कोरोनाकालमा बन्द गरेका नाका चीनले खोलेन, बिक्नै छोडे याक र गलैँचा

0
510

– गिरिराज बाँस्कोटा

वैशाखको पहिलो हप्ता नेपाल–चीन सिमाना टिप्तला भञ्याङमा बाक्लो हिँउ थियो । बेजोडले बतास चल्थ्यो भने बेला-बेलामा हिउँ समेत पर्थ्यो । तर, यो नाका सुनसान थियो । चीनले बनाएर घर तथा नेपाल आवतजावतका लागि बनाइएको गेट बन्द थियो । नेपालतर्फ भौतिक संरचना हुने कुरै भएन । ५ हजार १ सय ३२ मिटर उचाइमा रहेको ७९ नम्बरको सीमासम्भ नजिकै रहेको यो नाका कोरोना महामारी बढेसँगै बन्द भएको थियो ।

तर, नाका अझै खुल्न सकेको छैन । टिप्तलाबाट २४ किलोमिटरमा ओलाङचुङगोला बस्ती रहेको छ । ओलाङचुङगोलातर्फ सडकसमेत बनेको थियो । कोभिडसँगै नाका बन्द भएपछि सडक प्रयोगमा आएको छैन भने हिमाली क्षेत्रका बासिन्दाले व्यापार व्यवसाय गर्न पाएका छैनन् । टिप्तला नजिकैको रिउ बजारबाट सामग्री नेपाली गाउँसम्म आउँथे । नेपालबाट याक, गलैँचा, घिउ, कञ्चनजंघा संरक्षणले बिक्रीका लागि सूचीकृत गरेका जरिबुटी चीनतर्फ बिक्री हुन्थे ।

कहिले नाका खुल्ला र सहज होला भन्ने आशा यो क्षेत्रका बासिन्दाको छ । ताप्लेजुङको फक्तालुङ गाँउपालिकाको ओलाङचुङगोला, याङमा तथा हिमाली क्षेत्रमा याक पालन गरिरहेकाहरू नाका चाँडै खुलिदिए हुन्थ्यो भन्ने आशमा छन् । ‘नाका चल्दा व्यापार–व्यवसाय राम्रो हुन्थ्यो । पशुबिक्री, जरिबुटी, गलैँचालगायतका सामग्री बिक्री हुन्थ्यो । हामीलाई सामान ल्याउन पनि सहज र सस्तो पर्थ्यो । अहिले त आम्दानी नै छैन,’ ओलाङचुङगोलाका व्यवसायी नुपु शेर्पाले भने, ‘नाका खुले हामी ठूलो राहत हुन्थ्यो ।’

चीनको तिब्बतका बासिन्दासँग यहाँका बासिन्दाको पारिवारिक तथा मित्रवत् सम्बन्ध छ ।  सिमाना आसपासका बस्ती हरेक वर्ष चीन सरकारले खाद्यान्न राहत बाड्ने गरेको स्थानीय बताउँछन् ।

विकेनन् याक

डाँडाले घेरिएर उपत्यका जस्तो मौवाटारमा साँझपख हिउँ पर्दैथियो । ‘नाका पनि खुल्दैन,’ याक लखेटेर गोठमा ल्याउँदै गरेका गेले शेर्पा गुनासो पोख्दै थिए । विगतमा याक किन्न तिब्बतका व्यापारीहरू गोठसम्म आइपुग्थे । ‘याक बिक्री नभएको पनि तीन वर्ष हुन लाग्यो । नाका नै बन्द भएपछि कहाँ बेच्नु र ?’ उनले भने, ‘डेढ लाखसम्ममा बिक्री हुने याक त्यतिकै छन् । कहिले नाका खुल्ला र बेचौँला भनेर बसेका छौँ ।’

मौमाटार भन्ने ठाउँमा तमोर नदी तर्दै याक ।

गेलेको घर ओलाङचुङगोला हो । एकदिनको पैदल यात्रापछि उनको गोठ भएको मौमाटार पुगिन्छ । फोन चल्दैन । गाउँमा दु:खबिराम भएको खबर सुनाउन मान्छे नै आउनुपर्छ । गोठबाट चार घण्टा हिँड्दा नाका पुगिन्छ । ‘परिवार पाल्न, छोराछोरी पढाउन यो अनकन्टारमा दु:ख गरिरहेको छु । याक बिक्दैन । सालै पिच्छे बेच्थ्यो । याक पालेको पनि माटोमा पानी हालेजस्तै भयो,’ गेलेले भने ।

