झापा, यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानले झापाका १५ वटै पालिकामा उम्मेदवारीको तयारी गरेको छ ।
कमल गाउँपालिकामा सत्तारुढ गठबन्धनसँग सहकार्य गर्दै वडाध्यक्षको तयारी गरेको छ भने अन्य पालिकामा गठबन्धन दलसँगै मिलेर अघि बढ्ने मञ्चका झापा जिल्ला अध्यक्ष नगेन राईले बताए । अरुण पूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्यको माग गर्दै आएको लम्बुवान गठबन्धनसँग सहकार्य गर्दै अघि बढेसँगै झापामा गठबन्धन मजबुत भएको आँकलन गरिएको छ ।
सबै पालिकामा पार्टीले सहयोग गर्ने र कमल गाउँपालिकाको वडा नं. ४मा सूर्य योपाङ्देन लिम्बूलाई अध्यक्षको उम्मेदवारी तय गरेको जिल्ला उपाध्यक्ष राजा आङ्थुपोले जानकारी दिए । गठबन्धनसँग उम्मेदवारीको विषयमा थप छलफल भइरहेको बताइएको छ । निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराउन राजनीतिक दल र सम्बन्धित सबैलाई निर्वाचन आयोगले आग्रह गरेको छ । आज आइतवार र सोमवार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिँदैछ ।































