पशुधनको क्षति रोक

0
65

‘सासको धन–गन्दै नगन्’ – बूढापाकाहरुले भन्दै ल्याएको उखान हो । यो भनाइ बेला–बेला चरितार्थ पनि भइरहेको छ । यसबेला कोशी प्रदेशका जिल्लाहरुमा व्यापक भइरहेको महामारीको संक्रमणले पशुधनलाई निर्वाहको माध्यम बनाएका किसानहरु ठूलो क्षति व्यहोर्न बाध्य भएका छन् । ‘लम्पी स्किन’ नामक महामारीको संक्रमणबाट कोशी प्रदेशका झापा, इलाम, उदयपुर, धनकुटा, संखुवासभा, मोरङ लगायतका जिल्लाहरुमा हजारौं गाईवस्तु बिरामी परेका छन् भने झापा र इलाममा मात्रै साढे चार सयभन्दा बढी पशु मरेका छन् । गाईवस्तुको छालामा गोलो गिर्खा आउनु लम्पी स्किनको लक्षण हो । नाक र मुखबाट ¥याल आउनु, उच्च ज्वरो आउनु, झोक्राउनु, खानामा अरुची र दूध घट्नु पनि सो रोगको संक्रमण भएको चिह्न हो । क्याप्री पक्स नामको भाइरसको संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वमा खोप लगाउने प्रचलन रहेको कोशी प्रदेशका वरिष्ठ पशु विज्ञ डा. दीपा दियालीले जानकारी दिएकी छिन् । तर, हामीकहाँ सरकारले त्यसतर्फ ध्यान नदिँदा दूधमा आत्मनिर्भर बनाउन लागीपरेका पशुपालक किसान चिन्तित भएका छन् ।

अफ्रिकामा दश वर्षअघि देखापरेको यो रोगबाट अहिले झापाका सबै पालिकाका गाईवस्तु संक्रमित छन् । भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले झापाका छ हजार चार सय ९५ वटा पशु संक्रमित भएको र ती मध्ये एक सय सोह्र वटा मरेको जानकारी दिए । इलामको समेत जिम्मेवारी भएका भट्टराईले इलामका एक्काइस हजार संक्रमित मध्ये तीन सय ४६ वटा मरिसकेको बताए । भरपर्दो उपचार तथा पूर्व सुरक्षाका लागि खोप उलपब्ध नभएका कारण किसानको लाखौं रुपैयाँको लगानी बालुवामा हालेको पानी सरह बन्ने भएको छ । रोगी पशुको ¥याल, शरीरबाट निस्कने तरल पदार्थ, लामखुट्टे, भुसुनाको टोकाइबाट यो रोग सर्ने भएकाले त्यसप्रति पशुपालक किसानलाई सचेत गराउन पनि जरुरी छ ।

कृषि क्षेत्रलाई अनुदान, प्रविधि र उपकरणको उपलब्धताले कृषकको मनोबल उठाउने सरकारको लक्ष्य छ । त्यही लक्ष्यका आधारमा स्थानीय तहले विभिन्न ढंगले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन करोडौं रुपैयाँ पनि खर्च गरिरहेका छन् । त्यस्तो अनुदान वास्तविक किसानसम्म नपुगेको टिप्पणी पनि हुने गरेको छ । अनि पनि कृषिमा आधुनिकता र उत्पादित बस्तुको बजारसम्मको पहुँचले किसानमा केही उत्साह थपिएको छ । यही सन्दर्भमा खासगरी गौपालक किसानहरुको लागि लम्पी स्किन संक्रमण भय र आर्थिक असुरक्षाको कारण बनिँदा उनीहरुको उत्साह निराशामा परिणत हुनसक्छ । त्यसमा पनि पहाडी जिल्लाका पशुपालक किसानहरुको निर्विकल्प जस्तै रहेको व्यवसाय धराशायी बन्ने अवस्था आएको छ । त्यसैले सरकारकै तहबाट यस्ता महामारीको संक्रमण रोक्न ठोस कदम चाल्नु आवश्यक छ। किसानलाई उचित संरक्षण गर्दै उत्पादित कृषि वस्तुको बजारीकरणतर्फ पनि सरकारको कार्ययोजना, नीति र अग्रसरता देखिनेगरीको हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here