सोनसरी भोकै निदाई भित्रका पल्टाउँदा

0
10

२०११ साल जेठ ८ गते शुक्रबारको दिन भोजपुर हेलौँछा–२ मा जन्मेका भीम खवासको यो सोनसरी भोकै निदाई नामक कथा सङ्ग्रह दोस्रो कृति हो । बुवा रणबहादुर खवास र आमा खड्गमाया खवासका सुपुत्र भीम खवासले बिएडसम्मको अध्ययन गरेका छन् । २०३९ सालदेखि २०६८ सालसम्म शिक्षा क्षेत्रमा सेवा गरेका प्रधानाध्यापक हाल सेवा निवृत्त छन् । जीवनको निकै लामो १६ वर्षे कार्यकालको कालखण्ड अध्यापनमा खर्चेका खवास विभिन्न संघ–संस्थामा समेत आवद्ध रहेर काम गरिरहेका छन् । राष्ट्रिय जन सांस्कृतिक मञ्चको लिल्ला सदस्य, प्रलेस जिल्ला सदस्य, नेपाल राष्ट्रिय जिल्ला शिक्षक सङ्गठन, नेपाल शिक्षक युनियन केन्द्रीय प्रतिनीधि, भुजेल समाज सेवा समिति, केन्द्रीय महासचिव, अध्यक्ष केन्द्रीय सदस्य लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, अध्यक्ष धुलावारी क्याम्पस, अध्यक्ष ज्यामिरगढी खानेपानी समिति, सञ्चालक सदस्य सहारा नेपाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य, नेकपा एमाले आदि ।

त्यसैगरी आजीवन सदस्यमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल रेडक्रस सोसाइटी, त्रिफला राष्ट्रिय पुस्तकालय, नेपाल हृदयरोग निवारण संघ, वीरेन स्मृति प्रतिष्ठान मेची नगर १५ ज्यामिरगढी ज्येष्ठ नागरिक मञ्च, नेपाल प्रश्रित साहित्य प्रतिष्ठान नेपाल, सुसेली साहित्यिक परिवार काँकरभिट्टा, अभिनन्दन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन २०५८ आदि रहेका छन् भने उनले जिल्ला शिक्षा कार्यालय कदर तथा पदक २०५९ भुजेल समाज सेवा समिति, केन्द्र्रीय समिति काठमाडौं २०७४ । त्रिफला राष्ट्रिय पुस्तकालय पुरस्कार, ज्यामिरगढी माध्यमिक विद्यालय २०६८, मेचीनगर १५ ज्यामिरगढी झापा लगायतबाट सम्मानित भएका छन् । प्रस्तुत सोनसरी भोकै निदाई कथा सङ्ग्रहभन्दा पहिले नबिर्सेका दिनहरू नामक उनको कृति प्रकाशित छ । यो उनको दोस्रो कृति हो । यसका अतिरिक्त उनका फुटकर रचनाहरू पनि प्रकाशित छन् । ज्यामिरगढी माध्यामिक विद्यालय स्वर्ण स्मारिकाको सम्पादन समेत गरिसकेका छन् ।

हाल स–परिवार मेचीनगर– १५ ज्यामिरगढी खवास बारीमा स्थायी बसोबास गरिरहेका भीम खवासको यो पहिलो कथा कृति हो । जीवनका लगभग ७० बसन्त पार गरिसकेका खवास मूलतः समाजसेवी हुन् । यति हुँदाहुँदै पनि सोनसरी भोकै निदाई नामको कथा कृति लिएर नेपाली साहित्यको कथा क्षेत्रमा देखापरेका खवास एक सशक्त कथाकारको रूपमा देखापरेका छन् । भनिन्छ, साहित्य सिर्जना गर्नु ठूलो कुरा होइन । यसलाई निरन्तरता दिनु चाहिँ ठूलो कुरा हो । यसलाई अझ भनौँ भने निरन्तरता नै चाहिँ मुख्य कुरा हो । भीम खवासको यो दोस्रो कृति भएकोले पनि उनले निरन्तरताको पनि शुरुवात गरिसकेका छन् भन्ने कुरा प्रष्ट हुन्छ । उनका फुटकर रचनाहरूले पनि निरन्तरताकै सङ्केत गर्छन् । यसबाट पनि थाहा हुन्छ कि उनले नेपाली साहित्यको इतिहासमा निरन्तर कलम चलाइरहने छन् ।

