अर्जुनधारा ।

शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा झापाको अर्जुनधारामा बुधबार आयुर्वेद तथा जडिबुटि र स्वास्थ्य जीवनशैली सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
अर्जुनधारा–९ स्थित वडा समिति कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्देश्य सहभागीहरुलाई स्वास्थ्य जीवनशैलीका लागि आवश्यक विषयहरु बारे जानकारी गराउँदै व्यावहारिकरुपमा स्वस्थ रहन प्रोत्साहन गर्नु रहेको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले बताए ।
२५ जना बढी सहभागिहरुको सहभागिता रहेको कार्यक्रममा औषधालयका प्रमुख ठाकुरले स्वास्थ्य जीवनशैली र शिवसताक्षी नगरपालिका आयुर्वेद शाखा प्रमुख आयुर्वेद निरिक्षक राजेन्द्र पोखरेलले आयुर्वेद तथा जडिबुटिको विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्यको लागि गर्नुपर्ने कार्यहरु, भान्सामा सुधार गर्नुपर्ने कुराहरु, स्थानीय जडिबुटिको पहिचान तथा प्रयोगलगायतका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।
वडा समितिकी कार्यवाहक अध्यक्ष हरिमाया भण्डारी दाहालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमको सञ्चालन औषधालयका प्रमुख ठाकुरले गरेका थिए ।






























