स्वस्तिमाको लुक्सको चर्चा

0
412

काठमाण्डौं ।

कलाकार भएपछि जुनसुकै चरित्रमा ढल्न सक्ने खुबी हुनुपर्छ । फिल्ममा निर्वाह गर्ने चरित्रले नै कलाकारको आयु निर्धारण गर्ने हो । तर, नेपालमा एकाध कलाकारहरुले मात्र चरित्र निर्माणमा पर्याप्त मेहेनत गर्छन् । प्रायः त आवरणमा चरित्र खोज्छन् । फिल्म ‘बुलबुल’ बाट स्वस्तिमा खड्काले आफूलाई चरित्र निर्माणमा मेहनत गर्न सक्ने अब्बल कोटीको अभिनेत्रीको रुपमा उभ्याइन् ।

कमर्शियल फिल्ममा जमेकी स्वस्तिमा खड्कामाथि ‘बुलबुल’ पछि दर्शकको अपेक्षा चुलिएको छ । तर, ‘घामड शेरे, चपली हाइट ३, हजार जुनीसम्म’ जस्ता फिल्ममा उनको चरित्र र अभिनयबाट सन्तुष्ट नभएका दर्शकलाई फिल्म ‘चिसो मान्छे’ ले भने फरक अनुभूति गराउने देखिन्छ । हालै सार्वजनिक फिल्मको पोस्टरमा उनको भिन्न लुक्सले चरित्र निर्माणमा उनले गर्ने मेहेनत देखाउँछ ।

फिल्ममा स्वस्तिमाले बाजुराको एक अति विपन्न महिलाको भूमिका निर्वाह गरेकी छन् । पोस्टरमा उनी दुरुस्त बाजुराकै महिला देखिन्छिन् । पिठ्यूँमा झोला बोकेकी उनी फाटेको गुन्यू चोली, नाकमा बुलाकी, निधारमा रातो टीका, गलामा पहेँलो पोते लगाएर प्रस्तुत छिन् । उनको यो गेटअपको यतिबेला फिल्म क्षेत्रमा चर्चा भइरहेको छ । एउटा पोस्टरले नै फिल्मको हाइप चुल्याएको छ ।

बुधवार स्वस्तिमाले इन्स्टाग्राममा बाजुराका केही महिलासँग फिल्मको गेटअपमा हाँसीमजाक गरेको एक तस्विर पोस्ट गरेकी छन् । यो तस्विरमा पनि उनको लुक्सले ध्यान खिच्छ । आँचल शर्मादेखि सुहाना थापासम्मले उनको लुक्सको खुलेर प्रशंसा गरेका छन् । स्वस्तिमाको यो भिन्न लुक्सपछि फिल्ममा उनले बाजुराको महिलाको भूमिकामा कस्तो अभिनय गरेकी छन् भन्ने चासो धेरैमा छ ।

फिल्मको पोस्टरबाटै २०७९ सालको अवार्ड समारोहमा स्वस्तिमाले एकछत्र राज गर्ने अनुमान गर्न थालिएको छ । यसअघि फिल्म ‘बुलबुल’ बाट उनले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म आफ्नो पोल्टामा पारेकी थिइन् । अब ‘चिसो मान्छे’ ले उनको करिअरमा एउटा इट्टा थप्ने देखिन्छ । आउँदो असार ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।-फिल्मीखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here