माता तीर्थ औंशी र तामाको भाँडाको मूल्य

0
834

आज मार्तातीर्थ औँसी । आमाको मुख हेर्ने दिन । आमा शब्द आफैमा जति सुमधुर छ । आमाको मातृत्व प्रेमले हरेकको जीवन त्यतिनै सुमधुर बन्दछ । सिङ्गो सृष्टि ,प्रकृति ,मातृभूमि र जन्मदातालाइ हामी आमा या माता भनेर सम्बोधन गर्दछौ ! गर्भमा रहेको सुष्म र अचेत मासुको डल्लोलाई स्वरुप दिएर अस्तित्वमा ल्याउने नै आमा हुन । “आमा भगवान हुन या भनौ भगवान नै आमा हुन !“
आमाको ममता , सेवा र योगदानको स्मरण गर्दै मातातीर्थ औसी मनाइन्छ । भनिन्छ, आजको दिन आमालाइ खुसी राख्नु पर्दछ । त्यसैले आमासङ्ग भेटेर आशीर्वाद ग्रहण गर्दै आमालाई उपहार र खानेकुरा दिदै दुःख सुख साटासाट गरिन्छ । हुन त , आमाको त्याग ,बलिदान, प्रेम र साथको अघि सारा बस्तुहरु मूल्यबिहिन हुन्छन । तर पनि, बिर्सिएका र टाडा रहेका सन्तानले आमा सम्झेर घर फर्कने यो चाड अति पबित्र छ।
आमा त सबै एकै हुन । सबै माताको सन्तान प्रतिको ममता र त्याग समान हुन्छ । तरपनि, सम्पन्न घरका आमाहरुलाई त त्यति धेरै दुख र समस्या नहोला । तर गरिबी, अभाब र एक्लो अबिभावक भएर संघर्ष गर्नुभएकी एक आमाको यथार्थ र सत्य कथा आजको यस पावन दिनमा सुनाउन चाहन्छु । मैले देखेको, चिनेको र महसुस गरेको एक आमाको संघर्षमय इतिहासको एक अन्स मातातीर्थ औसीको शुभकामना सहित समस्त मातृ शक्ति प्रति समर्पित गर्न चाहान्छु !

आज बेलुका तरकारी के पकाउनु आमा ? भान्सा घरबाट आएको छोरीको प्रश्नको उत्तर नपाउँदै अर्को प्रश्न आमामाथि तेर्सिन्छ, परीक्षाको फारम भर्ने भोली अन्तिम दिन हो रे आमा । भोलि फारम भरेन भने म त परीक्षा दिन पाउँदिन अरे के गर्नु अब ?
उदास छोराछोरीको अनुहारमा नियाल्दैछिन् आमा । मौनताले ओठहरु बन्द छन् । उत्तर दिन नसक्ने प्रश्नहरुको वाणरुपी प्रहार । विचरा आमा सोच्दैछिन् “कहाँबाट ल्याउनु आजै पैसा ? अब त घर धान्नै मुस्किल परीसक्यो ।“
उनको मौनतालाई चिर्दै भर्खर एस एल सि परीक्षा प्रथम श्रेणी मा पास गरेर कलेजको पाइला टेक्न उत्सुक अर्की छोरीको कौतुल्ता छ, आमा कलेजको पोशाक सिलाउन दिएको छ नि, लिन जाऊ न । भोलि बिहानदेखि त कलेज लाग्छ । ड्रेस लाएन भने, गेटबाट छिर्नै दिदैनन् अरे त्यहाँ त!

