बुधबारे ।
बुद्धशान्तिमा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयले ६२औं वार्षिक उत्सव मनाएको छ । नमूना विद्यालय घोषणापश्चात आयोजित वार्षिकोत्सवका सन्दर्भमा तीन वटा नवनिर्मित भवनहरूको उद्घाटन समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोजकुमार प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रसाईंद्वारा नवनिर्मित भवनमध्ये दुईवटा आधुनिक प्रविधिमैत्री भवन र एक चमेना गृह तथा सभाहलसहितको भवन उद्घाटन गरिएको हो ।
माध्यमिक तह इञ्चार्ज हेमेन्द्र खतिवडाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, गाउँपालिका पूर्व अध्यक्ष रमेशकुमार भुजेल र गाउँपालिका शिक्षा विभाग प्रमुख कमलप्रसाद निरौलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष तिवारीले विद्यालयको विगत र वर्तमानको गतिविधि समेटिएको पुस्तिका वाचन गरेका थिए ।
विद्यालयका संस्थापक तथा जग्गादाता दिननाथ ढकाल, शान्ति आदर्श मावि व्यवस्थापन समिति अध्यक्ष शिवकुमार पौड्याल, विद्यालयका सल्लाहकार समिति संयोजक केदारप्रसाद कोइराला, पूर्व विद्यालय निरीक्षक जय भण्डारी, सीतारमेश बहुमुखी क्याम्पसका अध्यक्ष पदम पोखरेल, टिका पाठक, नेत्र रिजाल, नारायण न्यौपाने, बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष चन्द्र उप्रेती, बुधबारे साना सहरी खानेपानी उपाध्यक्ष चन्द्र कोइराला, रामजानकी मन्दिर समिति अध्यक्ष टंक काफ्ले विकल्प लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षकहरू दुर्गामणि मिश्र, उर्मिला कोइराला, ओमप्रकाश सापकोटा, रोशनी पोखरेल, दीपक बुढाथोकी, जीवन भट्टराई, ज्ञानबहादुर धिमाल, टीकाराम खवास, छत्रमणि आचार्य र माधवप्रसाद बराललाई जनही नगद सात हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा गायनतर्फ उत्कृष्ट तीन, एकल नृत्यतर्फ उत्कृष्ट तीन, समूह नृत्यतर्फ तीन, उत्कृष्ट समूह र सान्त्वनातर्फ एकल नृत्यमा एक जना र समूह नृत्यमा दुई समूह पुरस्कृत भएका थिए । त्यसैगरी खेलकुदतर्फ कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरू बीच सम्पन्न भएका विभिन्न १० विधामा ७५ जना उत्कृष्ट र सान्त्वनातर्फ ४१ जना विद्यार्थीहरू पुरस्कृत भएका थिए ।
कार्यक्रमको प्रथम दिन भी.सी. छात्रवृत्ति एवम् प्रतिभा पुरस्कारबाट चार जना, धर्मकुमारी स्मृति छात्रवृत्ति पुरस्कारबाट एक जना, घनश्याम ढकाल स्मृति छात्रवृत्ति पुरस्कारबाट दुई जना, दुर्गाप्रसाद पोखरेल स्मृति छात्रवृत्ति पुरस्कारबाट दुईजना, डा. युवराज खतिवडा छात्रवृत्ति एवम् प्रतिभा पुरस्कारबाट सात जना, श्रीनारायण ओली स्मृति छात्रवृत्ति एवम् प्रतिभा पुरस्कारबाट १० जना, इन्द्रलाल रेणुका स्मृति छात्रवृत्ति पुरस्कारबाट दुई जना, जीवन विद्या स्मृति छात्रवृत्ति पुरस्कारबाट चार जना पुरस्कृत भएका थिए ।
त्यस्तै देवीकुमारी स्मृति छात्रवृत्तिबाट दुई जना, लोकहित साहित्य छात्रवृत्ति पुरस्कारबाट एक जना, कृष्णप्रसाद–विष्णुमाया उप्रेती स्मृति छात्रवृत्ति पुरस्कारबाट दुई जना, लेखनाथ मेनुका पोखरेल छात्रवृत्ति पुरस्कारबाट दुई जना, लीलादेवी पोखरेल स्मृति छात्रवृत्ति पुरस्कारबाट दुई जना, सृष्टिका स्मृति छात्रवृत्ति पुरस्कारबाट दुई जना, महेश्वर–विष्णु प्रसाईं छात्रवृत्ति पुरस्कारबाट दुई जना पुरस्कृत भएका छन् ।
यी छात्रवृत्ति पुरस्कारहरू विद्यालयमा विभिन्न महानुभावहरुले व्यक्तिगत छात्रवृत्ति कोष स्थापना गरेका छन् । त्यसैगरी अन्य महानुभावहरुबाट स्थापित सामुहिक अक्षयकोषको रकमबाट सम्पूर्ण कक्षा प्रथम, द्वितीय, तृतीय, विद्यालय प्रथम, तहगत उत्कृष्ट छात्रछात्रा सहकार्यकलाप उत्कृष्ट, खेलकुद उत्कृष्ट, छात्रछात्रा गरी जम्मा एक सय एक जना विद्यार्थीहरू पुरस्कृत भएका छन् ।
६२औं वार्षिकोत्सवको उद्घाटन सत्रमा विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बुद्ध आदर्श माध्यमिक विद्यालय नमूना विद्यालयमा छनौट, नवनिर्मित भवनहरूको निर्माण र वार्षिकोत्सवबारे औचित्य प्रकाश पारेका थिए । सहायक प्रधानाध्यापक दीपक बुढाथोकीले स्वागत गरेको कार्यक्रमहरु विधागत रुपमा विद्यालयका शिक्षकहरू माधवप्रसाद बराल, लक्ष्मीदेवी न्यौपाने, राजु पौड्याल, ज्ञानबहादुर धिमाल, एनकुमार लावर, नेत्रप्रसाद पोखरेल, सङ्गम भट्टराई र ऋचा संग्रौलाले सञ्चालन गरेका थिए ।