भौतिकवादभित्र मानवतावाद खोज्नुपर्ने

0
16

सार :

भौतिकवाद र मानवतावादबारे धेरै विज्ञहरूका आ–आफ्ना धेरै विस्तृत दृष्टिकोणहरू छन् । तर, यस लेखमा भौतिकवादको प्रभाव र मानवतावादको उपयोगितालाई छोटकरी विचार राख्न खोजिएको छ । भौतिकवाद भौतिक सुख–सुविधाहरू हुन् । मानवतावाद मानिसका लागि कल्याण र अधिकारहरू हुन् । भौतिकवादले जीवनको लक्ष्य वस्तुको सञ्चय गर्नुलाई सम्बोधन गर्छ भने मानवतावादले जीवनको लक्ष्य व्यक्तिगत र सामूहिक उन्नतिलाई जोड दिन्छ । भौतिकवादमा स्वार्थ र प्रतिस्पर्धा रहन्छ । मानवतावादमा सहयोग र समानता रहेको हुन्छ । भौतिकवादले तनाव, इष्र्या र असन्तुष्टी बोकेको हुन्छ । मानवतावादले शान्ति, खुशी र सन्तोषलाई आत्मसात गरेको हुन्छ । यसप्रकार भौतिकवादको सकारात्मक प्रभाव र मानवतावादलाई खोजेर गरेर अगाडि बढ्नु जरुरी छ । भौतिकवादको नकारात्मक प्रभावबाट अलग रहेर मानवतावादको मान्यतालाई अनुशरण गर्दा जीवनले शान्ति, खुशी र सन्तोष पाउने निश्चित हुन्छ । व्यक्ति, परिवार, समाजमा सबैको गुणस्तरीय जीवन बिताउन सफलता मिल्छ ।

भौतिकवाद र मानवतावाद:

भौतिक सम्पत्तिहरू, सुख–सुविधा र सांसारिक वस्तुहरूको प्रयोग तथा विनिमय भौतिकवादभित्र पर्दछन् । भौतिकवादले जहिले पनि मानिसको धन सम्पत्ति र सुख–सुविधालाई नै जोड दिन्छ । मानवतावादमा मानवीय मूल्य, नैतिकता र अस्तित्व समेटिएको हुन्छ । मानव अधिकारहरूको संरक्षण र सम्बद्र्धनको सिद्धान्तलाई मानवतावादले आत्मसात गरेको हुन्छ । वर्तमान युगमा भौतिकवादले मानवताको आधारभूत मूल्यहरूलाई अनेक तरिकाले प्रभाव पारिरहेको हुन्छ । आज धेरै मानिसहरू प्रविधि र भौतिक सुखमा अति निर्भर छन् । प्रविधिको विकास र आधुनिक समाजमा जीवनस्तरको उन्नति जस्ता कुराहरू भौतिकवादका सकारात्मक प्रभावहरू हुन् ।

अणु, परमाणुबाट निर्माण भएको मानिस र मानिसको वरिपरिको वातावरण सबै भौतिकवाद हो । मानिसको मूल्य, मान्यतामा फरक मत राख्ने प्राचिन समयका चार्वाकको सिद्धान्तले पृथ्वी, जल, वायु र प्रकाश (सूर्य)लाई चार महाभूत भनेको छ । यी महाभूतबाट मनुष्यको पनि निर्माण भएको भनाइ छ । यो महाभूतको संरचना अणु, परमाणुबाट नै हो भन्ने छ । उनको मतले मानिसलाई बाँचुञ्जेल सुखसयल, मोजमस्ती गर्नु । नपुगे ऋण नै गरेर पनि खाने पिउने र मोज गर्नु भन्ने शिक्षाले भौतिकवाद विचारलाई आत्मसात गरेको देखिन्छ । मानिसको जीवनलाई विलासी सुविधामा केन्द्रित गर्नु, सम्पत्ति जम्मा गर्नु, अरुले देखिने गरी सुविधा प्राप्तिमा होडबाजी गर्नु भौतिकवादले सृजेका क्रियाकलापहरू हुन् । भौतिकवादमा मानिसको मर्यादा र सम्मान, जम्मा गरेको सम्पत्ति र सम्बन्धहरू विलासितामा आधारित रहेको हुन्छ । यसले मानवको क्षमताले सके जति, भ्याए जति सुविधा लिने र सुविधाको सुखभोग गर्ने कुरालाई जोड दिएको हुन्छ । व्यक्तिगत लाभ र सम्पत्तिमा केन्द्रित सोच, प्रविधि र भौतिक सुखमा अति निर्भरता भौतिकवादमा रहेको छ ।

