अबको गन्तव्य ‘समृद्ध नेपाल सुखी नेपाली’–उपाध्यक्ष नेम्वाङ

0
642

अमित खम्बू,
थाक्ले ।

अबको गन्तव्य ‘समृद्ध नेपाल सुखी नेपाली’ भएको हुँदा सबै दल मिलेर अगाडि बढ्नुपर्ने प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए ।

इलामको माई–५स्थित थाक्लेमा रहेको कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबार आयोजित विद्यालयको स्वर्ण जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष नेम्वाङले सो कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेम्वाङले वर्तमान सरकारप्रति कटाक्ष गर्दै आजकल सरकारले आफ्नो पार्टीसँग सल्लाह गर्न छोडेको टिप्पणी गरे । “पहिले हामी सरकारमा हुँदा प्रतिपक्षमा रहेका पार्टीहरुसँग सल्लाह गथ्र्यौं,‘ तर पनि हामीलाई निरंकुश भएको टिप्पणी हुन्थ्यो’–उनले थप भनाइ राखे ।

संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङले जनताले जनताको लागि बनाएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्भनिरपेक्षता, समावेशीतालगायत सबै कुरा समेटीएको हुँदा जनता अधिकार सम्पन्न भएको हुँदा कुनै पनि कार्यको लागि आन्दोलन गर्नुनपर्ने दावी गरे ।

त्यस्तै विद्यालयले सञ्चालन गरिरहेको शैक्षिक गतिविधिका कारण शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको लागि उनले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी कार्यक्रमका अर्का सहभागि पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वास्थ्य र शिक्षा क्षेत्र आफ्नो प्राथमिकताको विषय भएको हुँदा उक्त विद्यालयको विकासको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले सो क्षेत्रका विपन्न दुई सय परिवारका लागि अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरकुमार राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले विद्यालय परिसरमा नवनिर्मित ‘स्वर्ण जयन्ती स्मारक’को उद्घाटन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विद्यालयकोतर्फबाट राष्ट्रिय कलाकार बलराम समाल, विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता परिवारका सदस्यहरु जीतमान राई, दलुदास राई र लच्छीमाया राईसँगै दाता, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी १३० जनालाई सम्मानित गरिएको थियो ।

शिक्षिका अञ्जना राईले विद्यालय स्थापनादेखि हालसम्मको अवस्था बारे संक्षिप्तमा जानकारी गराएको कार्यक्रममा प्रदेश नं.१का सांसद् काजीमान कागते, पार्टी प्रदेश कमिटीका सदस्य धुव्रकुमार श्रेष्ठ, जनता समाजवादी पार्टी इलामका सदस्य दीर्पादास राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा हाल पक्षघातका कारण उपचाररत् स्थानीय नेत्रदास राईलाई विदेशमा रहेका रतन राईले उपचारको लागि पठाएको नौ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकर समाललगायत विद्यार्थीहरुले सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षक रोमबहादुर राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी सोफिया लिम्बूले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here