गरिबी, पिडा, अभाव अनि एक्लोपनालाई आफ्नो दौतरी बनाएर जीबनको संघर्षशील अनि करुणादायी पिडाहरुको भारी बोक्दै आफ्ना छोराछोरीको उज्जवल भविष्यको सपनाहरु सजाउँदै छिन आमा तमन्ना । विहे गरेको १० वर्षमा पतिको वियोग सहेकी ४० वर्षकी तमन्नाको केही छैन जिवनको उद्देस्य आफ्नो लागि । केही छ त, त्यो हो आफ्ना ३ जना सन्तानहरु सम्राट, सुनैना र सफलताको उज्ज्वल भविष्य ,शैक्षिक प्रगति अनि खुसियाली जिन्दगी ।

सम्राट तमन्नाको जेठो छोरो । घरको आधा भार उसकै काँधमा छ । बिहान कलेज जान्छ । दिउँसो गाउँको सानो बोर्डिङ्ग स्कुलमा पढाउँछ, जति कमाउँछ घरको जोहो गर्दैमा र बहिनीहरुको पढाइ खर्च बेहोर्दैमा सकिन्छ ।
एउटा सानो पसल छ आम्दानीको स्रोत । तमन्ना बिहानै ठुलो बोरामा कपडाहरु पोको पार्दै धेरै बेचेर नाफा कमाउने सपनाहरु बुन्दै बाहिर निस्कन्छिन् । सडकको पेटीमा सानो कपडा पसल । धुँवाधुलो, घामपानी जति पनि सहनु नै छ उनले अन्यथा त्यो दिन भान्सामा चुल्हो बल्दैन ।
पुँजीवादी समाज, स्वार्थी मानिसहरु छल, घृणा , तिरस्कारले जरो गाडेको यो परिवेश भित्र एक विवस महिला संघर्ष गर्दैछिन । दिनरात आँसुका घुट्कीहरु पिउँदै, पसिनाको धाराहरु बगाउँदै अनि सपनाको संसार सजाउँदैछिन आफ्नो सन्तानको जीवनमा खुसीयाली भर्ने।
भाग्यले ठगेर उनी र उनको श्रीमानले स्कुलको ढोकामा पाइला टेक्न सम्म पाएका थिएनन् । बिहे गरेर सानै उमेरमा भित्रिएपछि घर का अन्य सदस्य अनि पडेलेखेकाको घमण्ड र व्यंग्य धेरै भोगिन उनीले ।
आफू र आफ्नो पति असिक्षित भएकोमा उनीलाइ आफन्तबाट पाएको अपमान सहेरै उन्ले संकल्प गरेकी होलान सायद ।आफ्नो तीन जना सन्तान लाई परिवार र आफन्त सबै भन्दा धेरै पडाउने। यही एउटा सपना पूरा गर्न आफ्ना हरेक सपनाहरू को बलि दिदैछिन उनी । के के सहिनन होला, के के भोगिनन होला तर थाकेकी छैनन् तमन्ना !
निरन्तर छ उनको संघर्षशील यात्रा

आफूमाथि लक्षित प्रश्नहरुको निश्चित उत्तर त उनीसँग छैन । उनलाई थाहा छ उनको हातमा आज एक रुपैया पनि बचेको छैन किनकी आज बजार बन्द थियो । हड्तालको कारण सुनसान शहर ; उनको पसल पनि आज खुल्न पाएन ।

आमा शब्द नै अपरम्पार छ । आमाको ह्रदय चोट अनि सहनशिलताको प्रतिक हो रे । तमन्ना पनि आमा थिइन् सन्तानको हर्षित अनुहारमा निरासाको बादलले ढाकोस कसरी सोच्न सक्थिन र ।

अनुहारमा उदासिन मुस्कान ल्याउँदै भन्छिन अहिले बजार जानुपर्छ । त्यतैबाट घरको सरसामान अनि कलेजको ड्रेस पनि ल्याउला । मसँग पैसा छ अलिकति भोली लिएर जानु अनि परिक्षा फारम भर्नु नि, किन चिन्ता गरेको ? म छ दै छु नि ।
तमन्नाको जवाफले खुसी छन् छोराछोरी ।आमाले कहाँबाट ल्याउनु होला पैसा ? सम्राटको जिज्ञासा सकिएको भने छैन । सबै काममा ब्यस्त छन् । कत्तिको आँधीबेहरी आएको छ तमन्नाको ह्रदयमा त्यो त उनलाई मात्र थाह छ ।

