
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसबाट हुने आपराधिक घटनाहरु पनि बढ्दै गएको छ । अहिले दैनिक सयौंको संख्यामा सामाजिक सञ्जाल मार्फत् ठगीमा परेको उजुरीहरु आउने गरेको छ । पछिल्लो समय सोसियल मिडियामा ठगी गर्ने नयाँ तरिका इमेल फिसिङ बढदै गएको पाइन्छ । नेपालमा पछिल्लो समय चिनियाँ नागरिकको लगानीमा कल सेन्टर खुल्ने क्रम बढ्दो छ । ती कल सेन्टरबाट साइबर र आर्थिक अपराध भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । अनलाइन मार्फत डिजिटल वालेट चलाएर धेरैलाई ठगी गरेको अनुसन्धाबाट देखिको छ । प्रहरीले केही दिनअघि बुटवल र काठमाडौंको तीनकुनेबाट इमेल फिसिङ मार्फत ठगी गर्नेलाई पकाउ गरेको छ । पछिल्लो समय नेपालमा बसेर ठूलो संख्यामा चिनियाँ नागरिकहरुले साइबर अपराधसँग जोडिएको गतिविधि गरिरहेको जानकारहरु बताउँछन् । अनलाइन बेटिङ, जुवा, अवैध ऋण लगानी लगायत आर्थिक अपराध हुने गरेको छ । नेपालमा यस प्रकारका साइबर र आर्थिक अपराधको जालोलाई सम्बोधन गर्ने गरी छुट्टै कानूनी व्यवस्था जरुरी छ ।
इमेल फिसिङ भन्नाले दुई जना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेल मार्फत रकमको कारोबार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देश समेत इमेल मार्फत परिवर्तन गरेर रकम ठगी हो । नेपाल प्रहरीको साइबर ब्युरोले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालबाट विदेशमा हुने कारोबारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको देखिएको छ ।‘विदेशबाट सामान आयात गरेर इमेल मार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको विभिन्न घटना परिघटनाहरुले देखाइरहेको छ ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, इन्स्ट्राग्राम गुगल जस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको देखिन्छ । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको कुरा नेपाल प्रहरीको साइबर ब्यरोका तथ्यांकमा हेर्न सकिन्छ । पछिल्लो समय प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने घटनाहरु पनि बढ्दो छ । इमेल फिसिङ’बाट ठगी भएका घटनाहरुका सम्बन्धमा साइबार ब्युरो उजुरीहरु पर्ने गरेको पाइन्छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा प¥यो भनेर एक करोडसम्म ठगी गरेको भेटिएका छन् । यति मात्रै हैन विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ । साइबर अपराधबाट पीडितका कारण मानिस घरवारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको देखिन्छ । विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख वा दुवै सजाय हुने प्रावधान छ । साइबर अपराध सम्बन्धी धेरै उजुरी पर्ने गरे पनि थोरैको मात्र मुद्दा चलाउने गरेको पाइन्छ । साइबर अपराधका घटनाको अनुसन्धान र कारवाही विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत भइरहेको छ । त्यसो त नेपालभरमा भएको साइबर क्राइम सम्बन्धी मुद्दा हेर्ने अदालत काठमाडौं जिल्ला अदालत मात्र हो । विश्वको एक कुनामा बसेर अर्को कुनामा हुन सक्ने साइबर अपराध आफैमा जटिल छ ।
नेपालमा बढदो साइबर अपराधको खतराको सम्भावनालाई पुष्टि हुने किसिमका विभिन्न घटनाहरु पनि देखा परिसकेका छन् । सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मान हानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेका छन् । विदेशमा बसेर नेपालमा सामाजिक सञ्जालमा गलत क्रियाकलापहरु गराउँदै आएका घटनाहरु पनि प्रशस्त छन् । त्यसो त अहिले सरकारले स्मार्ट राष्ट्रिय परिचय पत्रदेखि पेपरलेस मन्त्रीपरिषद् बनाउने काम शुरु गरिसकेको छ । यसको अर्थ, नेपाल डिजिटलाइजेशनको प्रक्रियामा गइरहेको छ । तर, सरकारले डिजिटलाइजेशनको सपना देख्दै गर्दा साइबर सुरक्षालाई ध्यान दिनु आवश्यक छ ।
सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको बिगबिगी केही बर्षयता ह्वात्तै बढेको छ । अझ केही मानिसहरुको लागि त सामाजिक सञ्जाल नकारात्मकता फैैलाउने महत्वपूर्ण क्षेत्र बनेको छ । मान्छेको भावनामा खेलेर होस या ब्लाकमेल गरेर होस, साइबर दुरुपयोग बढ्दो छ । हत्या, बलात्कार होस या लुटपाट नै होस, अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेको पाइन्छ । पर्याप्त साइबर सम्बन्धी ऐन कानून बन्न नसक्दा गम्भीर साइबर अपराध गरेका व्यक्तिहरुले पनि सहजै छुटकारा पाउने अवस्था रहेको छ । त्यसो त नेपालमा साइबर चेतना कै कमी छ ।
नेपालमा चलेका अधिकांश सामाजिक सञ्जालको नियन्त्रण संयन्त्र नेपालसँग छैन । जसकाकारण सामाजिक सञ्जालमा नकरात्मकता फैलाउनेहरुदेखि फेक आइडीबाट ब्लाकमेल गर्न समेत पछि नपर्नेहरु सक्रिय बन्दै गएका छन् । साइबर सेक्युरिटी थ्रेट विश्वभर छ । अहिले एटीएम, अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसमएस बैंकिङका सुविधासँगै गम्भीर चुनौति पनि बढ्न थालेको छ । यस अन्तर्गत उपभोक्तालाई झुक्याएर अर्काको रकम आफूले निकाल्ने, एसमएस तथा इमेल फिसिङ्ग गर्ने क्रियाकलापहरु बढेका छन् ।


























