्तव्यमा अन्योल देखियो । यो कुरा युवा आन्दोलनमा पनि देखियो । १० वर्षे जनयुद्ध वा २०६२÷०६२ जनआन्दोलनमा युवाहरूको उभार आएको हो ।

युवाहरूकै कारण त्यो परिवर्तन सम्भव भएको हो । यसको रापताप केही वर्षमा त रह्यो तर विस्तारै युवाहरू देखिने, सुनिने र छलफल गरिने विषय कम हुँदै गए । राजनीतिक आन्दोलनलाई गति दिन र यसमा नयाँ चेतना भर्न युवा आन्दोलनको ठूलो योगदान रह्यो । जनमुखी र क्रान्तिकारी संस्कारमा केही समस्या भयो । पछिल्लो समय युवाहरूको राजनीतिक आन्दोलनप्रति त्यति धेरै रूची देखिँदैन । आन्दोलन र युद्धका क्रममा जन्मिएकाहरू अहिले जनमत प्रकट गर्ने र निर्वाचनमा सहभागी हुने उमेर समूहमा छन् ।

युवा भन्ने बित्तिकै नयाँ सोच, जाँगर, जोश र ऊर्जा बोकेका देश निर्माणमा अत्यावश्यक पक्ष हो । विश्व सर्वहारा वर्गका महान दार्शनिक कार्ल माक्र्सको शब्द सापटी लिँदा युवाहरु हो, जिते संसार छ, हारे केही पनि छैन । यसको मतलब संसारभरीका युवा वर्गमा जित्नका लागि साहस र आँटको आवश्यक छ । यो यथार्थता बहुसंख्यक श्रमजीवी किसान मजदुरहरुले भरिएको नेपाल जस्तो मुलुकका श्रमजीवी किसानका सन्तानहरुको लागि हिजो, आज र भोलि पनि सान्दर्भिक रहिरहने छ । युवाहरुको बारेमा अर्का सर्वहारा वर्गका नेता माओले भनेका छन्– यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरु कै हो । वास्तवमा युवाहरु नजागेसम्म संसारका कुनै पनि परिवर्तन र क्रान्ति सम्भव भएका छैनन् ।

युवाहरु नै राष्ट्रका परिवर्तकारी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नविनतम् सोच र विचारमा प्रतिबद्ध युवाहरु वास्तवमै राष्ट्रका अमूल्य निधि र उत्पादक शक्ति हुन् । युवाहरुमा प्राकृतिक रुपमा तातो रगत र उच्च मनोबल रहेको हुन्छ । साथै युवाहरु स्वभावले नै विद्रोही प्रवृत्तिका समेत हुन्छन् । क्रान्तिकारी भावना र समाजको अग्रगामी परिवर्तनको नयाँ सोच र ऊर्जा युवाहरुमा सल्बलाइरहेको हुन्छ ।

विश्व इतिहासमा मात्र होइन नेपालको गौरवमय इतिहासको किताब पल्टाएर हेर्दा पनि वि.सं. १९९६ को राणा विरोधी आन्दोलनमा गंगालाल जस्ता युवाहरुको सहभागिता, वि.सं. २००६, वि.सं. २०१५, वि.सं. २०३६, वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०५२ देखि सञ्चालित सशस्त्र जनयुद्ध तथा वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा युवाहरुको भूमिका र योगदान अतुलनीय रहेको थियो ।

नेकपा एमालेको चालू महाधिवेशनमा वडादेखि पालिकासम्म देखिएको युवा सक्रियतालाई नेपाली राजनीतिमा सकारात्मक परिवर्तनको लक्षण मान्न सकिन्छ । नयाँ जोश, जाँगर बोकेका, भिजन र बौद्धिकता बोकेका युवा जमात अबको पुस्ताको नेतृत्व हुनुपर्छ । नत्र फेरि पनि परम्परावादी सोचले नेपाली समाज जहाँको त्यही रहने छ ।

चिया पसल र चोक गÞल्लीमा नेतृत्वलाई गाली गरेर केही हुनेवाला छैन बरु विकल्प दिन तयार हुनु नै पर्छ । जबजको प्रमुख विशेषता नै स्वस्थ प्रतिस्पर्धा हो । सक्षम नेतृत्व स्वच्छ प्रतिस्पर्धाबाट मात्र आउँछ । अब युवाले खुट्टा कमाउनु हुँदैन । अनि दलका आम इमान्दार कार्यकर्ताले पनि यस अवसरलाई नगुमाई युवालाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने अभियानमा लाग्नु पर्छ । नत्र अर्को पाँच वर्ष पछुताउनुको विकल्प रहने छैन । युवा आफैँले हस्तक्षेपकारी भूमिका बढाउन आवश्यक छ । हस्तक्षेप भौतिक आन्दोलनमा मात्र नभएर राजनीतिक र वैचारिकरूपले एजेण्डा निर्माण र त्यसको कार्यान्वयनमा हुनुप¥यो ।

अब युवाहरूले अध्ययन अनुसन्धान मार्फत वैचारिक र राजनीतिक वृत्तमा आफ्नो भूमिका खोज्न आवश्यक छ । मूल रूपमा युवाको काम खोज अनुसन्धान र व्यापक जनपरिचालन हो । केन्द्रीय मुद्दादेखि गाउँको मुद्दासम्म युवाको उपस्थिति हो ।

समाजवादको कुरा होस् या संघीयता कार्यान्वयनको कुरा होस् गाउँमा शिक्षा, स्वास्थ्यबाट वञ्चित कुरा होस् । यस्ता विषयमा युवाले हस्क्षेपकारी परिवर्तन गर्न सकेको खोई ? हामीले अभ्यास गरिरहेको राजनीतिक प्रणालीले केही असहजता बनाएको हो । जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड ३६ वर्षमै पार्टी प्रमुख भएका हुन् । झापा आन्दोलनलाई नै हेर्दा पनि नेतृत्व गर्ने नेताहरू युवा नै थिए । वीपी आफैं ३६ वर्षमा गृहमन्त्री भएका हुन् । त्यो बेला त समाज, राजनीतिले युवालाई स्वीकार गरेको हो भने अहिले नगर्ने कुरा आउँदैन । समस्या राजनीतिक नेतृत्व र युवा दुबैमा छ । युवाहरू युवा चिन्तनसहित सरकारमा जान पाएका छैनन् । कहिलेकाहीँ त अझ नेतृत्वको कृपाले गएका छन् । युवाहरूले स्वतन्त्र विचार बनाउन पाएकै छैनन् ।

तसर्थ, समस्या जताततै छ । युवाले यथास्थिति प्रति प्रश्न गर्ने, नयाँ खोज गर्ने, नयाँ दिशामा युवाहरूलाई लिएर हिँड्ने प्रवृति पूरै निरूत्साहित छ । त्यसैले युवाको फरक फ्लेबर आएको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here