झापा, परिवारको भविष्य उज्ज्वल बनाउने सपना सजाएर धन कमाउन भारत हिँडेका साविक चकचकी–४ निवासी दमन्तराज ताजपुरिया १० वर्षदेखि परिवारसँग सम्पर्कविहीन छन् ।

घरको मनग्ये आयश्रोतका नभएका कारण स–साना लालावालालाई श्रीमती रुपा राजवंशीको साथमा छाडेर दमन्तराज धन कमाउन भारत गएका थिए । भारत गएको यतिका समय बितिसक्दा समेत दमन्तराज परिवारको सम्पर्कमा नआएपछि श्रीमती रुपालाई श्रीमानको चिन्ताले दिनहुँ पिरोल्न थालेको छ ।
दुई छोरा मनिष र आर्यन सानै हुँदा भारत गएका श्रीमान् अहिलेसम्म घर नफर्किएपछिको पीडा सहँदै आएकी रुपालाई पछिल्लो समय अर्काे पनि चिन्ता थपिएको छ– त्यो हो, छोराहरुको सुनिश्चित भविष्य । श्रीमानले छाडेर गएपछि निर्माण क्षेत्रमा काम गर्दै जसोतसो दुई छोराको हेरचाह गर्दै आएकी रुपालाई छोरा बढेसँगै चिन्ता थपिँदै गएको हो । आफू पनि शारीरिक रुपमा कमजोर बन्दै जानु र दिनदिनै काम गर्न नसक्ने भएपछि पछिल्लो समय उनी चटपटे बिक्री गरेर घरको गर्जाे टार्दै आएकी छिन् । साथमा श्रीमान् नहुनु अनि परिवार चलाउन नै धौ–धौ भएपछि बाह्रदशी गाउँपालिकाले उनलाई अहिले एकथान ठेला प्रदान गरेको छ ।
सामान्य व्यापार गर्न समेत ठेला अभावमा दुःखले चटपटे बिक्री गर्दै आएकी उनलाई गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले ठेला प्रदान गरेसँगै रुपाको मुहारमा खुशी छाएको छ । रुपालाई मात्र होइन विपन्न परिवारको पहिचान गर्दै उनीहरुलाई स्वावलम्बी बनाउन उपाध्यक्ष राजवंशीले बाह्रदशी गाउँपालिकाभित्रका १० परिवारलाई ठेला प्रदान गरेकी छिन् । हरेक विपन्न परिवारलाई सिपसंग जोडेर स्वावलम्बी बनाउन सकिने भन्दै उपाध्यक्ष राजवंशीले रुपासहित १० परिवारको आर्थिकस्थिति सुधारका लागि ठेला वितरण गरेकी हुन् ।
गाउँपालिकाले लक्षित परिवारलाई ठेला वितरण गर्ने भएपछि गाउँपालिकाभित्रका सातवटै वडाबाट विपन्न परिवारका एक÷एक जना ठेला लिन आएका थिए । गाउँपालिका उपाध्यक्ष राजवंशीका हातबाट ठेला लिँदै रुपाले भनिन्– चटपटे बेच्न अब सजिलो हुने भयो । धेरै–धेरै धन्यवाद उपाध्यक्षज्यूलाई ।
गाउँपालिकाले प्रदान गरेको ठेला लिएपछि प्रफुल्लित हुँदै रुपाले भनिन्– गरिखान अब केही हदसम्म सहज हुनेभयो । नयाँ ठेला लिएर बजार जान सक्ने भएँ । गाउँपालिकाले उपलब्ध गराएको ठेला लिनेमध्ये रुपा मात्रै खुशी थिइनन्, उनीसँगै ठेला वुझ्दै गरेकी मञ्जु शर्मा पनि उत्तिकै खुशी देखिन्थिन् । चटपटे नै बेचेर पाँच जनाको परिवार पाल्दै आएकी शर्माले पनि ठेला पाएसँगै खुशी व्यक्त गर्दै भनिन्– अब एकै ठाउँमा बसेर चटपटे बेच्नुपर्दैन । बजार–बजार ठेला डुलाएर चटपटे बेच्न सक्छु । हिजोको भन्दा दुई पैसा बढी नै कमाउन सक्छु भन्ने आँट आयो ।
यता गाउँपालिका उपाध्यक्ष राजवंशीले यसअघि पनि विपन्न परिवारको पहिचान गर्दै सिपसहित सामग्री हस्तान्तरण गर्दै आएको र यसपटक पाँच लाख रुपैयाँ बजेटले थोरै भए पनि विपन्न परिवारको आर्थिकस्तर सुधारका लागि सहयोग पु¥याएको बताइन् । उनले बाह्रदशी गाउँपालिकाभित्र रहेका अतिविपन्न परिवारको पहिचान गर्दै घर निर्माणदेखि सिपमूलक काम सिकाएर आत्मनिर्भर गराउन विभिन्न खाले काम गर्दै आएको बताइन् ।
गर्भवती महिलादेखि, बालबालिका र वृद्धवृद्धाको हेरचाहको लागि समेत आफूले प्याकेजमा कार्यक्रम बनाएर काम गर्दै आएको उपाध्यक्ष राजवंशीको भनाइ छ । उनले आगामी दिनमा ज्येष्ठ नागरिकलाई पानी तताउने उपकरणसहित पोषणयुक्त खानेकुरा प्रदान गर्ने कार्यक्रम सञ्चालनको तयारी गरिरहेको बताएकी छिन् ।
विपन्न नागरिकको जीवनयापनमा सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै उनले सबै महिलालाई आत्मनिर्भर, स्वावलम्वी बनाउन महिला लक्षित कार्यक्रम सञ्चालन गरेको र त्यसले धेरै महिलाको जीवनस्तर सुधार भएको बताइन् ।































