बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यतिबेला संगठन सुदृढीकरणसँगै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । पार्टीको झापा जिल्ला कमिटीले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी पार्टीको सबै तहको कमिटीलाई पूर्णता दिएको जनाएको छ ।
गत चैत्र १४ गते झापा जिल्ला कमिटीको चौथो पूर्ण बैठकले गरेका विशेष निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वेदराज रेग्मीले भने– जिल्ला कमिटीको बाँकी रहेका पदाधिकारीहरु, कार्यालय कमिटी, सचिवालय चयन गर्नुका साथै १५ वटै पालिकाका इञ्चार्ज, भातृ संगठन, मोर्चाका इञ्चार्ज, संघीय इकाई र प्रदेश इकाईका संयोजक र सचिवलाई तोकिएको छ । साथै, आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष तयारीका लागि ११ सय जनाको जिल्ला प्रचारप्रसार कमिटी गठन गरेर अगाडि बढेको छ ।
यसैगरी केन्द्र तथा प्रदेशको कार्ययोजना अनुरुप संगठन सुदृढीकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने, चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने र गठबन्धनमा रहेका दहरुबीचको साझा सहमति कायम गर्नका लागि जिल्ला अध्यक्ष वेदराज रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको सो पार्टीले जनाएको छ ।
उक्त समिति गठन भएलगत्तै यस समितिले केन्द्रीय स्तरमा हाल कायम रहेको गठबन्धनलाई जिल्ला, पालिका र वडास्तरसम्म कायम राखेर लैजान छलफल र संवाद थालेको छ । अध्यक्ष रेग्मीका अनुसार जिल्लामा एक्लै चुनावी मैदानमा जान सक्ने सामथ्र्य राखे पनि आजको आवश्यकता, उपस्थिति र समन्यायका आधारमा र समुचित सहभागितामूलक तालमेलको पक्षमा नेकपा समाजवादी रहेको छ ।

























