वि.सं. १९८५/८६ तिर आठराई थुम र याङरुप थुमलाई जोड्ने पुल सुसुलिङ र भालुखोपमुनिको अग्राख भिरमा सिटौला ब्रह्मलालले पुल हाले । पुल बनाउने हुकुम प्रमाङ्गी तत्कालीन श्री ३ भीमशमशेरले दिएका थिए । पुल बनिसकेपछि ब्रह्मलालका छोरा गंगाप्रसाद सिटौलाको प्रतिनिधिमण्डल काठमाडौंमा श्री ३ भीमशमशेरका हजुरमा बिन्ती चढाउन गए । पुल बनेको सुसमाचार सुनेपछि श्री ३ भीमशमशेरबाट ‘तिमी के माग्छौ माग’भन्दा गंगाप्रसाद सिटौलाले समाज उज्यालो पार्ने बत्ती मागेछन् । सोही अनुसार आठराई मूलपानीमा शिक्षाको लागि आधार पाठशालाको स्वीकृति भएछ । त्यो पाठशाला मूलपानीमा स्थापना भयो । वि.सं. १९९२ तिरको कुरा हो यो । त्यो सरकारी आधार पाठशाला नै आठराईको शिक्षाको पहिलो पाठशाला हो । त्यसमा संस्कृत, नेपाली र घर व्यवहारमा चाहिने व्यावहारिक शिक्षा दिइन्थ्यो ।
शिक्षा दिने पहिलो गुरु नरपति पौडेल थिए । पछि उनको सरुवा भएपछि पाँचथर रानी गाउँका पं. परमानन्द खनाल त्यो मूलपानी पाठशालाको गुरु भए । उनले धेरै वर्ष त्यो पाठशालामा अध्यापन गराए । पछि वि.सं. २०११÷०१२ तिर त्यो संस्कृत आधार पाठशाला वि.सं. २००७ मा खुलेका त्रि–मोहन हाइस्कुलमा गाभियो । त्यसमा पढाउने गुरु परमानन्द खनाल पनि त्यही स्कुलमा संस्कृत पढाउन थाले । तर, उनलाई वेतन भने पहिला झैं सरकारबाट प्राप्त हुन्थ्यो । ब्रह्मलाल सिटौलाका छोरा गंगाप्रसाद सिटौलाले पुल बनाएबापत ‘के माग्छौ’ भनी भीमशमशेरले सोध्दा ‘हामीलाई आँखो बक्सियोस् सरकार’ भनेर बिन्ती बिसाएकाले श्री ३ भीमशमशेर खुशी भएर आधार पाठशाला मूलपानीमा दिएछन् । त्यही आँखो नै आठराई थुमको शिक्षाको पहिलो ज्योति बन्यो ।
त्यसपछि वि.सं. २००३ तिर चुहानडाँडामा हरिचरण सिटौला र पं. धरणीधर न्यौपानेले संस्कृत पाठशाला निजी स्रोतबाट खोले । त्यसमा पनि संस्कृत बाहेक नेपाली र घर व्यवहारमा चाहिने व्यावहारिक शिक्षा दिने गरियो । यसरी आठराई थुममा तत्कालीन राणा शासनमा दुई ठाउँबाट शिक्षाको ज्योतिका रुपमा पाठशाला खोलिए । ती ठाउँबाट डिल्लीराम तिम्सिना जस्ता ठूलठूला विद्वानहरु निस्किए । त्यही मूलपानी पाठशालामा वि.सं. २००३ मा निजी स्रोतबाट अंग्रेजी शिक्षाको शुरुवात भयो । त्यसमा पढाउने पहिलो शिक्षक स्व.नारदमुनि शर्मा उप्रेती थिए । उनले त्यो बेला पढाएका छविलाल शर्मा सिटौला र डिल्लीप्रसाद सिटौला नेपालका मान्ने गुन्ने व्यक्ति भएका छन् ।
