श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा राय पक्राउ

0
340

बिर्तामोड।

झापाको बाह्रदशी गाउँपालिका–५ चकचकीकी ४१ वर्षीया अञ्जु दाहाल रायलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै माइती पक्षले श्रीमानबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् ।

माइती पक्षले ४३ वर्षीय धनबहादुर रायले आत्महत्या गर्न बाध्य बनाएको भन्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

हाल धनबहादुरलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानले हत्या गरेको प्रमाणित भए कर्तव्य ज्यानको मुद्दा लाग्ने प्रहरीले जनाएको छ । रायले कान्छी श्रीमती ल्याएपछि जेठीलाई दैनिक कुटपिट गर्ने गरेको र केही महिना पहिले पनि कान तानेर चुँडाइदिएको मृतकका आफ्न्तले आरोप लगाएका छन् ।
शवको प्रकृति हेर्दा हत्या गरे जस्तो देखिएपछि प्रहरीकै सल्लाहमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएको माइती पक्षका सुजन दाहालले जानकारी दिए ।

अञ्जुले विष खाएको भनिए पनि हेर्दा झुल लगाइरहेको, सिरानी लगाइरहेको, लुगामा खुन रहेको र शरीरभरि कुटेको घाउचोट मात्रै रहेको पाइएको माइती पक्षले जनाएको छ । यस अघि समेत पटक–पटक सौता र श्रीमान मिलेर मार्न खोजेको र ज्यान बचाउन माइती गएको गाउँलेहरुले बताएका छन् । गाउँमै इमान्दार र सोझी मानिने अञ्जुलाई नागरिकता बनाइदिनका लागि श्रीमानसँग आग्रह गर्दा नागरिकता बनेपछि अंश दिनुपर्ने भयले श्रीमतीको हत्या गरेको आफन्तहरुले बताएका छन् ।

श्रीमानले मकैमा हाल्ने विष खाएको भने पनि शरीरभर निलडाम रहेको र मारिसकेर मुखबाट बिष हालेको आरोप माइती पक्षको रहेको छ । रायकी जेठी श्रीमतीका तर्फबाट १५ बर्ष र १० बर्षका दुई छोरी रहेका छन् भने कान्छीतर्फबाट एक छोरा रहेका छन् ।

जेठी कान्छीसँगै रहे पनि जेठी श्रीमतीलाई सानो गोठ र भान्साको अलग्गै घरमा राख्ने गरेको आफन्तको भनाइ छ । हाल रायकी कान्छी श्रीमती समेत वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेकी छिन् । यसैबीच अञ्जुको पोष्र्टमाटमको रिपोर्ट आइनसकेको र हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here