सुरेन्द्र भण्डारी,
झापा ।

झापाको भद्रपुर नगरपालिकामा रहेको मेची अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ । बिरामीको चाप उच्च रहे पनि अस्पतालमा रहेका सीमित जनशक्तिले सेवा प्रवाह गर्दै आएको बताइएको छ ।
नेपाल सरकारले निजी अस्पतालबाट समेत सञ्चालन गर्दै आएको स्वास्थ्य विमा कार्यक्रम बन्द गर्दै सरकारी अस्पतालमा मात्रै सीमित गरेसँगै मेची अञ्चल अस्ताल भद्रपुरमा बिरामीको चाप बढेको हो । अस्पतालमा अहिले दैनिक एक हजार जना भन्दा बढीले सेवा लिँदै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा. टंकप्रसाद बाराकोटीले बताए ।
अस्पतालमा औषधि उपचारका लागि आउने सेवाग्राहीको संख्या बढेपनि स्वास्थ्यकर्मीको दरबन्दी नथपिँदा सेवा प्रवाह गर्न सकस हुने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. बाराकोटी बताउँछन् । ‘अहिलेसम्म जसोतसो धानेका छौं’– डा. वाराकोटीले भने– ‘विरामीको चाप यही अवस्थामा बढ्ने हो भने सेवाग्राहीलाई सेवा प्रवाह गर्न मुस्किल छ । एक जना विशेषज्ञ डाक्टरले दैनिक दुई सय जनासम्म विरामी हेर्नु परेको छ ।’
वि.सं. २०३५ सालमा स्थापित मेची अञ्चल अस्पतालको स्वीकृत बेड संख्या ५० मात्रै हो । सोही अनुसार चिकित्सकको दरवन्दी कायम छ । तर, दिनानुदिन बिरामीको चाप बढेसँगै अस्पताललाई ५० शय्याबाट बढाएर १३४ को बनाइएको छ । अस्पतालमा सेवा लिन आएका सेवाग्राहीलाई भिन्न–भिन्न विभागमा राखेर उपचार गरिँदै आएको छ भने आएका कतिपय नयाँ बिरामीलाई समेत अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा चिकित्सकको अभाव हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अझ ‘स्वास्थ्य विमा कार्यक्रम’ का विरामी थपिँदा ओपिडी हेर्न समेत समस्या हुने गरेको अस्पतालका बरिष्ट फिजिसियन डा. मनिष सुवेदी बताउँछन् । उनी भन्छन्– ‘एक जना विशेषज्ञ डाक्टरले दैनिक ३० देखि ५० जनासम्म मात्रै विरामी जाँच्नुपर्ने हो । तर, यहाँ हामीहरु दैनिक दुई सय जना भन्दा बढी बिरामी जाँचिरहेका छौं ।’
‘हामीले नै अस्पताल भर्ना भएका विरामी हेर्नु पर्ने हुन्छ, त्यहाँ पनि विरामीको चाप उच्च छ’– डा. सुवेदीले भने – सरकारी अस्पतालको सेवाका विषयमा बेला बेलामा प्रश्न उठ्ने गरेको छ , हामीहरुका समस्याका विषयमा कसले बोलिदिन्छ ?’– प्रतिप्रश्न गर्दै उनले भने– एक जना चिकित्सकले दैनिक दुई सय जना भन्दा धेरै विरामी जाँचेर भर्ना भएका विरामीलाई समेत सेवा दिँदा त्यो सेवा कस्तो होला तपाई आफैं विचार गर्नुहोस् ।
अस्पतालमा जनशक्ति अभावका कारण कतिपय उपकरण समेत थन्किएर बिग्रने अवस्थामा पुगेको डा. सुवेदीको भनाइ छ । हाल मेची अञ्चल अस्पतालमा नौ जना मेडिकल अफिसरसहित विभिन्न रोग विशेषज्ञ २८ जना चिकित्सक कार्यरत छन् । तर, पनि चिकित्सक अभावका कारण सेवाग्राहीले घण्टौं लाइन बसेर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
यस अघि अस्पतालबाटै दैनिक तीन सय जनालाई सेवा प्रवाह गरिँदै आएको थियो । तर, ‘स्वास्थ्य विमा कार्यक्रम’का विरामी थपिँदा दैनिक ९ सयदेखि ११ सय जनासम्म बिरामीलाई सेवा प्रवाह गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।