बचन त दिइन छोरालाई तर पैसा भने उनीसँग अलिकति पनि छैन। साँझ पर्दैछ रात पर्न अब कही घण्टा मात्र बाँकी छ । रातभरी छट्पटाउनु अनि आफ्नो भाग्यलाई दोष दिदै एकान्तमा रुनु त ठिकै छ, भोलीको बिहानी हुने बित्तिकै उनले छोरा छोरीलाई क्याम्पस पठाउनु छ ।

घरको चारैतिर हेर्छिन । आँखाभरी आँसु, गह्रुगो पाइलाहरु । सोच्दा सोच्दै थाकी सकिन् उनि अन्यौलमा छन् उनका सोचहरु। , ‘कहाँ जाऊँ ? कसलाई भनुँ ?’ आफन्तलाई सम्झन्छिन् को छ र दुःखमा साथ दिने? त्यो पनि पैसा कसले देला र ?

घण्टौंको प्रयासपछि उनको आँखा झलक्क पुग्छ विहेमा गोडा धोएर उनलाई दिएको तामाको ठुलो भाँडामा । विहेमा आर्शीवाद दिएको बा आमाले, माइतीको मायाको चिनो । बाबा आमा नभए पनि उनीहरुको मुहार देख्छिन उनी त्यो तामाको भाँडोमा ।

सोच्छिन् आज यो भाडो बेच्छु । केही पैसा त आउला । कलेजको फि तिर्न त पुग्ला नि । हातमा बोक्छिन् भाँडा, थरथर हात काम्छ । हैन ! बेच्दिन यो !!
आमाबाबुले दिएको यही त छ, यो पनि मबाट छुट्यो भने म साच्चै नै टुहुरी हुनेछु ।
फर्केर जान्छिन् । छिमेकी, आफन्त, साथीभाई सबैसँग हात फैलाउछिन् । आशा छ उनलाई १–२ हजार सापटी कसैले त पक्कै देला ।

एक घण्टाको अथक प्रयास, सबै माथिको सहयोगको आशा, माइतीको चिनो सम्हालेर राख्ने उनको सपना सिसा झैं फुट्दैछ । किनकि आज बेलुका हात मुख जोर्न पनि उनीसँग अर्को कुनै विकल्प छैन ।

काखीमुनि तामाको भाँडा हाल्छिन् ।ठूलो बर्कोले आधा शरिर ढाकेर बजारतिर लम्कदैछिन् ।

छोराछोरीले देखे भने के भन्लान ? छिमेकीले देखे भने के सोच्लान् ? सोच्छिन आ ! जे सुकै सोचुन । भाँडा बेचेर भएपनि छोराको पढाइ त गराउनु नै छ । कलेज त पढ्नै पर्छ उसले । म जस्तै दुःखी अनि गरिबीमा मेरो सन्तानले बाच्नु कदापी हुँदैन ।

ब्यस्त शहर; हजारौं मानिसहरु कति परिचित त कति अपरिचित अनुहारहरु,,,, निरन्तर बजारतर्फ लम्किरहेछन तमन्नाको पाइलाहरु । पुरानो साडी, थोत्रो चप्पल, सेतै फुलेका कपाल, काखीमा च्यापेको तामाको भाँडालाई दुनियाको स्वार्थी नजरबाट लुकाउने एउटा बाक्लो बर्को छ उनको शरिरमा ।

कति होला यसको मुल्य ? छोराको शुल्क तिर्न पुग्ला कि नपुग्ला ? छोरीको नयाँ पोशाक कसरी लाने हो खै ? ला !भरेलाई त चामल अनि तरकारी पनि केही छैन भन्दैथी छोरीले,हे भगवान ?

