कृष्ण सिटौलाको संसद यात्रा रोकिए पनि झापा ३ को विकासमा लागिरहने वाचा

९ मंसिर २०७९, शुक्रबार मा प्रकाशित

झापा , मंसिर ९ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपविजेता बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले आफू झापा क्षेत्र नं ३ को विकास र समृद्धिका लागि डटिरहने बताएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसंग दोस्रो पटक पराजित भएका सिटौलाले मतदाताहरुलाई सामाजिक संजालमार्फत धन्यवाद दिँदै चुनावमा हार जीत हुनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।

‘चुनावमा हार जीत त हुन्छ नै। तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन र भविष्यमा पनि रोक्ने छैन। अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को मप्रतिको विश्वास र माया नै मेरो जीत हो। यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ ’ उनले भनेका छन् ।

लोकतन्त्र र गणतन्त्रप्रतिको जनताको आस्था , उत्साह र कर्मशीलताले आफूलाई नेपालको भविष्य सुदृढ र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको भन्दै उनले चुनावको नतिजाले नआत्तिन आग्रहसहित देश सेवामा सँधै जनताको साथमै रहने प्रतिवद्धता जनाएका छन् ।

उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र लिङ्देन एवं प्रदेश सभामा निर्वाचित भूमिप्रसाद राजवंशी र छविलाल चुडाललाई बधाई दिँदै नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न सँधै प्रेरणा मिलिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

कांग्रेस नेता सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट लिङ्देन उम्मेदवार बनेका थिए ।

लिङ्देनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here