
राजनीति अनौठो हुँदोरहेछ । प्रकृति अनिश्चित बन्दैछ । भूगोल परिवर्तनशील छ, तर तन्किँदैन । इतिहास धुमिल भएको छ । यही राजनीति, प्रकृति, भूगोल र इतिहासलाई आधार बनाएर मान्छे भविष्य खोज्दैछ । हिजो इतिहासको दबदवा थियो । आज वर्तमान थररर काँपिरहेछ । प्रकृति उत्ताउलिए झैं लाग्छ । प्रकृति र मान्छेका क्रियाकलापले भूगोल आक्रान्त छ । यही आक्रान्त भूगोलमाथि हामी मान्छेहरू विभिन्न तप्कामा बाँडिएका छौं । बसोबासका हिसाबले मात्र होइन, विचार र दृष्टिकोणमा विभक्त छौं ।
विभिन्नखाले वादमा भौतारिएका छौं, फाटेका छौं । आखिर हामी सबैले खोजेको प्रगति हो । प्रगति व्यक्तिको, प्रगति परिवारको, प्रगति समुदायको, प्रगति राज्यको, प्रगति भूमण्डलको । तर, त्यही प्रगति खोज्न, हेर्न र गर्न विभिन्न वादमा छरिएका छौं । हामी किन एउटै वाद र विचारमा सहमत हुन सक्दैनौं ? समुदायको प्रगतिमा किन एउटै व्यक्ति हावी हुनुपर्ने ? राज्यको समृद्धिमा किन एउटै व्यक्ति को नाम रहनुपर्ने ? के एउटै सवालमा हामीले विभक्त हुनुपर्ने ? एकजुट भएर काम गर्दा कसको जुँगा उखेलिन्छ ? कसको सम्पत्ति नासिन्छ ? आखिर कार्ल माक्र्सले भनेको द्वन्द्वात्मक भौतिकवाद यही रहेछ क्यार !
आजकल राजनीतिको रंग खुइलिँदैछ । माक्र्सवादका पखेटा रंगहीन भएर उखेलिए । उड्नै नसकेर भू–मध्य सागरमा विलय भए जस्तो छ । लेनिनवाद भोल्गा नदीबाट बग्दै क्यास्पियन र कृष्ण सागरमा हरायो । एंगेल्स र स्टालिनका भँगालाहरु सुके । हेगेल्स र प्लेटोका सिद्धान्तहरु सूचना प्रविधिको प्रयोग गर्न नजानेर अर्कै ग्रहमा बसाईं सरे सायद । अब्राहम लिङ्कनको ‘जनताको, जनताका लागि जनताद्वारा गरिने शासन’ प्रजातन्त्रको सुन्दर व्याख्या ठीक उल्टो भएको छ । अहिले त धनीले मात्र नभएर नवधनाढ्यले नवधनायढ्कै लागि गरीब माथि गरिने शासन पो भएको छ प्रजातन्त्र !
माओवादमा भरोसा गर्थे मान्छेहरु, सि जिन पिङ्को मार्ग हुँदै अघि बढिरहँदा कोरोना भाइरसले मरणासन्न तुल्याएको छ । पुँजीवादको त के कुरा ? पुँजीवादभित्रको अहंकारी, अन्धो राष्ट्रवादले जम्मु कश्मिर खर्लप्पै निल्यो । मेक्सिकोलाई मानव निर्मित पर्खालले छेकिदियो । बेलायत चन्द्रमाको देश हुन खोजिरहेछ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी देशको नक्साबाट अपहरणमा परेका छन् । विचित्र छ पुँजीवादको चर्तिकला । कठैबरी वीपीको प्रजातान्त्रिक समाजवादलाई नवउदारवादले स्वात्तै निलिदियो । मदन भण्डारीको बहुदलीय जनवादलाई क्रोनी पुँजीवादले धुजाधुजा बनाइरहेछ । तै ब्यंँुझिन्छ कि ?