मानिसको प्राथमिकता भौतिक सम्पत्ति र सुविधामा केन्द्रित हुँदै गएको छ । यस किसिमको होडबाजीमा सामाजिक विभेदहरू झन्–झन् मौलाउने र फेशनको रुपमा व्यापक हुँदै गएको हुन्छ । तर, यस भौतिकवादी प्रवृत्तिमा मानवीय मूल्यहरू हराउँदै गएको महशुस हुन्छ । अझ यो ग्रामिणस्तरमा भन्दा शहरीस्तरमा व्यापक छ । शहरमा भौतिक विकासका कारण भौतिक सुविधा धेरै भएको हुन्छ र मानिसहरू त्यसको उपभोग गर्न होडबाजीमा हुन्छन् । यस्ता होडबाजी अहिले ग्रामीण स्तरसम्म पुगेको छ । यस्ता होडबाजीमा दुई वर्गका मानिसहरू हुन्छन् । एउटा सम्पन्न (धनी) र अर्को विपन्न (गरीब) । धनी र गरीबबीच ठूलो खाडलको सृजना हुन्छ । अहिले यसलाई आर्थिक विभेदमा सम्बोधन गर्ने गरिन्छ । आर्थिक विभेदलाई सुल्झाउन कार्ल माक्स (१८१८–१८८३)ले पनि धेरै मेहनत गरेको देखिन्छ । हुन त कार्ल माक्स भौतिकवादी दार्शनिक भए पनि त्यसभित्र मानवतावादको उनको खोजी भने सबैका लागि आकर्षक छ ।

भौतिकवादमा जहिले नाप्न सकिने, देख्न सकिने, छुन सकिने र तुलना गर्न सकिने मूल्यहरू रहेका हुन्छन् । जसले गर्दा एकबाट अर्को फरक हुने वा दूरी हुने अवस्था आउँछ । यस अवस्थामा करुणा, मैत्री, दया, माया र दानका कुराहरू गौण हुन्छन् । भौतिकवादमा पुँजीको होडबाजी हुन्छ । त्यस्तो होडबाजी अहिले नेपाली समाजमा देखिन थालेको छ । उदाहरणको लागि नेपालमा विश्वविद्यालय हुँदाहुँदै इज्जत, सम्पत्ति र सुविधा जम्मा गर्न सकिने लोभले विदेशको विश्वविद्यालयमा पुँजी लगानी गरी उच्च शिक्षा हासिल गर्ने चलन चलेको देखिन्छ । यो केबल जीवनको मूल्यलाई माया मारेर आफूलाई साधनको रुपमा रुपान्तर गरी कठोर परिश्रमलाई भौतिकवादको चक्करमा साटेको देखिन्छ ।

भौतिकवादमासेवालाई समेत वस्तुको मूल्यसँग तुलना गरिन्छ । उदाहरणका लागि चिकित्सकको सेवालाई सौदाबाजी गरिन्छ । विरामीको उपचार गर्दा सेवाशुल्क लिइने र त्रुटी, भवितव्य हुँदा बदला लिइने वा क्षतिपूर्तिसँग सेवालाई सौदाबाजी गरिने यी सबै वस्तुको मूल्य जतिकै हुन । यो पनि भौतिकवादको प्रभाव हो भन्न सकिन्छ, जहाँ मानवीय मूल्य नै शून्य हुन्छ ।

त्यस्तै अर्को उदाहरणको रुपमा विवाह, पार्टी, भोजभतेर वा दुरसेवनमा देखासिखीले अनावश्यक लगानी र खर्च गर्ने चलन छ । यो बाध्यता होइन, यो केवल भौतिकवादले पारेको प्रभाव हो । विज्ञापन मानिसको वास्तविक आवश्यकता होइन, यसले कृत्रिम सिर्जना गर्छ । उदाहरणका लागि विवाह, पार्टी, भोजभतेरका लागि महँगा गहना खरिद गर्दा मानवीय आवश्यकता पुरा हुँदैन, केवल सामाजिक प्रतिस्पर्धा बढ्छ । यी कुराहरू आधुनिक युगको नाममा भौतिकवादले पारेको प्रभाव नै हो । नेपाली समाजमा मानवीय मूल्य, मान्यता छ । अझ ग्रामिणस्तरमा त झनै रहेको हुन्छ । यसकारण नेपाली समाजमा भौतिकवादभित्र मानवतावाद खोज्न सकिन्छ ।

