झापा ।
उमेरमा लाहुरे जीवन बिताएर गाउँ फर्केका अधिकांश पूर्वफौजी कतै न कतै सामाजिक सेवामा जुटिरहेका भेटिन्छन् ।
कतिपय लाहुरे ठूलाठूला सहरमा बस्न रुचाउँछन् भने कतिपय आफ्नै पुख्र्यौली गाउँमा फर्कन्छन् । पुख्र्यौली घर छोडेर सहर पसेका लाहुरे अर्थात फौजी जीवनमा कमाएका पैसाले बनाएका घरमा बस्न रुचाउँछन् । उनीहरूको जीवन त्यही खुसी हुन्छ ।
झापाको शिवसताक्षीमा लाहुरेको बसोबास बाक्लै छ । खास गरेर दुधे, झिलझिले, धरमपुर लगायतका क्षेत्रमा लाहुरेको बसोबास छ । संयुक्त भूपू सैनिक संघ नेपालले दिएको जानकारी अनुसार तीन सय भूपू फौजीको शिवसताक्षीमा बसोबास छ । यहाँ बसोबास भएका भूपू लाहुरेहरु कुनै न कुनै काम र योजनामा तल्लिन हुन्छन् ।
यहाँका एकजना लाहुरेको कथा सामान्य मानिसको भन्दा नितान्त फरक छ । २०१७ सालमा तत्कालीन शिवगञ्ज गाविसमा बसाई झरेका नरबहादुर आङदेम्बेको छोरा अमरसिंह आङ्दम्बेको जीवनशैली अन्य लाहुरेको भन्दा फरक छ । उनी पाँचथरको नवमी डाँडाबाट बसाँई सरेर दुधे आएका थिए ।
उनी समकालीन, ज्येष्ठ र आफुभन्दा साना लाहुरेसँग भन्दा पनि स–साना बालबालिकासँग खेल्न र खेलाउन रुचाउँछ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का नरबहादुर २०४४ सालमा भारतीय इलेभन गोर्खा राइफल मा प्रवेश गरेका थिए ।
३२ बर्षे भारतीय सैनिक जीवनपछि उनी सुवेदार मेजरसम्म भएर रिटायर्ड भए । अहिलेको रिटायर्ड लाइफ नितान्त समाजसेवामा छ । उनी शिवसताक्षीको संयुक्त भूपू शैनिक संघको मात्र होइन झापाकै अध्यक्ष हुन् । यतिमात्र होइन । काशी प्रदेशका विभिन्न १३ वटा गैर सरकारी संस्थाका अध्यक्ष हुन् । उनले नेतृत्व गरेका हरेक संस्थाको छवि उनको जस्तै सङलो बनाएका छन् ।
सुवेदार मेजर आङदेम्बेको शिवशताक्षीको दुधेमा दुईवटा घर छ । महाभारामा एक बिगाह जग्गा पनि छ । वर्षभरि खानकै लागि महाभारामा खेत किनेको उनले बताए । ‘एक विगाह खेतीमा फलेको धान ले आफूलाई वर्षभरि खान पुग्छ भनेरै खेत किने । अहिले आफैले खेति गरेर फलाएका अन्नले बजारको तयारी अन्नभन्दा स्वास्थ्यलाई पनि फाईदा दिइरहेको छ,’ उनले भने ।
झापामा मात्र होइन । उनको पुरख्यौली पाँचथरको फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकामा ८०/८० रोपनी जग्गा छ । सदरमुकाम फिदिममा बढेमानको घर छ । पहाडका घर र खेतीले मात्रै पनि उनलाई वर्षेनी मनग्ये आम्दानी दिन्छ । आङदेम्वेले सहरिया जीवनलाई भन्दा पनि गाउँले जीवनलाई महत्व दिएका छन् । उनि भन्छन् ‘स्वस्थ जीवनका लागि गाउँले जीवनशैलिनै उत्तम हुने रहेछ ।’ सहरमा रहनलाई म र मेरो परिवारलाई केहीले रोक्न सक्दैन थियो । तर, पिता जीले जहाँ ल्याउनु भयो त्यो भुमी मलाई देवभुमी जस्तै लाग्न थाल्यो ।’
फौजमा रहँदा कमाएको धनले जोडेको सम्पतीमा यतिबेला आङदेम्बे खुसी छन् । उनको खुसी चारै तिर फैलिरहेको छ । भएर पनि विपन्न र नहुनेका लागि मुठ्ठी नखोल्नेकालाई आङदेम्बे एउटा गतिलो उदाहरणको पात्र बनेका छन् ।
आङ्देम्बेको पेन्सन मासिक ९१ हजार आउँछ । उनले भने,‘ मासिक थापेको पेन्सन घर काजका लागि खर्च हुँदैन । ११ नम्बर वडाको दुधे बजार उत्तर दुधे खोलाको डिलका अति विपन्न वर्गका ११ वटा घरको खर्च उनको पेन्सनबाट हुने गरेको छ ।