नमस्कार दिदी ! कहाँ जानु भएको ? भिडबाट एउटा प्रश्न ! अभाव र दरिद्रताको पिडामा एकोहोरो यात्रा गरिरहेकी उनी झसङ्ग हुन्छिन्, बजार गएको नि बाबु । एउटा सानो काम छ बर्कोको फेरो तान्दैछिन्, कतै तामाको भाँडो पो देख्यो कि उसले ।

दिदी तपाईलाई थाहा छ ? सम्राटले बि बि एस को दोस्रो वर्षको परीक्षामा कलेज टप गरेछ नि । साह्रै मिहेनती अनि तृक्क्षण बुद्धिको होनाहार छोरा छ दिदी तपाईको । कति भाग्यमानी है तपाई ?

सम्राटको कलेजको प्रोफेसर सुप्रभात सरको मुखबाट एकै सासमा प्रस्फुटित आफ्नो छोराको बयान सुनेर उनको ह्दयमा पोलीरहेको गरिबी र अभावको घाउ पुरीए झै लाग्छ उनलाई ।

अब त हाम्रो पनि सुखको दिन आउँछ । म र उनीहरुको बाबाले भोगे जस्तो अशिक्षा र अभावको जिन्दगी अब मेरो नानीहरुले त जिउनु पर्दैन ।

नौलानौला सपनाको महलहरु एकमाथी अर्को गर्दै थपिदैछ उनको कल्पनामा ।

म जान्छु ल दिदी ? सोचको भुमरीमा लपेटिएकी उनी आतिदै भन्छिन् हुन्छ बाबु । कहिलेकाही घरतिर आउनुस न ।

ह्तारहतारमा गन्तब्य निहालीरहेका उनका आँखाहरु, अनि लक्ष्यमा पुग्न भौतारीरहेका उनका पाइलाहरु टक्क रोकिन्छ । बजारको बीच एउटा ठुलो भाँडा पसल । किनाबेच गर्ने मानिसहरुको भिडलाई चिर्दै उनी पसल भित्र पस्छिन्

भाइ तामाको सामान किन्नुहुन्छ ? कसरी किलो ? उनको कौतुहलयुक्त प्रश्न । ५०० रुपैया किलो छ अहिले । किन्छौ खै कति छ ? बर्कोले छोपेको काखीमुनी चेपेर राखेको तामाको भाँडो, आमाबाबुको अन्तिम चिनो उनको हातले निकालेर बेच्न पनि सकेको छैन ।

कतैबाट एक दिनलाई भएपनि सापटी पाए त बेच्दिन थिए । कसलाई भनुँ ? अन्तिम प्रयास उनको सबैलाई सम्झन्छिन

। दिनुस त यता । जोखौं कति हुन्छ । छाँगाबाट खसेजस्तै हुन्छिन् उनी । भारी काम्दै गरेको हातले पसलेको हातमा थमाउछिन् । एक शब्द मुखबाट आउन सक्दैन । आँखामा आँसुका धाराहरु छल्कीरहेछन् ।
५ किलोको रै छ । २५०० रु आउँछ । के गर्नु हुन्छ ? प्रतिउत्तरमा उनको एउटै आवाज “ हुन्छ दिनुस “।

(आज मलाई तामाको भाँडो बेचेर छेराछोरीको शिक्षा किन्नु छ । गरिबी र अशिक्षाको ग्रहणलाई आफ्नो हातले छेक्नु छ मैले । मेरो आँसुको एकएक मुल्य सन्तानको मुस्कानमा खोज्नुछ मैले !………अनगिन्ती विचारधाराहरुले उनको मनमा उथलपुथल मच्चाइरहेको छ ।)

२५०० रुपैया हातमा छ उनको । सोच्छिन छोराको परिक्षा शुल्क तिर्न र छोरीको पोशाक सिलाउन त पुग्ने भो यति पैसाले । खानेकुरा अलिकति बाँकी लान्छु । आ ! पछि छोराले तलब आएपछि तिर्छ ।