मानवतावाद र यसका विशेषता :

मानवतावाद भनेकोमानव केन्द्रित दृष्टिकोण हो । जसले मानव जीवन, स्वतन्त्रता र व्यक्तिगत क्षमतालाई उच्च प्राथमिकता दिन्छ । यो विचार प्राचीन युनानी तथा रोमन सभ्यतामा जरा गाडेको छ र पुनर्जागरण कालमा अत्यधिक लोकप्रिय बन्यो । यसको मूल उद्देश्य मानवीय मूल्य, वैज्ञानिक अनुसन्धान र तर्कको प्रयोगद्वारा मानव जीवनको गुणस्तर सुधार गर्नु हो । मानवतावादमा मानिसको ज्ञान, क्षमताहरू र संवेदनशीलतालाई केन्द्रमा राखिन्छ । यसले मानव जातिको समस्याहरूको समाधान मानव स्वयम्को प्रयासबाट सम्भव छ भन्नेमा विश्वास गर्दछ । यसले प्रत्येक व्यक्तिको स्वतन्त्रता, सम्मान र आत्म–सम्मानलाई संरक्षण दिनुपर्छ भन्ने मान्यता राख्दछ । यो व्यक्तित्व विकास र मानव अधिकारको प्रवद्र्धनमा केन्द्रित छ । अन्धविश्वास र धर्मका परम्परागत मान्यता भन्दा तर्कसंगत सोच, प्रमाण र वैज्ञानिक अध्ययनको प्राथमिकतालाई यसले स्वीकार गर्दछ । नैतिकता कुनै धार्मिक परम्पराबाट आउँदैन, यो मानवताको कल्याण र व्यक्तिगत जिम्मेवारीमा आधारित छ । मानवबीच सहानुभूति, करुणा र न्यायलाई प्राथमिकता दिनु मानवतावादको इथिक्स (नैतिकता) हो ।

मानवतावादको विकास :

प्राचीनकालमा सोक्रेट्स, प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरूले मानवतावादको आधारशिला खडा गरेको देखिन्छ । उनीहरूले मानवीय ज्ञान र नैतिकताबारे गहन अध्ययन गरेका थिए । पुनर्जागरणकाल १४औं शताब्दीमा मानवतावाद फस्टायो । यो समयमा व्यक्तिको शिक्षा, कलात्मक क्षमता र मानव अधिकारलाई जोड दिइयो । आधुनिक मानवतावाद धर्मनिरपेक्ष र वैज्ञानिक दृष्टिकोणको प्रतिक बन्यो । मानवतावादलाई दुई प्रकारमा हेर्न सकिन्छः एउटा धार्मिक मानवतावाद र अर्को धर्मनिरपेक्ष मानवतावाद । मानव मूल्यहरूको प्रवद्र्धनसँगै धर्मलाई पनि मान्यता धार्मिक मानवतावादले दिएको हुन्छ । त्यसैगरी धार्मिक मान्यताहरूलाई त्यागेर पूर्ण रुपमा वैज्ञानिक, तर्कसंगत र मानवमूलक दृष्टिकोणलाई अंगाल्ने काम धर्म निरपेक्ष मानवतावादले गर्दछ ।

मानवतावादले मानिसलाई भौतिकवादको झन्झटबाट बाहिर निस्कन मद्दत गर्दछ । मानवतावाद मानव जातिको प्रगतिका लागि अत्यन्त महत्वपूर्ण विचारधारा हो । यसले मानिसहरूलाई आफ्नो जीवनप्रति जिम्मेवार बनाउँछ र मानव कल्याणको लागि ज्ञान, नैतिकता र तर्कसंगत सोचको महत्वमा जोड दिन्छ ।

मानवतावाद सनातन व्यक्तित्वहरूको विचार र दर्शनमा पनि पाउन सकिन्छ । त्रेतायुगका महापुरुष राम, द्वापरयुगका कृष्ण, कलयुगका महावीर (इ.पू.५९९–इ.पू.५२७) र गौतम बुद्ध (इ.पू.५६३–इ.पू.४८३) जस्ता महामानवहरू सम्पूर्ण मानव कल्याणका लागि पैरवी गर्ने मानवतावादी थिए भन्नमा कुनै अतियुक्ति नहोला । भौतिकवादबाट मानिसलाई कसरी बाहिर ल्याउन सकिन्छ र जीवनलाई गुणस्तर बनाउन सकिन्छ भन्ने कुरामा उहाँहरू आ–आफ्नै तरिकाले अगाडि बढेको देखिन्छ । पछिल्लो समय अर्थात् पहिलो शताब्दीमा जिसस क्राइस्ट (इ.पू.४–३३ इ.), सातौं शताब्दीतिर हजरत मोहम्मद (५७०–६३२)ले पनि मानव कल्याणका लागि त्याग र वलिदान गरेका थिए । उहाँहरूलाई पनि मानवतावादीको रुपमा लिन सकिन्छ । छैठौं शताब्दी इ.पू. ताओले चीनमा स्थापित गरेको ताओइज्ममा प्रशस्त मानवतावादी व्याख्याहरू पनि देख्न सकिन्छ ।