भित्रि पृष्ठ १२० रहेको उक्त सोनसरी भोकै निदाई कथा सङ्ग्रहमा जम्माजम्मी ११ वटा कथाहरू समावेश भएका छन् । भाग्य, सोनसरी भोकै निदाई, धना, अपमान, ऊ बलात्कार, शिक्षा र सीप, पुरुष हिंसा, विश्वासघात, हण्डर र शंकाको पराकाष्ठा कथाका शिर्षक हुन् । यस कथा सङ्ग्रहको साङ्गोपाङ्गो समालोचना त यो सानो लेखमा सम्भव छैन । यद्यपि संक्षिप्त रूपमा भए पनि यसभित्रका कथहाहरूको यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । यो भन्दा पहिले यस कृतिमा भूमिका, आफ्नो भनाइ र प्रकाशकीय गरि तीन शिर्षकका भूमिकाका लेखक, स्रस्टा स्वयम् र प्रकाशकको विचार समेत प्रस्तुत छन् । यहाँ तिनका विचारहरूको समेत उल्लेख गर्नु समिचिन नै ठानिएको छ । भूमिका लेखनको क्रममा समालोचक विष्णुकुमार भट्टराईले सबै कथाहरू गाउँले परिवेशबाट उठी देश–विदेश हुँदै भारतको मुम्बइ शहरसम्म पुगेका छन् । उता यूरोप र खाडी परदेशतिर पुगेका पात्रको अलग्गै तनाव यता तिनको घर–व्यवहार हेर्दा लेखक साँच्चै गाउँ र गाउँका बासिन्दा भएर गाउँघरकै कथा लेखेका छन् भन्ने कुरा प्रष्ट हुन्छ । पात्रको मनोविज्ञान केलाउन नयाँ सिद्धान्तको प्रयोग गरेजस्तो पनि देखिन्छ । ऊ कथा यसको उदाहरण हो । गाउँको यथार्थ चित्रण, श्रम शोषण, गरिबी, अन्याय, अत्याचार, पीडा, अनिकाल आदि ।

ठूलाले साना माथि गर्ने व्यभिचार, सासुले बुहारीलाई गर्ने अमानवीय र क्रूर व्यवहार, दमन र दपेटाई, धर्म, सम्प्रदाय आदिलाई पनि कथाकारले कथाको विषयवस्तु बनाएका छन् । समग्रमा भीम खवास पुरातन र सनातन चलिआएका शैलीका कथाकार हुन् भनेका छन् । आफ्नो भनाई राख्ने क्रममा कथाकार स्वयम्ले हुर्कदै, बढ्दै आउँदा आफ्नो वरिपरि जे–जस्ता घटनाहरू भए, देखिए, भोगिए तिनै कुराहरू कथाका रुट बनेका छन् । यी कुनै अकल्पनीय जस्ता लाग्ने पनि छन् । लेखकले त्यस्तै देखियो । त्यस्तै लेखियो पनि भनेका छन्् भने प्रकाशकीय शिर्षकको छोटो लेखमा प्रकाशकीय दृष्टिकोण रहेको छ । ०१५ सालदेखि वर्तमानसम्मको सामाजिक परिवेशलाई विम्व बनाएर सिर्जना गरेको यो कथा सङ्ग्रह पठनीय छ भनिएको छ । यसरी सरसर्ती हेर्दा पनि आकारका दृष्टिले केही सानो भए पनि कथाकार भीम खवासले आफ्ना कथामा समाजमा घट्ने विभिन्नखाले घटनाहरूलाई बडो मिहिन र यथार्थ परक ढङ्गले एउटा धागोमा उनी कथा माला तयार गरेको कुरा प्रष्ट हुन्छ ।

