पहिरोबाट विस्थापित २५ परिवारलाई जग्गा

0
918

खाँदबारी,

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

गत २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका २५ परिवारलाई जग्गा खरिद गरि रजिष्ट्रेशन पास गरिएको र विस्थापित ९२ घरपरिवारमध्ये ३७ घरपरिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले बताउनुभयो ।
जिल्ला विपत् व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेसँगै गाउँपालिकाभित्र नै बस्न चाहने २५ घरपरिवारका लागि प्रतिरोपनी रु एक लाख २२ हजार ६४२ मा ५३ रोपनी खरिद गरिएको गाउँपालिका अध्यक्ष कुलुङले बताउनुभयो ।

यसैगरी १२ घरका लागि बखल्टुम गाउँमा प्रतिरोपनी दुई लाखका दरले १७ रोपनी खरिद गरी हस्तान्तरण गर्न लागिएकोे छ । पहिराबाट विस्थापित भएका अन्य केही परिवारलाई खाँदबारी नगरपालिकासमेत ल्याउने तयारी भइरहेको उहाँको भनाइ थियो । सिलिचोङका पहिरो पीडित ५५ परिवारलाई भने खाँदबारी नगरपालिका ल्याउने तयारी भइरहेको र त्यसका लागि जग्गा खोजबिन समिति गठन गर्न लागिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here