पत्रकार भूमिराजद्वारा १४ जना व्यक्ति ठगिए, पक्राउ गर्न प्रहरीलाई पत्राचार

0
754

झापा ।

पत्रकार भूमिराज पराजुलीले झापासहित विभिन्न जिल्लाका १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको रहस्य खुलेको छ ।

दमकस्थित हिमशिखर टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत पत्रकार पराजुलीबिरुद्ध वैदेशिक रोजगार कसुर मुद्दामा पक्राउ पूर्जी जारी गर्दै उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई वैदेशिक रोजगार विभागले आग्रह गरेसँगै यस्तो रहस्य खुलेको हो ।

वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको र उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको हो । विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० (५) बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ पुर्जी जारी गर्दै निजको मेडिकल गराई विभागमा उपस्थित गराई दिन भनिएको छ ।

पत्रकार पराजुलीले युरोप मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले बताएका छन् । पराजुलीले बिर्तामोड–४ स्थित दीपक अधिकारीबाट तीन लाख, शिवसताक्षी–८ निवासी नरेन्द्र तामाङबाट २ लाख ९० हजार, भद्रपुर–२ निवासी नरेश मगरबाट एक लाख ५० हजार, भद्रपुर–२ निवासी केशवकुमार मगरबाट एक लाख ५० हजार, वेलवारी–४ मोरङ निवासी दिनेश धिमालबाट एक लाख ३० हजार, देउमाई–७ इलामका हस्तवहादुर गोलेबाट २ लाख ९० हजार, देवजङ्ग राईबाट एक लाख ४० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।

पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै शुरुमा आफूबाट एक लाख रुपैयाँ लिएको र पछि थप दुई लाख रुपैयाँ लिएको बिर्तामोड–४का अधिकारीले बताएका छन् । रोमानियामा किचन हेल्परका लागि पठाउने भन्दै उनले शुरुमा पेश्की स्वरुप एक लाख रुपैयाँ लिएको र पछि वर्क पर्मिट आएको भन्दै थप दुई लाख गरी मसँग तीन लाख रुपैयाँ लिएका हुन्– अधिकारीले भने ।

म जस्ता धेरैलाई रोमानिया पठाउने भन्दै पराजुलीले ठगी गरेका रहेछन्– अधिकारीले भने – हामीसंगको सम्पर्कमा १४ जना आइसकेका छन् । पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै धेरैलाई घरमै बोलाएर इन्टरभ्यू समेत लिने गरेका थिए । इन्टरभ्यूपछि रोमानियाको भिषा पक्का भयो भन्दै रकम लिने गरेको बताइएको छ । पराजुलीका नाममा विभिन्न वैंकबाट रकम भुक्तानी गरेको कागजात र वैदेशिक रोजगार विभागको पत्रसहित पराजुलीलाई पक्राउ गरिनुपर्ने मागसहित सोमवार पीडित भनिएकामध्ये सात जना इलाका प्रहरी कार्यालय दमक पुगेका थिए ।

पराजुलीलाई पक्राउ गर्दै वैदेशिक रोजगार विभागमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय झापालाई पत्र आएपछि जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकलाई पत्रकार पराजुलीलाई पक्राउ गर्न शुक्रवार नै आदेश दिएको थियो । तर, इलाका प्रहरी कार्यालय दमकले पराजुलीलाई हालसम्म पक्राउ नगरेपछि पीडित आफैं इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । श्रोतका अनुसार पत्रकार पराजुलीले आफ्ना दाजु भाउजू रोमानियामा रहेको र उनीहरुसँग समेत कुरा गराउँदै विभिन्न व्यक्तिबाट रकम असुलेका हुन् ।

रोमानिया पठाउने वहानामा पत्रकार पराजुलीले २०७८ सालमा विभिन्न व्यक्तिबाट मोटो रकम लिएको र लामो समयसम्म उनीहरुलाई रोमानिया नपठाई अल्मल्याउँदै राखेपछि नरेन्द्र तामाङ लगायतले वैदेशिक रोजगार विभागमा उजुरी गरेको बताइएको छ ।

तामाङ लगायतको उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पराजुलीबिरुद्ध पक्राउ पुर्जी जारी गर्दै पक्राउ गर्न र उनी फेला नपरेमा फेला नपरेको प्रतिवेदन पठाउन भनेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले पराजुली झापामा नरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here