झमक्क रात परीसकेको छ । आशाका किरणहरु र खुसीका भावहरु झलमल्ल छन् उनको मुहारमा । सोच्छिन् छोरालाई पैसा दिन पाउने भए । कति खुसी हुन्छ होला । छोरी कलेज जान पाउने भै नयाँ पोशाक लगाएर ।

.फेरी फनक्क फर्किन्छिन् । बत्तिको हलुका प्रकाशमा टल्किरहेको पसलको कुनामा राखिएको उनको त्यो तामाको भाँडो । भतभत पोलीरहेको छ मन । लाग्छ मुटुको एक टुक्रा छुटेको छ उनिबाट ।

माइतीको दाइजो, उनको पेवा दुख सुखको साथि अब कहिल्यै उनको हातमा पर्दैन । फेरी सोच्छिन विगतका दिनहरु ………….आमाबाबुको अर्ति र उपदेशहरु अनि श्रीमानको माया र स्नेहका वचनहरु ।

बढ्दैछ श्वास प्रस्वास , पाइलाहरु अनायसै चलिरहेछन ……। लम्किदैछिन उनी हतारीदै वर्तमानको त्यो सानो सन्सार सजाउन …..। तर मन भने छुटीरहेछ , त्यो ब्यस्त बजारको एउटा ठुलो पसलको कुनै कुनामा ।

त्यो पसलेलाइ के थाहा त्यो तामाको भाँडाको मूल्य !
के गर्छ होला ? कहाँ लान्छ होला ? यतिकै राखीरहे त फेरी म आफैं किन्थें नि बरु छोराले धेरै पैसा कमाउन थालेपछि त …………..। धिक्कार मेरो जिन्दगी ! आमाबाबुको एउटा नासो बचाएर राख्न पनि सकिन । आमाबाबा प्रतिको उनको सम्बोधन बाबा ! आमा ! माफ गर्नुस मलाई । म लाचार , बेसहारा ,असहाय पनि हैन । तर,म आज स्वार्थि र महत्वकांक्षी भएँ । मैले पैत्रिक एउटा चिनो पनि बेचेँ ।

“ तर केही छैन आमा । मेरो सन्तानको हितको लागि म बेच्छु । यस्ता निर्जिव सामान त के मेरा सारा खुसी, सपनाहरु, मुस्कानहरु बेच्छु । आवश्यक परेछ कुनै बखत भने म आफुले आफैलाई पनि बेच्छु । शिक्षा साह्रै महंगो हुँदोरहेछ आमा ! गरिबी साह्रै कहाली लाग्दो हुँदोरहेछ बाबा ! “

उनको आफै सँगको एउटा प्रतिक्षा, तर म हार मान्दिन । कहिल्यै हार्दिन म । मैले बेचेका सारा सपनाहरु, मैले गुमाएका सारा चिजहरु भोली मेरो सन्तानले किन्नेछन् । समयको केही प्रतिक्षा पछि मेरो सन्तानले यो अन्धकार समाजमा शिक्षाको ज्योती छर्नेछन् । गरिबी र असमानताको पर्खाल एकै मुड्कीले ढाल्नेछन् ।

त्यसबेला भन्नेछु म उनीहरुलाई कति हो मेरो तामाको भाँडोको मुल्य । आज केबल मलाई मात्र थाहा छ भोली सबैले थाहा पाउने छन् कति हो मेरो तामाको भाँडोको मूल्य ।

२० बर्स पछि आज तमन्नाका तिनै सन्तानहरु योग्य , सफल , स्वरोजगार , सम्पन्न र प्रशिद्द भइसकेका छन आफ्नै ठाउँमा । एउटा तामाको भाडाको सट्टा सिङ्गो पसल नै किन्न सक्छन आमाको लागि । तर अफसोस ! न त आमा तमन्ना नै यो सन्सारमा छिन ! न त लाखौ रुपैया तिर्छु भन्दा पनि त्यही तामाको भाँडो उनका सन्तानले किन्न नै सके !! कसैले चुकाउन सकेन उनको त्यो तामाको भाडाको मूल्य ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here