ती घरका विद्यार्थीको पढाइ लेखाई, बिजुली बत्ती, खानेपानी लगायतमा उनले महिनै पिच्छे खर्च व्यहोरिदिने गरेका छन् । ‘यति खर्च आउँछ भनेर त ठ्याक्क भन्न सकिन्न,’उनले भने ‘ यहाँका ११ घरका नानीहरूको शैक्षिक खर्च, त्यो घरमा बलेको बिजुली, र पिउने पानीमा जती खर्च आउँछ त्यो चै मैले व्यहोर्ने हो ।’ गाँउमा ११ घरका २६ जना बालबालिका नजिकैका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्छन् ।
बालबालिका भनेपछि हुरुक्कै हुने आङदेम्बेका एक छोरी खुशबु दन्त रोगकि विशेषज्ञ डाक्टर हुन । छोरा लानाम भने इन्जिनियर हुन । उनी बहराइनमा सरकारी सेवामा कार्यरत छन् । उनी परिश्रमी किसान पनि हुन् । उनले व्यावसायिक रूपमा बङ्गुर पालन पनि गरेका छन् । उनको फार्मबाट आम्दामी भएको पैसा पनि आङदम्बे गाउँका विपन्नको परिवारमा खर्च हुने गरेको छ । टोलका घरमा चामल लगायत तरकारी नभए आङदेम्बेले व्यहोरिदिने गरेका छन् ।
आङ्दम्बेको बङ्गुर फार्ममा जाने सडकको स्थानीय गाउँले भेला गरेर बुधबार नामाकरण गरे । करिब ५०० मिटर लामो उक्त सडकको नाम सिङ्गो गाउँलेले आङदेम्बे मार्ग भनेर नामाकरण नै गरे । उनले सडकको नामाकरण भएको एउटा बोर्डपनि राखे र स्थानिय बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेर खुसि मनाए ।
आङनम्बे उक्त गाउँमा जाँदा सबै बालबालिकाले ‘हेप्पी वर्थडे’भनेर जिस्काउँछन् । नजिस्काउन पनि कसरी । हरेक दिन बङ्गुर फार्मतिर जाँदा गाउँका बालबालिकाले चकलेट पाउँछन् । जन्मदिनका दिन चकलेट पाउने केटाकेटीले हरेक दिन चकलेट पाउनकै लागि उनलाई हेप्पी वर्थडे भनेर जिस्काउँछन् ।
चकलेट मात्र होइन । आङदेम्बे स्थानीय राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, धुवतारा आवासीय मावि, क्याम्ब्रिज अङ्ग्रेजी बोर्डिङ स्कुल र फ्रेण्डसिप मन्टेस्वरीमा अध्ययन गर्ने बालबालिका मध्ये प्रत्येक विद्यालयबाट उत्कृष्ट बनेका आफ्नो टोलका बालबालिकालाई वर्षेनी छात्रवृद्धि प्रदान गर्ने बताए । यो टोलमा ११ वटा घरका २६ जना बालबालिका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्न जान्छन् ।
बालबालिकालाई खुसी बनाउन र विद्यालय जानका लागि प्रोत्साहन गर्न बेलाबेला उनले रमाइलो गराउने गरेका छन् । रमाइलो वनभोज गराउने, नृत्य,गायन, वक्तृत्व कला लगायतका विधामा टोलका बालबालिका बीच प्रतिस्पर्धा गराएर पुरस्कार प्रदान गर्ने गरेका छन् । उनको यो स्वार्थरहितको समाजसेवा प्रति गाँउले औधी खुसी छन् । स्थानिय सीता दनुवार भन्छिन्, ‘हाम्रो जिउँदो भगवान भनेकै अम्बरवहादुर आङदम्बे ह्न । उहाँ विनाको दिन नुन रहितको तरकारी तुल्य हुन्छ ।’
दिनहुँ फार्ममा आउने आङदेम्बेलाई बालबालिकाले आआफ्नो साईनो लगाएर बोलाउछन् । कसैले बुवा भन्छन् त कसैले अंकल भन्छन् । कतिपयले मामा भन्छन् भने कतिपयले सर भन्छन् । गाउँमा जो कोही नयाँ मान्छे पुगोस् आङदम्बेले नमस्कार गरेर शिष्ट शव्दमा बोल्न सिकाएर छन् । कतिपयले उक्त गाँउलाई नमस्कार गाँउ पनि भन्छन् । सीताले भनिन् ‘यहाँका नानीहरुको मुखैमा नमस्कार छ ।’