वि.सं.२००७ को क्रान्तिपछि नेपालमा राणाहरुको जहानियाँ र एकतन्त्रीय शासनको अन्त्य भयो । त्यसपछि त मूलपानी (संग्राती)मा त्रि–मोहन अंग्रेजी स्कुल र चुहानडाँडामा शारदा स्कुल खुले । स्कुल खुले पनि पढाउने शिक्षकहरुको अभाव हुँदा स्कुल सञ्चालक समितिले दुबै स्कुलमा भारतको दार्जिलिङ खर्साङबाट नेपाली मूलका शिक्षकहरु ल्याएर स्कुल सञ्चालन हुन थाले । ती दुबै स्कुलहरु क्रमशः प्राइमरी, मिडिल र हाइस्कुलमा परिणत भए । शिक्षाप्रेमी जनताहरुले मूलपानी र चुहानडाँडामा स्कुल भवनहरु बनाए । बिस्तारै सबैले आधुनिक शिक्षाका लागि आफ्ना सन्तानहरुलाई स्कुलमा पढाउन थाले ।
त्यतिबेला मूलपानी माझघरका सुब्बा भानुभक्त सिटौला र चुहानडाँडाका बद्रीप्रसाद थपलिया काठमाडौंमा जागिरे थिए । उनीहरुकै सक्रिय सहयोग र पहलमा ती दुबै स्कुलले नेपाल सरकारबाट प्राप्त हुने सहयोग स्कुलमा जुटाउने काम गरे । त्रि–मोहन हाईस्कुलको स्वीकृति मूलपानीको लागि भएको थियो । तर, पछि सबैलाई पायक पर्ने ठाउँ संग्राती डाँडामा पर्ने भएकाले मूलपानीका सिटौला र कालिया भागे, पैयाबोटे आदिका विमलीहरुसित सल्लाह गरेर मूलपानीबाट संग्राती डाँडामा स्कुल सारिएको हो । संग्राती डाँडामा पायक पर्ने राम्रो र अग्लो पत्यारिलो स्थान कालिपाका कपिलमुनिका सन्तानबाट जग्गा प्राप्त गरी त्यही ठाउँमा स्कुल भवन बनेको हो । त्यो स्कुल भवन सत्र घर मिलेर बनेको हो । त्यसमा विमलीहरु, सिटौलाहरु, एक घर ओली र एक घर इनाम्फे(इङ्नाम) रहेका छन् ।
संग्रातीको स्कुलको सञ्चालक समितिमा बहिदार गंगाप्रसाद सिटौला भए पनि सेक्रेटरीमा उनका भाइ जनार्दन सिटौला थिए । उनले त्यो क्षेत्रको विकासका लागि आफ्नो जीवनको लामो समय बिताए । संग्राती डाँडामा बजार बसाउन पनि उनको ठूलो योगदान छ । संग्रातीमा बजार बस्यो, स्कुल बन्यो, प्रहरी थाना बन्यो, तर त्यहाँ मुख्य कुरो खानेपानीको अभाव थियो । सुब्बा भानुभक्तले काठमाडौंमा कमलमणि दीक्षित मार्फत रानी जगदम्बाबाट संग्रातीमा मदनधारा बनाउने कार्य गराउने भए । त्यसको पनि सेक्रेटरी जनार्दन सिटौला भए । त्यो बेला अहिले जस्तो पोलिथिन पाइपको चलन थिएन । पानीको नालाका लागि कलकत्ताबाट फलामको योजना अनुसारका पाइप मगाइयो । अहिले जस्तो यातायातको व्यवस्था वि.सं. २०१५ मा पूर्वी पहाडमा थिएन । यातायातका साधन त्यो बेलामा भरियाको पिठ्युँ थियो । कलकत्ताबाट रेल र गाडीमा धरानसम्म ल्याइएका पाइपहरु भरियाले ढाकरमा हालेर पिठ्युँमा बोकेका सामानहरु साँगुरी भन्ज्याङ पुग्ने उकालो, साँगुरी भन्ज्याङपछि धारापानीको ओरालो त्यसपछि लेउती खोलाको किनारैकिनार याकचना (उखुखानेठाँउ) हुँदै तमोर नदीको तिरैतिर ढाकर र पिठ्युँमा फलामका नाला बोकेर भरियाहरुले सिमराहाघाट तरेर कर्कलेको उकालो हिँडेर पसिना काड्दै थोक्लुङ छिँडीको बर हुँदै मूलपानी भएर संग्राती डाँडमा पु¥याए ।