नेपाल मेडिकल एशोसिएशनका महासचिव बद्री रिजालले जनसंख्या बढेसंगै बिरामी हुनेको संख्या पनि स्वत बढ्ने हुँदा भएका अस्पताललाई व्यवस्थित गर्दै दरबन्दी समेत बढाएर लानुपर्ने बताएका छन् । अस्पतालमा जनशक्ति थप गरेसंगै स्तरीय उपकरण समेत थप गर्दै लानुपर्ने उनको भनाइ छ । जसका कारण सेवाग्राहीले गुणस्तरीय र छिटो सेवा पाउने उनले बताए ।
आर्थिक वर्ष २०७८÷०७९मा मेची अञ्चल अस्पताल भद्रपुरबाट ८२ हजार ६ सय ५० जना पुरुष र ६६ हजार ८ सय ३६ जना महिलालाई सेवा प्रवाह गरिएको थियो । पछिल्लो समय मेची अञ्चल अस्पतालले प्रदान गर्दै आएको सेवालाई सुधार गर्दै लगेसँगै अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पतालका मेडिकल सुपरिडेन्ट डा. बाराकोटी बताउँछन् । हाल मेची अञ्चल अस्पतालले मानसिक रोग बाहेकका अन्य सबै सेवा प्रवाह गर्दै आएको बताइएको छ । छात्रवृत्ति करारमा राखिएका एक जना मानसिक रोग विशेषज्ञ चिकित्सकको सम्झौता नवीकरण नहुँदा अघिल्लो आर्थिक वर्षको अन्त्यबाट सो सेवा बन्द भएको डा. वाराकोटीको भनाइ छ ।
अझैं अञ्चल अस्पताल
मुलुक संघीयतामा गएसँगै मेची अञ्चल अस्पताल प्रदेश १ सरकारको मातहतमा छ । यो अस्पताललाई मेची प्रादेशिक अस्पताल बनाउने भनिएता पनि हालसम्म मेची अञ्चल अस्पतालकै रुपमा रहेको डा. बाराकोटी बताउँछन् ।
पूर्बकै ठूलो र सुविधासम्पन्न अस्पतालका रुपमा रहेको यो अस्पताललाई मेची प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण नगर्दा मेडिकल कलेजका रुपमा अघि बढाउन नसकिएको डा. वाराकोटी बताउँछन् । प्रदेश सरकारले यो अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरे मेडिकल कलेजको अबधारणासहित हामी अघि बढ्ने थियौं– डा. वाराकोटीले भने – अहिले हामीलाई एक जना मेडिकल अफिसर राख्न पनि समस्या छ । कार्यविधि नहुँदा कन्सल्टेन्ट चिकित्सकलाई आएको प्रोत्साहन भत्ता वितरण गर्न पनि सकेनौं, योभन्दा ठूलो दुर्भाग्य के हुन्छ– डा. वाराकोटीले प्रतिप्रश्न गरे ।
हाल अस्पताललाई ६/७ जना मेडिकल अफिसर, १०/१२ जना स्टाफ नर्स, ४ /५ जना स्वास्थ्यकर्मी तत्काल आवश्यक रहेको डा. बाराकोटीको भनाइ छ । ओएनएम् सर्भे गरेर जनशक्ति थपको तयारी गर्ने सोचमा छौं तर कार्यविधि नहुँदा समस्या रहेको डा. वाराकोटीको भनाइ छ ।
थपियो एम्बुलेन्स सेवा
मेची अञ्चल अस्पताल भद्रपुरलाई प्रदेश सरकारले आधुनिक स्वास्थ्य सामग्री यन्त्र जडित एक थान एम्वुलेन्स उपलब्ध गराएको छ ।
प्रदेश सरकारले स्वास्थ्य तथा विपद् आपत्कालीन अवस्थामा नागरिकको उपचारमा सहज पहुँचका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत एम्बुलेन्स उपलब्ध गराएको बताइएको छ । भन्सार छुटसहित ५९ लाख ५० हजारमा खरिद गरिएको एम्वुलेन्स प्रदेश १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मेडिकल डाइरेक्टर डा. वाराकोटीलाई केही दिन अघि हस्तान्तरण गरेका थिए ।
प्रदेश १का १४ जिल्लामा प्रदेश सरकारले एक/एक थान एम्वुलेन्स उपलब्ध गराएको बताइएको छ । यता मेची अञ्चल अस्पतालले शव वाहन खरिदको समेत तयारी गरिरहेको बताइएको छ ।