भाग्य शिर्षकको कथा उक्त कथा सङ्ग्रह सोनसरी भोकै निदाईको पहिलो कथा हो । यस कथामा कथाकार खवासले बाबुको रूखबाट लडेर मृत्यु भएपछि आमाको पनि झाडा–पखालाबाट मृत्यु हुन्छ । १५÷१७ वर्षको उमेरमा बाबुआमा गुमाउन पुगेका टुहुरा केटाकेटीले भोग्नु परेको दुःखकष्ट, पीडा, अभाव, आर्थिक शोषण आदि पीडाका कारण कलिलो उमेरमै तिनले घर छोडेर हिँड्नुपर्ने बाध्यताको समेत बडो कारुणिक ढङ्गले प्रस्तुत गरेका छन् । देवकीले पाएको दुःखले नेपाली छोरीचेलीले भोग्नु परेको पहिलेदेखिको हालसम्मको पीडालाई अत्यन्तै कारुणिक र यथार्थपरक ढङ्गले प्र्रस्तुत गरेका छन्््् । नेपाली समाजमा अझै पनि टुहुरा बालबालिकाले भोग्नु परेका विविधखाले समस्या अभाव, उपेक्षा, घृणा, हिंसा आदिलाई यस कथामा प्रस्तुत गरिएको छ । दोस्रो कथा अथवा कृतिको नामकरणीय कथा सोनसरी भोकै निदाई कथामा कथाकारले पञ्चायत कालको शैक्षिक अवस्थाको चित्रण गरेका छन् । त्यसबेला अहिलेको जस्तो विद्यालयहरू दूर–दराजसम्म पुगेका थिएनन् । बडो दुःखले विद्यालयहरू सञ्चालनमा आउन थालेका थिए ।

घर–व्यवहारका विविध कारण र शैक्षिक चेतनाको अभावका कारण जनता सबैले आफ्ना छोराछोरीहरूलाई पढ्न स्कूल पठाउन पनि असमर्थ जस्तै थिए । त्यो बेलासम्म पनि पढ्नुपर्छ भन्ने कुराको ज्ञान सबैमा पसिसकेको थिएन । यी र यस्तै आदि–इत्यादि कारणले गर्दा बालबालिकाको पढ््््दा–पढ्दैको छँदाखँदाको पढाइ पनि छुट्थ्यो । कोही उमेरले त्यसपछि मायाप्रेममा परि विवाह गर्ने र त्यसपछिको जीवनको सङ्घर्ष । जीवन गुजरा जस्ता जीवन भोगाइका पीडा खासगरी अभावले मानिसको जीवनमा कतिसम्म पीडा र दुःख उत्पन्न गराउँछ भन्ने कुरालाई समेत मसिनो पाराले कथामा प्रस्तुत गरिएको छ । यो अर्को कारुणिक कथा हो । यस कथा सङ्ग्रहको तेस्रो कथा धना हो । यस कथामा कथाकार खवासले मानवीय जीवनका आरोह, अवरोह, सद्भाव, दया, माया, मानवीयता आदिलाई प्रस्ट्याउन खोजेका छन् । यो मानवमा हुनु पनि पर्छ र हुन्छ पनि । एकअर्काबीच सर–सहयोग, सद््््््भाव, दया, माया बिनाको मानवीय जीवन त चेतनाविहीन पशुको जस्तो हुने कुरातर्फ सङ्केत गरेका छन् । यो पनि एउटी नारीको सङ्घर्षमय जीवनको कथा हो । ऊ कथामा कथाकार खवासले समाजमा हुनुे गरेका महिला हिँसा, विरक्तिपन, महिलामा हुने गरेको वितृष्णा आदि कुरालाई बडो कलात्मक र रहस्यमय ढङ्गबाट प्रस्तुत गरेका छन् ।

महिलाको अन्तरमनमा सुसुप्त रूपमा रहेका विविध खाले चाहनाको उद्घाटन समेत गरिएको यस कथामा एउटी नारीको सिङ्गो जीवनको सङ्घर्ष रहेको छ । त्यस्तै अपमान शिर्षकको कथामा कथाकार खवासले अपमानले मानिसलाई कतिसम्म विचलित बनाउँछ भन्ने कुरा उल्लेख गरेका छन् । कथाका पात्र रविले जीवनमा भोग्नु परेका धार्मिक समस्या, अभाव, जीवन यापन जस्ता कुरामा स्वाभिमानका साथ कसैको दासत्व स्वीकार नगरि बाँच्न नपाउँदा र अपमानको चोट सहनु पर्दाको मानव हृदयमा पुग्न सक्ने अघातको उल्लेख गरेका छन् । बलात्कार कथामा कथाकार खवासले किशोर–किशोरीहरूमा आजभोलि प्रविधिहरु मोबाइल, कप्म्युटर सामाजिक सञ्जालले ल्याएको विकृतिका कारण माया, प्रेमका नाममा हुने गरेका उशृंखलता एक अर्काले लगाउने आरोप–प्रत्यारोप मन मिल्दा राजीखुशी मन नमिल्दा जवर्रजस्ती हुने माया, प्रेमको आजको नौ टङ्की उल्लेख गरेका छन् ।

खासगरी समाजमा देखापरेको आजको यो युवायुवती वा महिला पुरुषमा देखिएको जल्दोबल्दो समस्यालाई उल्लेख गरेका छन् । शिक्षा र सीप शिर्षकको कथामा कथाकार खवासले शिक्षा र सीपको अन्तरद्वन्द्वलाई देखाउन खोजेका छन् । शिक्षा सर्टिपिकेटमा मात्र सिमित नभई सीपमूलक पनि हुनुपर्छ भन्ने कुरा दर्शाउन खोजिएको छ । पुरुष हिंसा कथामा पनि कथाकारले आजको जल्दोबल्दो घरायसी समस्याको उद्घाटन गरेका छन् । पहिले महिला हिंसामा पर्ने गरेको भए पनि आजकाल विविध कारण अझ भनौं भने कानूनी मान्यताका आधारममा महिला दह्रो अवस्थामा भएका कारण आजकाल उल्टो पुरुष महिलाको हिंसामा पर्ने गरेको तथ्य उद्घाटन गरेका छन् । हण्डर कथामा कथाकारले मानवीय जीवनका दुःख–कष्ट, पीडा, अभाव, माया–प्रेम आदिका नाममा हुने÷भए÷गरेका विश्वासघात, अन्तरघात आदि कुराले मानवीय जीवनमा ठूल्ठूला हण्डर समेत खाने र त्यसपछि मात्र उसले चेत्ने वा उसको चेत खुल्ने गरेको तथ्य उद्घाटित गरेका छन्््््् । यिनै कुराहरूलाई यस कथामा कथाकारले बडो सरल र सहज ढङ्गले प्रस्तुत गरेका छन् ।