फलामका नाला बोक्ने कठिन काम भरियाहरुले गरे । त्यसपछि सेक्रेटरी जनार्दनले सबै भरियालाई ज्याला दिएर फस्र्याए । तर पानी ल्याउने काम सकिएको थिएन । लिही ढुंगा नजिकैको मूलबाट नालामा पानी ल्याएर संग्राती डाँडामा बनेको सिमेन्टले ढलाइ गरेर बनाएको पानीटंकीमा पानी ल्याएर बजारमा वितरण गर्ने काम अधुरै थियो । त्यो काम पनि सेक्रेटरी जनार्दन सिटौलाले जनसहभागिता जुटाएर सम्पन्न गरे । त्यसपछि त्यसको उद्घाटन गर्न भानुभक्त सिटौलाले काठमाडौंबाट जगदम्बा रानीको प्रतिनिधिका रुपमा कमलमणि दीक्षितलाई लिएर आठराई संग्राती पुगेर वि.सं. २०१५ वैशाख महिनाको अक्षयतृतीयाका दिन मदनधाराको उद्घाटन गरे ।
त्यसपछि संग्राती डाँडाको पानीको संकट ट¥यो । रानी जगदम्बाको समाजसेवा गर्ने भावनाले नेपालको सुदूरपूर्वमा रहेको आठराई संग्रातीमा मदनधारा नामका पानीका धारा बन्यो । त्यही उपलक्ष्यमा बर्सेनी संग्राती बजारमा अक्षयतृतीयाका दिन मदन मेला लाग्ने गरेको छ । उनै भानुभक्त सिटौलाको पहलमा जगदम्बा दातव्य औषधायलय पनि संग्राती बजारमा खुल्यो । त्यस औषधालयले धेरै वर्ष काम ग¥यो । तर, माओवादी द्वन्द्वका कारण त्यो औषधालय बन्द भयो । त्यस्तै रानी जगदम्बाकै नामबाट कमलमणि दीक्षित र भानुभक्त सिटौलाको पहलमा रानी जगदम्बाबाट संग्राती बजारमा एउटा भव्य अतिथि सदन बनेको थियो । त्यसको निर्माण समितिको सेक्रेटरी पनि जनार्दन सिटौला थिए । तर, त्यो भवन पनि माओवादीका कार्यकर्ताहरुले आगो लगाएर स्वाहा पारे । त्यसको केही चिनो समेत अहिले छैन ।
यसरी जगदम्बा रानीको दानबाट बनेको मदनधारा, जगदम्बा औषधालय र जगदम्बा अतिथि भवन मध्ये मदनधारा भने अझै चालू भइरहेको छ । पैसा दिएर उदारभाव राख्ने रानी जगदम्बा, विकासमा खर्च गर्नुपर्छ भनेर रानीलाई सल्लाह दिने कमलमणि दीक्षित, आठराई संग्रातीमा विकास योजना तर्जुमा गर्ने भानुभक्त सिटौला र कार्यक्षेत्रमा खटेर काम गर्ने सेक्रेटरी जनार्दन सिटौला (नेपाले कान्छा) आदि सबै स्वर्गे भइसके । तर, उनीहरुले विकासका क्षेत्रमा छोडेका पदचिन्हहरु आठराई संग्राती बजारमा नमेटिने गरी रहेका छन् र रहिरहने छन् । त्यस्तै जगदम्बा रानीका नाममा बनेका कर्कलेदेखि संग्रातीसम्मका चौताराहरु रानी चौताराले चिनिएका छन् । आठराई संग्रातीको त्यो बेलाका विकासको पर्यायवाचीका रुपमा रहेका माथि उल्लिखित व्यक्तिहरुको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।