पुजीवाद ! समाजवाद ! साम्यवाद ! निरंकुशतन्त्र ! राजतन्त्र ! प्रजातन्त्र ! लोकतन्त्र ! गणतन्त्र ! वाह ! कति धेरै वाद र तन्त्र ! यस मानेमा विश्वका मानिसहरू भाग्यमानी । कट्कटी दाँत किट्दै भए पनि कमसेकम यी सबै देख्न र भोग्न पाएका छौं । आफ्नो आफ्नो स्वर र लय अनुसार भजन गाएका छौं । कसैले इतिहासमा चौतारीमा राजा भेटियो भनेर गायौं । कसैले हिटलरी गाथा सुनायौं । कसैले विश्वका मजदुरहरू एक हौं भनेर नारा लगायौं । वर्तमानमा ‘सुखी नेपाली समृद्ध नेपाल’को रटान यत्र तत्र सर्वत्र व्याप्त छ । स्वदेशमा माात्र होइन, परदेशमा पनि । तर, हामी कहिल्यै एकजुट नहुने रहेछौं । सँधै फुटेको फुट्यै । ए गाँठ्ठे, जंगलमा जीवन गुजारा गर्ने जेब्राहरु एकै बथानमा हुन्छन् । हरिणहरू एकै बथानमा हुन्छन् । हात्तीहरू एकै बथानमा हुन्छन् । अर्नाहरू, नीलगाईहरू, चराहरू सबै आ–आफ्नै बथानमा रमाइरहेका हुन्छन् । तर, हामी मानिसहरू एउटै जाति भएर पनि कहिल्यै एकै बथानमा बस्न नसक्ने रहेछौं ।
एउटै जीवनशैली नहुने रहेछ । एउटै विचार र दृष्टिकोण नबन्ने रहेछ । मानवतावाद त देखाउने दाँत मात्र रहेछ । बाहिर मुस्काउने र भित्र–भित्र छुरा धस्ने जात रहेछ मान्छेको । दादा इदिअमिनले मा्न्छेको मुटु खान्थे रे भन्ने सुनेँथेँ । कोतपर्व, भण्डारखाल पर्वको इतिहास पढेथेँ । कर्नेल गद्दाफीलाई मृत्युदण्ड सुनाइएको थियो क्यारे । सद्धाम हुसेनलाई बीच बजारमा ढालिएको दृष्य पनि देखिएको हो । हिटलरले ग्यास च्याम्बरमा हजारौं यहुदीहरुको ज्यान आहुति गरे । पोलपोटका अकथा बेग्लै छन् । उफ हुँदाहुँदा रौतहटमा २० जना इँटाभट्टामा पोलिन्छन् । कति सम्झिनु र मानिसका अमानवीय क्रुरता ? शास्त्रका हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न सायदै सक्लान् । आखिर मान्छे भएर जन्मेपछि के क्रुर हृदयी हुनै पर्छ र ? इतिहासको कुन सभ्यताले मान्छेलाई यस्तो क्रुर हुन सिकायो ? धिक्कार छ त्यो सभ्यतालाई ।
मैले मान्छेको एउटै जात हो, हुनुपर्छ, विभक्त हुनुहुँदैन भनिरहँदा मेरै मनको अर्को कुनाबाट प्रश्न उठिरहेको छ । मान्छेको प्राकृतिक जात एउटै भए पनि संस्कारीवालाले विभिन्न नश्लीय जातमा मान्छेलाई बाँडिदिएका छन् । सम्पतिको लेखाजोखा गरी विभिन्न वर्गमा विभाजन गरिदिएका छन् । यसरी मान्छेलाई विभाजन गरी यो कित्ता र त्यो कित्तामा कसले पु¥यायो ? यहीँ नेर छ विभेद । यस विभेदलाई यसरी ब्याख्या गर्न सकिन्छ । शासक र शासित । मान्छेको एक हिस्साले जहिल्यै पनि शासन गरेको छ भर्ने अर्को हिस्सा शासित भएर रहेको छ । शासित भएर बस्ने मान्छे आम मान्छे हो जो सदा भुइँमान्छे भएर बाँचेको छ । अधिकांश यस्ता मान्छे गरीब छन् । निमुखा छन् । खेलवाड गर्न जान्दैनन् तिकडम् गर्न जान्दैनन् । विभिन्नखालका वाद र तन्त्रलाई बुझ्दैनन् । तर, तिनै मान्छेलाई राजनीतिले सार्वभौम सत्ता सम्पन्न बनाएको छ र पाँच बर्षमा एक–पटक निर्वाचनमा भाग लिएर आफ्नो शासक छान्छन् । उनीहरुको सार्वभौमिकताको चरम दुरुपयोग हुन्छ । चुचेढुङ्गो उही टुङ्गो, सकियो त्यस्ता मान्छेहरूको भूमिका ।