विश्वासघात कथामा पनि कथाकार खवासले एकले अर्को माथि गर्ने अमानवीय व्यवहार वा उसको कर्तुत उल्लेख गरेका छन् । शङ्काको पराकाष्ठा शिर्षकको कथामा कथाकार खवासले समाजमा रहेका मानवीय विकृति, विसङ्गति र विद्रुपात्मकता पूर्ण कर्तुतलाई नै प्र्र्रस्ट्याउन खोजेका छन् । समाजमा रहेका विकार पनि यिनै हुन् । मानिसको मनमा उब्जने आवश्यकीय÷अनावश्यकीय शङ्का, उपशङ्का आदिका कारण समाजमा साना तिनादेखि लिएर ठूल्ठूला घटनाहरू समेत हुन सक्ने कुरातर्फ सङ्केत गरिएको छ । मानिसमा हुने गरेका अनावश्यक शङ्का गर्ने प्रवृत्ति जसले गर्दा अकल्पनीय र असोचनीय घटनाहरू यही समाज वा परिवारमा घट्ने गरेको समाजको यथार्थ चित्रण गरेका छन् ।

यसले गर्दा कथाकार भीम खवासको यो सोनसरी भोकै निदाई कथा सङ्ग्रहभित्र सङ्ग्रहित ११ वटै कथाहरू समाजको यथार्थ चित्रण गर्न सफल देखिन्छन् । विषयवस्तु समाज भित्रै घट्ने घटनाहरूबाट लिइएका छन् । भाषाशैली अत्यन्तै सरल छ । जुनसुकै स्तरका पाठकले कथा बुझ्न र घटना, परिघटनालाई पर्गेल्न गाह्रो नहुने खवासको कथाकारिताको एउटा विशेषता पनि हो । परिवेश गाउँदेखि सहरसम्मकै छ । देशदेखि परदेशसम्मकै छ । आकारका दृष्टिले सानो भए पनि कथा कुनै छोटा र लामा दुबैखाले छन् । परिवार तथा समाजका सानातिना घटनाहरूलाई टपक्क टिपेर कथामा मिहिन ढङ्गले प्रस्तुत गर्नु कथाकारको अर्को विशेषता रहेको छ । विविधखाले नारी, पुरुष पात्रको चयन गर्नु र तिनको भित्री मनोविज्ञानलाई नयाँ ढङ्गले प्रस्तुत गर्नु पनि कथाकारको अर्को विशेषता नै रहेका देखिन्छ ।
यसरी सरसर्ती हेर्दा भीम खवासको उक्त सोनसरी भोकै निदाई कथा सङ्ग्रहमा सङ्ग्रहीत कथाहरू नेपाली गाउँले तथा सहरीया, देश, परदेश, विदेशको परिवेश र वातावरणमै तय भएका छन् । उनका अधिकांश कथाहरू उही पुरानो लेखनशैली र विषयवस्तुमा आधारित रहेको पाइन्छ । दुःखलाई एकदम नजिकबाट बुझेका खवास अर्काको दुःख देखेर पनि त्यसप्रति अलि बढी नै चिन्तित र दुःखी बन्ने प्रवृत्ति उनमा रहेको पाइन्छ र त्यसकै वरिपरि रहेर सिर्जना गर्ने र गर्न रुचाउने भएकोले उनका कथा पनि त्यसमै रुमलिएका पाइन्छन् । यद्यपि यति हुँदाहुँदै पनि कथामा आजभोलिका जल्दाबल्दा सामाजिक, राजनीतिक, आर्थिक, युवायुवतीमा हुने मायाप्रेम, सद्भाव, सदाचार, सरसहयोग, दयाभाव आदि कुरा पनि आएका छन् । त्यस माथि यिनमा देखापरेका विसङ्गति, विकृति र विद्रुपात्मकताको मसिनो गरी उल्लेख गरिएको छ ।

समग्रमा कथा लेखक तथा कथाका पाठकहरूका लागि यो कृति पठनीय र सङ्ग्रहणीय त छँदैछ । नेपाली साहित्यको क्षेत्रमा खास गरि कथा विधाको विकास र समृद्धिमा समेत एउटा इँटा थप्न सफल भएको छ । जीवनको उत्तरार्धमा आएर भएपनि अक्षरको खेती गर्न शुरु गरेका भीम खवासबाट अझै अरू कृतिहरूको पनि आश गर्ने प्रसस्तै ठाउँहरू रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here