गौशाला, कात्तिक ४ । महोत्तरीको बर्दिबासबाट प्रहरीले ब्राउनसुगर र नाइट्रोभेटसहित दुई युवकलाई आज बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २० वर्षीय रुपक भुजेल र २५ वर्षीय दीपक साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभशम्शेर राणाले बताए ।
बर्दिबास–२ स्थित युवक दीपक साहको घरअगाडि रातिदेखि नै रोकिराखेको ना।२च ७२४१ नम्बरको बोलेरो पिकअप भ्यानलाई शङ्का लागि प्रहरीले जाँच गर्दा भ्यानभित्रैबाट दुवै युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।
भ्यानका चालक रहेका रुपक र साथी दीपक दुवैका साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ३० ग्राम र नाइट्रोभेट १० लेखिएको ट्याब्लेट पाँच थान बरामद गरेको प्रहरी उपरीक्षक राणाले बताए ।
लागुऔषधसहित पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ ।