भद्रपुरलाई उज्यालो नगर बनाइँदै, ५ सय सेन्सर एलइडि लाइट जडान गरिँदै

0
8

भद्रपुर ।

भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडि लाइट जडान कार्यको सुरुवात गरिएको छ ।

भद्रपुरका १० वटै वडामा एलइडि लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा नम्बर १ (साबिक पृथ्वीनगर) देखि जडान कार्यको सुरुवात गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । हिमाली चोकमा १ नम्बर वडाअध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका सो अभियानको सुरुवात नगर प्रमुख पोखरेल र उपप्रमुख राधा कार्कीले गरेका थिए ।

उनीहरूले विद्युतका कर्मचारीलाई एलइडि लाइट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । मेची राजमार्ग अन्तरगत भद्रपुर १ को कचनकवल गाउँपालिका सीमादेखि झापाचोक, चन्द्रगढी बजार हुँदै देउनियाँ पुलसम्म सेन्सर एलइडि लाइट ५० वाटको जडान गरिँदैछ । कचनकवल गाउँपालिका देखि सीता चोकसम्म एलइडि लाइट जडान कार्य पूरा भइसकेको नगरपालिकाका जिन्सी प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

पहिला सडक पोलमा २० वाटको एलइडि लाइट जडान गरिएको थियो । अहिले ५० वाटको सेन्सर एलइडि लाइट जडान गरिँदै छ । ‘यो लाइट साँझ परेपछि आफै बल्ने र बिहान भएपछि आफै निभ्छ,’ जिन्सी प्रमुख श्रेष्ठले भने । नगरपालिकाले पहिलो चरणमा ५ सय लाइट खरिद गरेको छ ।

कन्स्ट्रक्सन सप्लाई नेपाल प्रालि दुहबीले भ्याटसहित १७ लाख ५१ हजार ५ सय रुपैयाँमा लाइटको ठेक्का पारेको हो । एउटा लाइटको भ्याटसहित ३ हजार ५०३ रुपैयाँ परेको छ । लाइटको वारेन्टी दुई वर्ष रहेको उनले बताए । मेची राजमार्गमा लाइट लगाएपछि दोस्रो चरणमा हुलाकी राजमार्ग अन्तरगत झापा चोकदेखि हल्दिबारी गाउँपालिकाका सिमानासम्म लगाइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here