त्यति मात्र होइन, सुब्बा भानुभक्तले काठमाडौंमा रहेका केशरशमशेर जस्ता ठूलठूूला राणाहरुलाई विश्वासमा लिएर श्री त्रिमोहन हाईस्कुल तत्कालीन समयमा (वि.सं. २०१५÷१६) माइक, टाइपराइटर, लिथो मेसिन आदिको पनि व्यवस्था गराएका थिए । सुब्बा भानुभक्त सिटौला खाली जागिरे भएर मात्र काठमाडौंमा बसेका थिएनन् उनले त आफू जन्मेको ठाउँको विकासमा तन, मन र धनले सहयोग गरेका थिए भने जनार्दन सिटौला (नेपाले कान्छा)को जीवन नै समाजसेवामा समर्पित थियो । यस्तै यस्ता प्रबुद्ध समाजसेवी, व्यक्तिहरुका कारण आठराई संग्रातीको विभिन्न क्षेत्रमा विकास भएको हो ।
मूलपानी तेम्बेरुङका जनार्दन सिटौलाले त समाजसेवाका लागि आफ्नो अमूल्य जीवनको लगानी गरे । उनी ऐनश्रेस्ता सिक्न निकै समय उनका बाबुका आज्ञाले उनी पनि नेपालमा आएर बसे । तत्कालीन काठमाडौंलाई बाहिरकाले नेपाल भन्ने गर्थे । ऐनश्रेस्ता सिकेका हुनाले उनलाई नेपाले कान्छा भनेर धेरैले चिन्थे । उनले चाहेका भए उनी त्यो बेला निकै ठूला जागिरे हुन्थे । तर, उनले त्यो जागिर खाने बाटो रोजेनन् । उनले त समाजको उन्नति हुने शिक्षण संस्थाको सेक्रेटरी हुन रुचाए । तमोर नदीमा पुल हाल्नेका छोराहरु भानुभक्त सिटौला र जनार्दन सिटौलाले समाजको विकासमा सहयोग गरे । अन्धकारमा रहेका जनतामा शिक्षाको ज्योति फैलाए ।
त्यस्तै गरेर आठराई चुहानडाँडाका हरिचरण सिटौला, धरणीधर पं. न्यौपानेहरुले शुरु गरेको शिक्षा प्रचारको बाटो समातेर वि.सं. २००८ देखि पदमप्रसाद उप्रेतीले शारदा स्कुलका सेक्रेटरी भएर शारदा स्कुललाई प्राइमरीबाट हाईस्कुलसम्म पु¥याउन जनताको सहयोगबाट सफल भए । त्यतिमात्र होइन उनले त वि.सं. २०१६÷०१७ तिर चुहानडाँडामा वीरेन्द्र इन्टर कलेजको स्थापना गर्न सफल भए । त्यो कलेज उद्घाटन द्रोणाचार्य सिटौलाले सम्पूर्ण गाउँबासीहरुका बीचमा गरे । उनले आफ्नो छोरो हरिचरणलाई हेरेर र पदमप्रसाद उप्रेतीलाई हेरेर ‘तिमीहरुले हनुमानले जस्तै द्रोणाचल पर्वतै बोकेर ल्याए जस्तो गरेर यो कलेजको स्थापना गरायौ । यसका लागि यसमा सहयोग गर्ने सबैलाई मुरी मुरी धन्यवाद दिन्छु’ भनेर खुसी व्यक्त गरेका थिए । अहिले त्यो कलेज तेह्रथुम क्याम्पसले चलिरहेको छ ।
