कांग्रेस सांसद सुनिल शर्मा पक्राउ, शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप

२५ श्रावण २०८०, बिहीबार मा प्रकाशित

झापा ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको उच्च स्रोतले पनि शर्मालाई पक्राउ गरिएको जानकारी दिएको छ। ‘उहाँलाई पक्राउ गरिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘हामी छानबिनको प्रक्रियामा छौँ, अहिले थप बोल्न मिल्दैन।’

सीआईबीले नेपाली कांग्रेसका सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाएको छ। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले पक्राउ गरेको हो। मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा शेखर कोइरालानिकट मानिन्छन्।

उनले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा। प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए। शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए।

यसैबीच नेपाली कांग्रेसका सांसद शर्माको पक्राउबारे प्रतिनिधिसभाका सभामुखलाई जानकारी गराइएको छ। सांसद शर्माको पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयलाई जानकारी गराउँदै सभामुखलाई पत्र लेखेको हो। शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here