तपाईंहरूलाई त थाहा होला, नाका कहिले खुल्छ सर ?’ गेलेले उल्टै प्रश्न गरे । उनको गोठछेउमा ३० वर्षदेखि पशुपालन व्यवसाय गरिरहेका योञ्जेन शेर्पा नाका खुलेर याक बिक्री भए घर फर्किने सोचमा रहेको सुनाउँछन् । ‘याक बिक्री हुँदैन । बुढो मान्छेले कति दु:ख गर्नु,’ शेर्पाले भने, ‘बिक्री नहुने भएपछि किन पाल्नु अब ।’

हिमाली क्षेत्रका ओलाङगोला, मौमाटारमात्र होइन याङमा, फले, खम्बाचेन, रामजेरलगायतका क्षेत्रमा पालिएका याक, चौरी बिक्री हुन सकेका छैनन् ।

थन्किए गलैँचा

ओलाङ्गोलामा हातबाट बुनिएको गलैँचा चर्चित मानिन्छ । यो गलैँचाको बजार पनि चीन नै थियो । गोलाका प्रायः घरमा गलैँचा बुन्न तान राखिएको छ । महिलाहरूको मुख्य आम्दानीको स्रोत गलैँचा व्यवसाय हो । तर, अहिले विगतको जस्तो गलैँचा बुन्ने उत्साह नभएको स्थानीय बताउँछन् । तयारी गलैँचा थन्किएका छन् ।

गोलामा गलैँचा बुन्दै महिला ।

थोरै संख्यामा गलैँचा काठमाडौं जाने गरेको स्थानीयले बताए । राम्रो पैसा नभएपछि काम गर्ने जागर घटेको यहाँका उद्यमी महिलाहरू बताउँछन् । गलैँचा व्यवसायी देन्जी याङ्मीका अनुसार अहिले बिक्रीका लागि गलैँचा काठमाडौं पठाइन्छ । ‘चीन जाँदा राम्रो दाम आउँथ्यो । माग पनि धेरै हुन्थ्यो । अहिले त्यति राम्रो छैन,’ उनले भनिन् । एउटा गलैँचा १७ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेकी उनीहरू बताउँछन् । टिप्तला नाकाबाट रिउ बजार पुग्ने गलैँचा अहिले ठूलो संख्यामा बिक्री हुन सकेको छैन । ‘लकडाउन भएपछि नाका बन्द भयो । गलैँचा चीनतर्फ बिक्री हुन पनि रोकियो,’ गोलाकै पासाङ्की शेर्पाले भनिन् ।

खच्चडबाट सामान 

टिप्तला नाकाबाट याकले सामान गोलासम्म ल्याउँथे । चीनबाट दैनिक उपभोग्य सामग्री ल्याउन सहज पर्थ्यो । तर, अहिले ताप्लेजुङ सदरमुकामबाट गोला, याङ्मालगायतका ठाउँमा सामग्री पुर्‍याउन कठिन परेको स्थानीय बताउँछन् । अहिले ताप्लेजुङ सदरमुकाम फुङलिङबाट इलाडाँडासम्म गाडी चल्छ ।

ओलाङ्चुङगोलाबाट सामान लिन इलाडाँडा झारिँदै गरेका खच्चड ।
ओलाङ्चुङगोलाबाट सामान लिन इलाडाँडा झारिँदै गरेका खच्चड ।

यहाँबाट एकदिन तमोरको किनारै किनार हिँड्दा ओलाङचुङगोला पुगिन्छ । फुङलिङबाट इलाडाँडासम्म गाडीमा सामान लैजाँदा प्रतिकेजी १० रुपैयाँ भाडा पर्छ । इलाडाँडादेखि खच्चडमा गोला समान पुर्‍याउँदा ५० रुपैयाँ भाडा लाग्छ । कतिपय सामानलाई पर्ने मूल्यभन्दा भाडा महँगो पर्ने गरेको छ ।

‘टिप्तलाबाट गोला आउने गाडीको बाटो पनि बनेको थियो । सामान पनि सस्तो । अहिले त निक्कै महँगो पर्छ । आम्दानी घट्यो, किन्ने सामानको मूल्य बढ्यो’, स्थानीय पासाङ छिरिङले भने ।  चौरी, याकलाई चाहिने दाना पुर्‍याउनै कठिन भएको छ ।shilapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here