आठराईमा स्कुल खुले, कलेज खुले, तर पढाउने शिक्षकहरु भने थिएनन् । त्यसको लागि भारतको दार्जिलिङमा भर पर्नु पथ्र्यो । त्यसकारण सेक्रेटरी पदमप्रसाद उप्रेतीको काम राम्रा राम्रा शिक्षकहरु सित दार्जिलिङमा सम्पर्क गरेर शिक्षकहरु ल्याउने हुन्थ्यो । उनी एकदिन कसरी राम्रा र गुणवान शिक्षकहरु ल्याएर आफ्नो हाईस्कुल र कलेजमा राम्रो शिक्षा दिलाउन सकिन्छ भनेर सदैव चिन्तित रहन्थे । नभन्दै उनको सक्रिय सहयोगमा रामनारायण प्रधान, राजनारायण प्रधान जस्ता गुणवान शिक्षकहरु ल्याउन सफल भए ।
त्यस्तै प्रसिद्ध नेपाली भाषाका समालोचक वामदेव दवाडी र अर्थशास्त्री उमाकान्त झालाई पनि कलेज र स्कुलमा ल्याउन सफल भए । पदमप्रसाद उप्रेतीको जीवनको सपना जपना नै शारदा हाईस्कुल र वीरेन्द्र कलेजको उन्नतिमा थियो र त्यसैमा उनको जीवन बित्यो । त्यस्तै मूलपानी र संग्राती स्कुलका सेक्रेटरी जनार्दन सिटौलाको जीवन पनि संग्राती स्कुलको उन्नति, संग्राती बजारको व्यवस्थापन, मदनधाराको रेखदेख, जगदम्बा औषधालयको हेरविचार, अतिथि सदनको निर्माणमा सारा जीवन बित्यो । उनले पनि त्रिमोहन हाईस्कुलमा राम्रा र योग्य शिक्षकहरु जस्तो विशालकुमार सुब्बा, धर्मानन्द निरौला, पूर्णानन्द शर्मा, केशवराज प्रसाईं, गणेशबहादुर प्रसाईं, रामनारायण सिंह विसे, विरमणि भट्टराई, धनपति (विनोदकुमार) ओली, तेजप्रसाद सिटौला जस्ता प्रतिभा सम्पन्न गुरुहरुको व्यवस्था गरेर स्कुल सञ्चालन गराए । उनले खर्साङबाट नरेन्द्र लामा र गोपाल सिंह (जी.एस.सर), भण्डारी, डिल्ली सिटौला, छविलाल सिटौलाहरुलाई पनि स्कुल शिक्षकमा ल्याए । उनकै पहलमा एसएलसीको केन्द्र पनि त्रिमोहन हाईस्कुलमा आयो । उनकै पहलमा संग्रातीमा छोटी हुलाकको व्यवस्था भएर हुलाकका हाकिम भएर दयानन्द ढकाल आए । पछि उनका भाइ श्रीप्रसाद ढकाल पनि स्कुलका शिक्षक भए ।
वि.सं. २०१२÷१३ तिर जिमदार देवीप्रसाद उप्रेतीले उनको गाउँ सिम्लेमा प्रणामी विद्यालय खुलाए । त्यो विद्यालय मिडिल स्कुलसम्म भएको थियो । त्यो बेला इवा क्षेत्र र पोखरी क्षेत्रका (पछि इवा पञ्चायत र पोखरी पञ्चायत) व्यक्तिहरुको सहयोगमा वि.सं.२०१६ मा देवीप्रसाद उप्रेतीकै अगुवाईमा पोखरीमा जुनियर हाईस्कुल खुल्यो । त्यो स्कुल खोल्नमा होडाका मेदिनीप्रसाद कन्दङ्वा, जगतमणि ओली, रामप्रसाद ओली, त्रिलोचन ओली, श्रीप्रसाद ओली, नारायणप्रसाद ओली आदिको सक्रिय पहल भयो । त्यो स्कुलमा सेतु सुब्बा सभापति, मेदिनीप्रसाद कन्दङ्वा सेक्रेटरी र नारायणप्रसाद ओली उप सेक्रेटरी आदि भएर स्कुलको सञ्चालक समिति बन्यो ।