कृत्रिमतालाई छोड, तुलना गर्नुभन्दा माथि उठेर हेर भन्ने जस्ता उपदेशले उहाँलाई पनि मानवतावादी भनेर उल्लेख गर्न मनासिव देखिन्छ । आधुनिक समयको २१औं शताब्दीमा मानवतावादलाई मानव कल्याणका लागि स्थापित गर्न भियतनामी थिच न्ह्यात ह्यान (१९२६–२०२२)ले इन्गेज बुद्धिज्म, ग्रीन बुद्धिज्मको माध्यमबाट पश्चिमी मुलुकहरूमा माइन्डफुलनेस र विपश्यना ध्यानलाई व्यापक प्रचारमा ल्याएका थिए । २०औं शताब्दीमा भारतमा डा. अम्बेडकर (१८९१–१९५६)ले नवयान बुद्धिज्मको माध्यमबाट मानवतावादको ओकालत गरे । उनले भारतीय संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै अनागरिक धर्मपाला (१८६४–१९३३), हेनरी अल्कोट (१८३२–१९०७) जस्ता स्कोलरहरूले मानवतावादको पक्षमा व्यापक काम गरेको देखिन्छ ।

समयको विकाससँगै सनातन विचारहरूलाई मानव कल्याणका लागि विश्वव्यापी मापदण्डका रुपमा मानव अधिकारको स्तम्भ खडा गरेको देख्न सकिन्छ । मानवतावादको विकास निरपेक्षरुपमा भएको छ । भौतिकवादको प्रभाव राग, द्वेष र विभेद जस्ता समस्याहरू हुन् । समाजमा धनी हुने, सुख–सुविधामा बस्ने, शक्तिशाली हुने, पहुँचवाला हुने, मेरो धर्म ठूलो अरुको धर्म सानो वा झुठो भन्ने भाव लिने । मेरो धर्मले मात्र कल्याण गर्छ, अरुले गर्दैन भन्ने तर्कहरू भौतिकवादले पारेको प्रभावको विचार मात्र हो । भौतिकवादले लोभ, मोह, क्रोध र अहंकार तर्फ उत्प्रेरित गरिरहेको हुन्छ । यस्ता विचारले समाजमा अशान्ति, विभेद, व्यवविचार, अन्यायलाई आमन्त्रण गरिरहेको हुन्छ । त्यसकारण भौतिकवादभित्र मानवतावाद खोजेर अगाडि बढ्नु हरेक मानवको कर्तव्य हुन आएको छ । भौतिकवाद क्षणभंगुर छ, यो परिवर्तन भइरहन्छ । आज जुन कुरादेखी राखिएको छ, भोलि त्यो त्यही रुपमा देख्न सकिन्न । परिवर्तन भइरहेको हुन्छ । जुन चीजलाई जसरी हेर्नुपर्ने त्यसरी नै हेरौं । त्यसो गर्दा द्वन्द्व हँुदैन । यसरी धार्मिक सहिष्णुता समेत कायम हुन्छ ।

निष्कर्ष :

भौतिकवाद मानिसको लागि स्थायीत्व छैन । किनकि मृत्युको समयमा ती सम्पूर्ण चीजहरूलाई छोडेर नै जानुपर्छ । मानव कल्याणका लागि विज्ञान संगत तर्कहरूमा र व्यवहारहरूमा जीउन सक्नुपर्छ । मानिसको लागि हित हुने व्यवहारहरू र तर्कहरू मानवतावाद हो । यो वादले मानिसलाई जहिले गुणस्तर जीवन जीउन सिकाउँछ । तर, मानवतावादलाई भौतिकवादले प्रभाव पारेको हुँदा भौतिकवादभित्र मानवतावाद खोजेर अगाडि बढ्दा आफ्नो जीवन, परिवार र समाजमा असल परिवर्तन आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here