कमलमा कसले मार्ला बाजी ?

२४ बैशाख २०७९, शनिबार मा प्रकाशित

उमानाथ भण्डारी
कमल ।

बैशाख ३० गते हुने कमल गाउँपालिकामा अध्यक्ष पदका लागि सात जना र उपाध्यक्ष पदका लागि आठ जना चुनावी मैदानमा उत्रिएका छन् ।

योपटकको स्थानीय तहको चुनावी प्रतिस्पर्धामा नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लोकतान्त्रिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाईजेशन लगायत छ दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा छ ।

गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेका तर्फबाट भीमप्रसाद राईले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा प्रमिला न्यौपाने तिवारीले उम्मेदवारी दर्ता गराएकी छन् । त्यसैगरी गठबन्धनका तर्फबाट गाउँपालिकाको प्रमुख पदमा हुकुमसिंह राईले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका पर्शु सुवेदीले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि विक्रम अधिकारी रहेका छन् । त्यस्तै अन्य साना दल समेत चुनावी प्रतिष्पर्धामा आएका छन् । यसरी उम्मेदवारी दिनेहरुमा नेपाल समाजबदी पार्टीका तर्फबाट रामबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेसनका तर्फबाट जमुना चेम्जोङ, राप्रपा नेपालका तर्फबाट तारादेबी अधिकारीले उम्मेदवारी दिएका छन् । त्यसैगरी स्वतन्त्रतर्फ खगेन्द्रप्रसाद दाहाल, गणेश वान्तवा र सन्तोषकुमार राईले कमल गाउँपालिकाको उपाध्यक्ष पदमा उमेद्वारी दिएका छन् ।

कमल गाउँपालिकामा यसपटकको चुनावमा ३७ हजार ९ सय ५० जना मतदाता रहेका छन् । यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको बाजी कसले मार्ला भन्ने मतदातामा चासो चुलिँदैछ । एकातिर नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने अर्कोतर्फ ६ दलीय गठबन्धन चुनावी मैदानमा कम्मर कसेर लागेको छ ।

अहिले ठूला–साना अथवा स्वतन्त्र सबैले आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि मतदाताको घर–घर र टोल–टोल पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने अध्यक्षका प्रत्याक्षी मेनुका काफ्ले र हुकुमसिंह राई दुबै जनाले ८ हजार २ सय ७५ मत प्राप्त गरेका थिए भने गोलाप्रथाद्वारा नेकपा एमालेका उम्मेदवार मेनुका काफ्ले बिजयी भएकी थिइन् ।

२०७४ सालको चुनावमा माओवादी केन्द्रले १ हजार ९ सय ९ मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा माओवादीले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने योपटक गठबन्धनले जित्ने पक्का छ । गत चुनावमा ३ सय ४५ मत प्राप्त गरेको राप्रपाले यो पटकको निर्वाचनमा आफ्नो पकड बलियो बनाउन मतदाताका घर–घरमा र टोलटोलमा पुगेर मत मागिरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here