त्यसमा गंगाप्रसाद प्रसाईं (भान्जाबाबु) र धनपति संग्रौलाको पनि ठूलो भूमिका रहन गएको छ । त्यो स्कुल एक वर्षमा हाईस्कुल भयो । त्यसको शिक्षक व्यवस्थापनमा मदनकुमार थापाको ठूलो भूमिका छ । उनले भारतको दार्जिलिङतिरका योग्य योग्य शिक्षकहरु ल्याएर स्कुल सञ्चालन गराउनुभयो । त्यो पोखरी हाईस्कुलका लागि १९ जिम्माका सुब्बाहरुले लगभग २०० रोपनी जग्गा दान दिएका छन् भने देवीप्रसाद उप्रेतीले झापाको उनको १८७ बिगाहा जग्गा र भान्जाबाबुले लगभग ५० बिगाहा र नारायणप्रसाद ओलीले पाँच बिगाहा पोखरी माविलाई निःशुल्क रुपमा जग्गा दान दिए । त्यसैगरी होडामा पनि २०११ सालमा नै सरस्वती प्राथमिक पाठशाला स्थापना भयो । यस स्कुललाई तत्कालीन समयमा इलाम स्थित पद्मोदय आदर्श विद्यालयमा कार्यरत शिक्षक प्रेमप्रसाद ओलीको पहलमा तत्कालीन डिभिजन इन्सपेक्टर अफ स्कुल सुदुर फाँटका केशवलालजोशीबाट स्वीकृत गराइ त्यस पाठशालाको सभापतिमा जगतमणी ओली र सेक्रेटरीको जिम्मेवारी धनपति (विनोदकुमार) ओलीलाई दिइएको थियो ।
यसरी आठराईको भू–भागमा मूलपानीका सिटौला परिवार, कालिपा भागे, पैयाँबोटेका विमली परिवार, चुहानडाँडाका सिटौला परिवार, न्यौपाने परिवार, उप्रेती परिवार, कन्दङ्वा परिवार, थपलिया परिवार, इवा, पोखरी क्षेत्रका तत्कालीन २२ जिम्मा र १९ जिम्माका सुब्बाहरु र त्यसमा बस्ने उप्रेती परिवार, संग्रौला परिवार, कन्दङ्वा परिवार, ओली परिवार, मिश्र परिवार, मैनाली परिवार आदि मिलेर आठराईमा आधुनिक शिक्षा प्रचारप्रसारको काम तीव्रगतिले अघि बढाए । त्यसपछि क्रमशः ह्वाकु, निगुरादिन, फूलबारी, चोक्पुर, मिचिरिङ, हाङपाङ आदि आठराईका ठाउँमा आधुनिक शिक्षालयहरु खुल्न थाले । यसरी पर्गेलेर हेर्दा आधुनिक शिक्षाको पहिलो ज्योति मूलपानी (संग्राती)बाट, दोस्रो ज्योति चुहानडाँडाबाट, तेस्रो शिक्षाको ज्योति सिम्ले, पोखरीबाट फैलिएको हो । त्यसपछि आठराईका गाउँ गाउँमा फैलिएको हो भन्ने इतिहासले पुष्टि गर्छ ।
आठराई थुममा राणाकालीन अन्धकार युगमा शिक्षारुपी आँखोलाई जनतामाझ पु¥याउन प्रयत्न गर्ने सबै महान व्यक्तिहरु कृतज्ञका पात्र रहन गएका छन् । कारण उनीहरुकै सत्प्रयासबाट आज आठराई क्षेत्रका सर्वसाधारणले शिक्षारुपी आँखाले यो संसारलाई हेर्न पाएका छन् । देशमा एकतन्त्री सामन्ती शासन व्यवस्था चलेका बेलामा पनि तिनै राणाहरुलाई खुशी पारेर आधार पाठशाला खोल्नु र त्यसैका माध्यमले आधुनिक शिक्षाको जग बसाउन सक्नु उनीहरुको कार्यकुशलताको प्रमाण हो । आज ती महान व्यक्तिहरु सशरीर छैनन् । तर, उनीहरुले रोपेका शिक्षारुपी बिरुवाहरु बढेर अहिले झाङ्गिएर आठराइका भेगभरि प्राइमरी स्कुलदेखि क्याम्पससम्म बनेका छन् । उनीहरुको त्यो निःस्वार्थ कर्मले गर्दा आज सरकार पनि शिक्षा क्षेत्रमा उदार देखिएको छ ।