अब शासक भएर जन्मिएको अर्को वर्ग छ खंँुखार । यो वर्ग जाली छ, झेली छ, सिद्धान्तवादी छ, तर सिद्धान्तनिष्ठ छैन । नागरिकलाई कर्तव्यका कुरा सिकाउँछ । तर, आपूm कर्तव्यपरायण छैन । समानताको डिङ हाँक्छ, तर आपूm सामन्ती संस्कारमा रमाउँछ । महिला पुरुष बराबरी भन्छ, तर व्यवहारमा महिलालाई हेयको दृष्टिले हेर्छ । शासक भइसक्दा भाइभारदारहरूको भजन मण्डली झुण्ड बनाउँछ र शासन सत्ताका हरेक खुड्किलाहरुमा नन्दीभृङ्गीहरूलाई नियुक्ति गर्छ । योग्यता, क्षमता भएकाहरू भाँडमा जाउन् मतलब राख्दैन । संवैधानिक आयोगहरू आफ्नो अनुकूल हुनेगरी गठन गरिन्छन् । विकासका हरतरहका सपना सुन्न पाइन्छ । राजा वीरेन्द्रले आफ्ना प्रजालाई एसियाली मापदण्डमा पु¥याएकै हुन् सपनामा । वीपीले समाजवाद मार्फत एउटा दुहुने गाई, एउटा घर र एक हल गोरु सबैका घर–घरमा पु¥याउने सपना बाँडेथे । राजा महेन्द्रले भूमिसुधार गरेर आफ्ना सन्तान दरसन्तानलाई पुग्ने भूमि यथार्थमै हत्याएका थिए । सन्तनेताको मेलम्ची २६ वर्ष बित्दा पनि अझै तयार भएको छैन । अब ‘सुखी नेपाली समृद्ध नेपाल’को अमूर्त सपनाका खातिर राज्य लागी परेको छ । हामी भुइँमान्छे खुशीले गद्गद् भएका छौं । आखिर पेट भोकै भए पनि, आङ नाङ्गै भए पनि हामी जो खुशी हुने सौभाग्यशाली छौं ।
यसरी आदिमकालदेखि नै मान्छे शासक र शासित दुई वर्गमा मात्रै विभाजित छ । दासयुग र सामन्तीयुगमा शासकहरूले शासितहरूलाई अत्यन्तै अन्याय र अत्याचारपूर्ण शासन चलाए आफ्नो वर्गको उन्नतिका लागि । शासन चलाउने क्रममा उठेका विद्रोही स्वरहरु दबाउन शासक वर्गको हृदय क्रुर बन्यो । आफ्ना विरोधीहरूको सफाया नै आफ्नो शानसौकत र वैभवको निरन्तरता । उदाहरणका लागि कुनै घटना पेश गर्नु जरूरी नपर्ला । गौतम बुद्धले राजपाट त्यागेर शान्तिको खोजीमा निस्केको कथा हामी सबैलाई थाहै छ । जिसस क्राइस्टलाई क्रसमा टाँगेर हत्या गरिएको कथा छिपेको छैन । उनीहरू महामानव थिए । धपाइएर, मारिएर भए पनि आजसम्म बाँचेका छन्, युगौंयुगसम्म बाँच्नेछन् ।
यही शासक वर्गले हो मान्छेलाई एकजुट हुन नदिएको । यही शासक वर्ग हो जो विभिन्न विरोधीतन्त्र र विरोधीवादका सिद्धान्तका ठेलीहरू आम मान्छेलाई सुनाउँछ र मान्छेलाई विभक्त गरिदिन्छ । यही शासक वर्ग हो जो आम नरसंहारमा उत्रन सेकेण्ड ढिलो गर्दैन । पाषण हृदयी ! यही वर्ग हो जो जातीय हिंसा मार्फत मान्छेलाई फुटाउँछ र आफू शासन गर्छ । चुनावका बेला साम, दाम, दण्ड, भेद सबै–सबै उपाय अवलम्बन गर्दछ र फेरि पनि शासन मै पुग्छ । हामी भुइँमान्छे उसको विजय उत्सवमा नारा लगाउन सबै थोक त्यागेर झुम्मिन्छौं । बधाई छ हामीलाई !


























