किच्चकबध संरक्षणमा सरकार उदासीन, फेला प¥यो भवनको भग्नावशेष

0
8

पार्थ मण्डल,
भद्रपुर।

पुरातत्व विभागले महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल किचकबधमा सातौँ पटक उत्खनन सम्पन्न गरेको छ ।

विभागले सातौँ पटकसम्म उत्खनन गर्दासम्म पनि किचकबध स्थलको अझै संरक्षण भएको छैन । भद्रपुर नगरपालिका वडा नं. २ र ३ को सीमासँग जोडिएको किचकबधमा २२ सय वर्ष पुरानो ऐतिहासिकता दर्शाउने खालका भग्नावशेषहरु फेला पर्दै आएको छ ।

देउनियाँ खोला किनारको डाँडामा १० बिगाह क्षेत्रफल फैलिएको किचकबधमा पुरातत्व विभागको नजर २०५८ सालमा परेको थियो । २२ वर्ष भइसक्दा पनि किचकबधको संरक्षणमा सरकारी निकाय उदासीन देखिएको छ । ‘उत्खनन गरिएको क्षेत्रको ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्ने हो,’– पुरातत्व विभागका अधिकृत नवीन अधिकारीले भने – ‘सवारीसाधन निर्वाध रुपमा संरक्षित क्षेत्रमा प्रवेश गरिरहेकाा छन्, त्यसलाई तत्काल रोकेर खुला बाटाहरू बन्द गरिनुपर्छ ।’

पुरातत्व विभागका कर्मचारी आएर किचकबधको संरक्षण गर्न सम्भव नभएको बताउँदै अधिकृत अधिकारीले भने –‘यसको निम्ति किचकबधको आफ्नै समिति छ, स्थानीय सरकार छ, स्थानीय सरोकारवाला छ, उनीहरूले नै यसको संरक्षणमा जागरूकता देखाउनु पर्ने आवश्यकता महशुस गरेको छु ।’

यो स्थल भद्रपुर नगरपालिकाको सम्पत्ति हो । पुरातत्व महत्वको दृष्टिकोणले यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि कार्य योजना बनाएर अघि बढ्नु पर्ने बेला आएको भन्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भने –यहाँ धेरै वर्ष पुरानो ऐतिहासिकता झल्काउने खालको संरचनाहरू फेला परेका छन् । यसको संरक्षण गर्ने, अझै उजागर गर्ने, आकर्षणको केन्द्रबिन्दु बनाउनु पर्छ भनेर नगरपालिकाले मेची बहुमुखी क्याम्पससँग सहकार्य गरेर अघि बढ्ने बताउँदै नगर प्रमुख पोखरेलले भने – ‘क्याम्पसमा यस सम्बन्धी पढाइ पनि हुन्छ, त्यहाँ एउटा रिसर्च सेन्टर पनि छ, उहाँहरूसँग सहकार्य गर्ने भनी कार्य योजना बनाएर अघि बढिसकेका छौँ ।’ साथै नगरपालिका पुरातत्व विभाग, प्रदेश सरकार र सङ्घीय सरकारसँग पनि सहकार्य गरेर यसलाई जोगाउन अघि बढ्ने उनको भनाइ छ ।

यो पुरानो धार्मिक तथा पौराणिक इतिहाससँग जोडिएको कारणले यसको संरक्षण र सम्वद्र्धन गर्न अब ढिला नगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको भद्रपुर –२ नम्बर वडा अध्यक्ष राम कँडेलले बताए । वडा कार्यालयले निरन्तर यहाँको समितिसँग सहकार्य र छलफल गरिरहेको बताउँदै उनले भने– ‘यो नगरको एउटा गहना हो, धार्मिक, पर्यटकीय र पुरातात्विक महत्व बोकेको यस क्षेत्रको विकास र उन्नतिका लागि सबै लाग्नुपर्छ ।’

किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेका अनुसार किचकबधलाई जिल्लाको मात्र नभई देशकै उत्कृष्ट गन्तव्य बनाउन १ अर्ब ५३ करोड ६० लाख बराबरको गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजना पुरातात्विक विभाग र पर्यटन मन्त्रालयमा समेत पेश गरिएको थियो । तर बजेट अभावमा यसको संरक्षण र सम्वद्र्धनमा काम गर्न नसकेको उनले बताए । यो गुरुयोजना पनि कागजमै सीमित हुन पुगेको उनको भनाइ छ ।

यस पटक भवनको भग्नावशेष फेला

किचकबधमा ऐतिहासिकता दर्शाउने एउटा भवनको भग्नावशेष फेला परेको छ । अर्को पनि एउटा भवनको पूर्ण भाग फेला पर्ने सम्भावना रहेको पुरातत्व विभागले जनाएको छ । विभागले चैत १ गतेदेखि सातौँ पटक उत्खनन शुरु गरेको हो ।

