युवा ऊर्जाको अवमूल्यन नगर

0
132

युवाशक्ति परिवर्तनको संवाहक हुन् । समाज परिवर्तन होस् वा राष्ट्रिय राजनीतिका आन्दोलन होस् ती सबैमा युवाहरुले जोखिम बोकेर मोर्चा सम्हाल्दै आएका छन् । युवामा नयाँ काम गरेर देखाउने उत्साह पनि हुन्छ र ऊर्जा पनि । उनीहरुमा सरकारात्मकता पनि हुन्छ, नयाँ सोच, नवीन विचारसहित सम्पूर्ण परिवर्तनको उत्कट इच्छा र कर्मशीलता पनि हुन्छ । त्यहीकारण कुनै पनि देशको सामाजिक, आर्थिक राजनीतिक तथा सांस्कृतिक क्षेत्रको परिवर्तनको मोर्चामा युवा वर्गकै निर्णायक भूमिका रहेको छ । युवामा भएको त्यही सकारात्मकता, उत्साह, ऊर्जा, सद्इच्छालाई सदुपयोग गर्न सके समाज र राष्ट्रले अभूतपूर्व अग्रगमनको यात्रा तय गर्न सक्छ ।

हामीकहाँ पनि सबै राजनीतिक आन्दोलनहरुमा युवाहरुकै वर्चस्व रहेको छ । आजसम्मका परितर्वनहरुका वाहक पनि तिनै युवा रहेका छन् भने विद्यमान बेथिति, विकृति, विसंगतिकाबिरुद्ध सामाजिक मुक्ति एवम् प्रगतिका निम्ति युवा पुस्ता नै संघर्षशील रहेको इतिहाससिद्ध तथ्य हो । समाज र राष्ट्रको उन्नति र परिवर्तनका खातिर त्याग गर्न सक्ने साहस, समर्पण र संघर्ष गर्न सधैँ अग्रमोर्चामा रहेका युवाहरुलाई सही दिशा निर्देश गर्न सकिएन भने त्यही शक्ति विनाशक, विध्वंशकारी र विसर्जनकारी बन्न पुग्छ भन्ने बिर्सिनु हुँदैन । त्यहीकारण युवा वर्गलाई उनीहरुमा विद्यमान उत्साह र ऊर्जालाई सही मार्ग देखाएर सुन्दर भविष्य निर्माणको संवाहक बनाइनु पर्दछ ।

भर्खरै सम्पन्न निर्वाचनमा आम मतदाताले प्रकट गरेको मतको सन्देश पनि युवावर्गलाई राष्ट्र निर्माणको महायज्ञमा लगाउनु भन्ने नै हो । त्यहीकारण परम्परागत राजनीतिक दलहरुलाई सचेत मतदाताले ‘साइज’मा राखेका पनि हुन् । कुनै एउटा दललाई बहुमत प्राप्त नहुनु र नयाँ अनुहार विजयी हुनु जनताको परिवर्तनकारी मतको सन्देश हो । तर, दलहरुले भने उनै ‘काम नलाग्ने’ अनुहारहरुलाई संसदीय दलको नेता बनाएर जनभावनाको ‘खिल्ली’ उडाएका छन् । युवाहरुको ऊर्जाशील क्षमता, उत्साह र बलिदानी सेवाको अवमूल्यन गर्दै सत्ता लिप्साको चास्नीमा डुबेर परिवर्तनकामी मतदाताको भावनामा कुठाराघात गरेका छन् । अझ पुरातनवादी सोच भएका, वैशाखी टेकेर सत्ता प्राप्तिको दौडमा सामेल बयोवृद्ध नेताहरुले युवावर्गलाई विदेश पलायन हुन प्रेरीत गरेर अँध्यारो सुदूरभविष्य सुनिश्चित गर्ने दुष्प्रयास गरेका छन् । यदि हाम्रा अग्रजहरुको यस्तै बुद्धि र व्यवहार भइरहने हो भने युवा पुस्ता पलायन मात्र हुने छैन, हाम्रो सुन्दर भविष्य पनि अन्धकारमय हुनेछ । यदि हाम्रा सन्ततिको सुदूर भविष्य सुमन्नत, सुनिश्चित, समृद्ध र सार्थक होस् भन्ने हो भने वर्तमानलाई युवापुस्तासँग जोडेर अघि बढ्ने हिम्मत गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here