उर्लाबारी,
पूर्वोत्तर मोरङको उर्लाबारीमा प्रहरीमाथि कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् भने ११ जना अझै फरार रहेका छन्।
आजसम्म १ जना नावालकसहित तेह्रथुम जिल्ला म्याङ्गलुङ नगरपालिका वडा नम्बर ४ पिप्ले घर भई हाल उर्लावारी- ६ बस्ने २६ वर्षिय विरेन्द्र बजगाँइ , वडा नम्बर ६ निवासी २७ वर्षिय ‘सेमन्त’ उर्फ सविन निरौला र ३१ वर्षिय मौसम राई पक्राउ परेका हुन् ।
उनीहरुलाई डियूटीमा रहेका प्रहरीमाथि कुटपिट तथा सार्वजनिक सम्पति तोडफोड गरेको अभियोगमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका हुन्। मौसमबाहेक अन्य अभियुक्तहरुलाई गत असार २३ गते पक्राउ गरिएको थियो भने मौसमलाई शनिबार साँझ ७ :३० बजे पक्राउ गरिएको प्रहरी निरिक्षक दासले बताउनुभयो ।
यस्तै, उनले सो अभियोगमा अन्य ११ जना भने फरार रहेको बताएका छन्। उनीहरुलाई आपराधिक उपद्रव मुद्धा दर्ता गराई मोरङ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको निरिक्षक दासले जानकारी दिनुभयो ।
यस्तो रहेछ घटना:
गत असार १७ गते सोमबार साँझ उर्लाबारी -मधुमल्ला सडकखण्डमा वडा नम्बर ६ सिसौलीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट स्कुटरमा सवार गोपाल चोक निवासी टिका बोहोराको घटनास्थलमै मृत्यु भयो ।
दुर्घटनामा परि सोहि स्कुटरमा सवार बोहोराको ६ वर्षिय छोरा प्रशान्त बोहोरा समेत घाईते बने । घटनापछि साँझबाट उर्लाबारी चोकक्षेत्र तनावग्रस्त बनेको थियो। स्थानियको भीडले २ जना प्रहरीमाथि पनि कुटपिट गरेको थियो ।
सो दुर्घटनास्थलमा सिभिल ड्रेसमा पुगेको प्रहरीले तत्काल बोहोरालाई उठाएर मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारको लागि लैजाने क्रममा थिए । त्यहीँ स्थानियसँग विवाद हुदाँ ति २ जना प्रहरी घाईते बनेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।