यस पटक गरिएको उत्खननबाट ऐतिहासिकता दर्शाउने एउटा भवनको भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले बताए । पुरानो मन्दिर भएको स्थानमुनि अर्को पनि एउटा भवनको पूर्ण भाग फेला पर्ने सम्भावना रहेको पुरातत्वविद् आचार्यको दाबी छ । उत्खनन गर्दै जाँदा अझै पुराना केही प्रमाणहरू फेला पर्ने सम्भावना पनि रहेको उनले बताए । उत्खनन गरिएका अधिकांश स्थानमा सेक्युरिटी पोष्ट (सैनिक भवन) चाहिँ फेला परिसकेको बताउँदै उनले भने– ‘त्यस बेला सामान्य मान्छे त पक्कै पनि यहाँ बस्दैन थियो होला ? को बस्थ्यो भन्ने यकिन प्रमाण चाहिँ अझै फेला नपरिसकेको अवस्था छ ।’ यसलाई महाभारतकालीन किंवदन्तीसँग जोडिएको स्थल भनेर भन्ने गरिन्छ । अहिलेसम्मको उत्खननले त्यसलाई पुष्टि गर्ने आधार र प्रमाण फेला परेको छैन । ‘उत्खनन गर्दै जाँदा महाभारतकालीन किंवदन्तीसँग जोडिएको प्रमाण फेला परेमा मात्र यसलाई पुष्टि गर्न सकिन्छ,’ –उनले भने ।

यी संरचनाबाट धेरै पुरातात्विक सामग्री फेला परेका र तिनीहरूको कार्बन परीक्षण लगायतका परीक्षणबाट यो स्थल इसापूर्व भारतमा शुंग–कुषाणकाल र नेपालमा किराँतहरूको शासन अर्थात् १ सय २० देखि २०० इसापूर्वको अर्थात् आजभन्दा २२ सय वर्ष पुरानो पुष्टि भएको उनको भनाइ छ । मेरै नेतृत्वमा विसं २०५८ सालमा पहिलो पटक उत्खनन गरिएको बताउँदै पुरातत्वविद आचार्यले भने,– ‘२०५९ र २०६० सालमा निरन्तर उत्खनन भएको थियो, त्यसपछि द्वन्द्वको कारणले उत्खनन रोकियो, फेरि २०६६ देखि २०७२ सम्म उत्खनन भएको थियो, अहिले ८ वर्षपछि फेरि उत्खनन गर्न मेरै नेतृत्वमा टोली आयो ।’

यस अवधिसम्म यहाँ उत्खनन गर्दा दरबारको भग्नावशेष, किल्ला, पर्खाल, वाण, ढुङ्गाका भाँडाकुँडा, माटाका मूर्तिहरू र इँटा जस्ता पुरातत्विक वस्तु फेला परिसकेको छ । २०५९ मा पहिलो पटक उत्खनन गर्दा स्वस्तिक चिह्न भएको माटाको इँटा समेत यहाँ फेला परेको उनले बताए । यस पटकको उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकोले यी सबै रुख हटाउनु पर्ने, अहिले कायम रहेको क्लबको हल हटाउनु पर्ने, पुरानो किचकबधको मूर्ति स्थानान्तरण गर्नुपर्ने देखिएको बताउँदै पुरातत्व अधिकृत अधिकारीले भने– ‘यो हटाएपछि आठौँ उत्खननलाई पनि निरन्तरता दिन सरकारसँग बजेट माग गरेका छौँ, आठौँ उत्खननमा पनि केही ऐतिहासिक भग्नावशेष फेला पर्ने प्रबल सम्भावना चाहिँ छ ।’

यो स्थल गुप्तकाल अर्थात् इसाको पाँचौँ शताब्दीसम्म कायमै रहेको र यस क्षेत्रमा पाँचौँ शताब्दीमा आएको शक्तिशाली भूकम्पले सबै ध्वस्त भएकोले खण्डहरमा परिणत भएको अनुमान फ्रेन्च भूगर्भविद् सहितको एउटा टोलीले केही वर्ष अघिको अध्ययन भ्रमणमा गरेको बताइएको छ ।

यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहास विषयका प्राध्यापक घनश्याम खनालको अगुवाइ इतिहासका विद्यार्थीले यस क्षेत्रमा उत्खनन गरेका थिए । त्यस वेला पुराना माटाका भाँडा, ठूला आकारका लुम्बिनीमा पाइएका जस्ता चेप्टा इँटालगायतका पुरातात्विक सामग्री फेला परेको क्याम्पसका पूर्व प्रमुख चिन्तामणि दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here