अहिलेको नेपालको शिक्षा प्रणाली व्यवसायमुखी नभएकाले त्यो क्षेत्रमा अध्ययन गरेका प्रबुद्ध वर्गहरु पलायन हुँदै गएका छन् । तथापि त्यस क्षेत्रमा कुनै न कुनै रुपमा शिक्षालयहरु चलिरहेकै छन् । धन्य छन् ती स्वर्गीय व्यक्तिहरु जसले आठराई क्षेत्रको शिक्षाका लागि योगदान गरेका छन्, तिनीहरुलाई आठराईले कहिल्यै पनि बिर्सन हुँदैन । ती महान आत्माहरु सदैव आठराईका शिक्षाका क्षेत्रको स्मृतिपटलमा सदा रहनेछन् । आज त्यस क्षेत्रमा पनि कता कता साम्प्रदायिक गन्ध देखिन थालेको आभाव हुँदैछ । तर, हाम्रा ती महान व्यक्तिहरुले ‘सर्वे भवन्तु सुखिन’को भावना लिएर स्कुल, कलेजहरुको व्यवस्था गरेका थिए । त्यस्ता महान आत्माहरु सदैव पुजनीय र बन्दनीय छन् र रहिरहनेछन् । त्यही शिक्षाको कारणले आज नेपालको प्रमुख कार्यकारी प्रधानमन्त्रीदेखि प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म, निजामती, जंगी र न्याय क्षेत्रका उच्च पदस्थ कर्मचारीसम्म, विभिन्न तह र तप्काका डाक्टर, इञ्जिनियर, लेखक, प्राध्यापक, कवि साहित्यकारसम्म बनेर विभिन्न तह र तप्कामा पुगेका छन् ।
अशिक्षारुपी अन्धकारमा रहेको भरिया र ढाक्रेहरुको हूल रहेको गाउँमा शिक्षारुपी दियो बाल्ने ती महान विचारक र दूरदर्शी सम्पाती दृष्टि भएका आठराईका ती सत्पुरुषहरु उनका निःस्वार्थ कामले गर्दा आज अमर भएका छन् । आफ्नो समयका रुपौलो यौवन, समाज सेवामा लगाउने ती त्यागीहरु व्यक्तिहरु धन्य छन् । त्यस्तै आजको समयमा लाखौं करोडौं रुपैयाँ पर्ने जमिनहरु शिक्षण संस्थाहरुलाई दान दिने दानवीरहरु आजको समाजले प्रातःस्मरणीय ती व्यक्तिहरु हुन् । तिनका बारेमा बोलेर वा लेखेर मात्र पुग्दैन, त्यो अन्धकारमय समयमा कल छल बल सबै तरिका अपनाएर त्यो सुदूरपूर्वमा रहेको मूलपानी चुहानडाँडा, पोखरी, सिम्ले, होडा आदि स्थानमा शिक्षारुपी दियो बाल्न सफल ती महान आत्माहरुलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । तिनको कर्मले आज प्रकाशित आठराईका ठूला साना सबै मानिसहरुमा सच्चा चेतनाको लहर फैलिरहोस् भन्ने कामना गर्दछु र जय आठराई भन्न चाहन्छु । अस्तु ।