विकृत हुँदै परम्परा

१७ श्रावण २०७९, मंगलवार मा प्रकाशित

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दरमा हेरफेर गरिएको भन्दै विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्मालाई छानविन आयोगले चोख्याइ दिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा बैठकमै अनधिकृत व्यक्तिको प्रवेशको आरोप लगाउँदै आपत्ति जनाएको थियो । त्यसअघि नै बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता सम्बन्धी समाचार सार्वजनिक भइसकेको थियो । समाचारसँगै प्रमुख प्रतिपक्षी एमालेको विरोधपछि अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए । सोही विवादको निरुपण गर्न भन्दै गठबन्धन सरकारका तर्फबाट छानविन समिति बनाइएको थियो । समितिले सत्र दिन लगाएर छानविन गर्दै शर्माको निर्दोषिता प्रमाणित गरिदियो । त्यसकै आधारमा उनी पुनः अर्थमन्त्री नै नियुक्त भएका छन् ।

इतिहासमै नभएको गम्भीर आरोप लागेका मानिससँग जोडिएको संवेदनशील घटनामाथिको छानविन समितिमाथि आममानिसलाई भरोसा थिएन नै । र, उसको प्रतिवेदनले पनि त्यही अविश्वासलाई थप पुष्टि गरिदिएको छ । समितिले उठेका सवालहरुको चित्त बुझ्ने एउटा पनि जवाफ नदिएको टिप्पणी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः त्यही पदमा आसिन गराएर ‘सुन पानी झर्किएर’ शुद्ध पारेका छन् । छानविन समितिको छानविनले बजेटमा अनधिकृत व्यक्तिको प्रभावका सम्बन्धमा केही खुलाउन सकेन र प्रतिपक्षी दल एमालेले पनि अर्थमन्त्री शर्मालाई आरोपबाट मुक्त हुन नदिने तथ्य प्रस्तुत गर्न सकेन ।

पञ्चायतकालीन शासन व्यवस्थामा सिंह दरवारमा भएको आगलागीमा नैतिकताको कारण देखाउँदै राजीनामा दिएको घटना छ । त्यस्तै दशरथ रंगशालामा खेलकुद भइरहेका बेला हावाहुरी आएर दर्शकको भागाभाग हुँदा आफूलाई नैतिक जिम्मेवारी ठह¥याई पदबाट राजीनामा दिने विभागीय मन्त्री केशरबहादुर बिष्टको उच्च नैतिकता आजपर्यन्त नेपालीको मनमस्तिष्कमा छ । तर, आज समय, परिस्थिति र मानसिकता फेरिएको छ । आफूले गरेका अपराध लुकाउन व्यक्ति मात्र होइन ऊ सम्बद्ध दल र दल सम्बद्ध गठबन्धन नै लाग्ने संस्कार शुरु भएको छ । त्यसकै निरन्तरता हुनसक्छ यो घटना । त्यसैगरी सत्ता र शक्ति हुनेले ‘सबैका भैंसी मेरै हुन्’ पनि भन्न सक्छ भन्ने उखानको चरितार्थ गरेको छ, बजेट विवादको यो प्रसंगले । सत्तामा टिक्न, जोगाउन जे पनि गर्ने पेशा भनेकै राजनीति हो भन्ने यस्तो व्यवहारले लोकतन्त्रको आयुलाई सुनिश्चित गर्न सक्दैन । यसलाई महान उपलब्धीका नायक भन्ने दलहरु र तिनका नेताहरुले नै अनुभूत गर्न सक्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here