छविराज ढकाल / पथरीशनिश्चरे,

नेपाली काङ्ग्रेस बेलबारी नगर कमिटिले विभिन्न विभागहरुमा मनोनित गरेकाहरुलाई हटाउने निर्णय गरेको छ । गत पुस २२ गते सम्पन्न बेलबारी नगर कमिटीको बैठकले यस अघि विभिन्न विभागमा नियुक्ती गरेका व्यक्तीहरुलाई हटाउने निर्णय गरेको हो ।
बुधवार बेलवारीका नगर सभापति छत्र लिम्बुद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तीमार्फत “यस अघि पार्टीलाई चलायमान बनाउन विभिन्न विभागका संयोजकहरुलाई हटाउने निर्णय गरेको हो । यसबाट पर्न जाने असुविधालाई मध्यनजर गर्दै नयाँ जिम्मेवारी तोकिनेछ ।”
विभिन्न विभागहरुमा तोकिएको जिम्मेवारी अनुसार उचित काम नभएको भन्दै पार्टीको बैठक बसी उक्त जिम्मेवारीमा रहने व्यक्तीहरुलाई हटाइएको सभापति लिम्बुले बताउनुभयो ।
नगर सभापतिले नेपाली काङ्ग्रेस विधान २०१७ को (९ औं संसोधन सहित) धारा ९ को उपधारा २ को ‘क” २ ले प्रत्यारोजन गरेको अधिकारभित्र रहेर करिब २ दर्जन विभागहरुमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी तोकिएको थियो ।
यस अघि दीपेन्द्र खुलाल शिक्षा विभाग, कुलप्रसाद बराल सुचना तथा सञ्चार विभाग, बलबहादुर सुब्बा प्रशासन विभाग, विकी मगर कृषि विभाग र सुनिता चौधरीलाई कोषाध्यक्षमा मनोनित गर्दै जिम्मेवारी दिएका थिए । सभापति लिम्बुले ति विभागहरूमा नियुक्त भएका सबैहरुलाई खारेज गरेका हुन् ।


























