विद्यार्थीविहीन विद्यालय खारेज गरिने

१५ मंसिर २०७८, बुधबार मा प्रकाशित

दमौली,

विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मङ्गलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारबाट प्राप्त सशर्त अनुदानअन्तर्गत तलब भत्ता र छात्रवृत्तिलगायतका विभिन्न शीर्षकहरू अध्ययन गरी उक्त शीर्षकमा विनियोजित रकम अपुग हुने भएमा पुष्ट्याइसहित शीर्षकगतरूपमा नपुग हुने रकमको विवरण मङ्सिर मसान्तसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गरी पठाउने निर्णय भएको छ ।

बैठकले विद्यालयहरूमा छात्रवृत्ति रकम वितरण गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई छात्रवृत्ति पाउने विद्यार्थीको नाम उल्लेख गरी अभिलेख राखी स्थानीय तहले तोकेको दिनमा सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने व्यवस्थाका लागि विद्यालयलाई परिपत्र गर्ने निर्णय भएको छ ।

शिक्षकको पेशागत सहयोग र विद्यलय अनुगमनको लागि प्रत्येक स्थानीय तहमा पेशागत सहयोग समूह निर्माण गर्ने र स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबाट समन्वयात्मकरूपमा कार्यक्रम तय गरी संयुक्तरूपमा शिक्षकको पेशागत सहयोग र विद्यालय अनुगमन सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

बैठकमा स्थानीय तहमा परेका शैक्षिक समस्या र समस्या समाधानका उपाय, यस वर्षको जिल्ला र दिवाखाजा, छात्रवृत्ति, बालविकास केन्द्र व्यवस्थापन, विद्यालयमा पुस्तकालय, सूचना तथा प्रविधि ल्याव, विज्ञान प्रयोगशाला, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, विद्यालय अनुगमन र शिक्षक पेशागत सहयोग, छात्राहरुलाई सेनेटरी प्याड वितरण, नमूना विद्यालयको निर्माणलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here