हिन्दू धर्मावलम्बी लगायत विभिन्न धर्मका मानिसका लागि मकर सङ्क्रान्ति र कनकाई माई मेला अति महŒवपूर्ण छन् । कनकाई धाम नेपालको पूर्वी क्षेत्रको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको रूपमा सुपरिचित छ । पूर्वी नेपालका बराहक्षेत्र, पाथीभरा ताप्लेजुङ्ग, भोजपुरको दिङ्गला जस्तै कनकाईधाम क्षेत्र पनि भक्तजनका लागि अति श्रद्धाको भूमि मानिन्छ । कनकाई वा कन्काई नाम व्युत्पतिका पछि ऐतिहासिक र प्रागऐतिहासिक कारण छन् । सुनका टुक्रा अर्थात् कनक पाइने अर्थमा कनका माई अपभ्रंश हुँदै कनकाई बनेको विश्वास गरिन्छ ।
नेपाल ऋषिमुनिहरूले तप गरेको र तेत्तीस कोटी देवताले बास गरेको भूमि हो भनेर विश्वास गरिन्छ । हाम्रो मातृभूमि नेपाल वेदभूमि, तीर्थभूमि, वीरभूमि, पुण्यभूमि, रत्नभूमि, कर्मभूमि र धर्मभूमिको समष्टि हो । नेपालका अनगिन्ति भूमिमध्ये त्यस्तै एउटा भूमि हो– कनकाईधाम कोटीहोम । झापाको लगभग मध्य भाग भएर बग्ने पवित्र कनकाई नदीको पूर्वी किनारामा अनेकौं देवस्थलहरू सहित प्राकृतिक, धार्मिक र आध्यात्मिक गरिमाले ओतप्रोत भएर अवस्थित कनकाईधाम कोटीहोम क्षेत्र कोशी प्रदेश वा पूर्वाञ्चलकै प्रसिद्ध पर्यटकीय क्षेत्र हो । नेपालका विशिष्ट महत्त्व बोकेका पशुपतिनाथ, स्वयम्भूनाथ, लुम्बिनी, बराहक्षेत्र, मुक्तिनाथ, स्वर्गद्वारी, देवघाट आदि जस्तै कनकाईधाम कोटीहोम क्षेत्र पनि एक पवित्र स्थल हो ।
कनकाईधाम सभ्यताको चिनारी हो । संसारका धेरै जसो सभ्यताहरू नदीकिनारमा फलेफुलेका छन् । माघ १ का दिन विभिन्न घाटहरु, नदीहरु अनि पवित्र स्थलमा स्नान गर्ने तीर्थालुहरुको भीड र हन्छ । नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीबेनी, काठमाडौं शंखमूलको बागमती किनार आदि ठाउँहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँइचो लाग्छ । यसरी माघी नुहाई सकेपछि तिलको सुकेको बुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष मनोकांक्षा फल प्राप्त हुने भविष्यपुराणमा उल्लेख गरिएको छ ।
कनकाई नदीको दुबै किनारमा लाग्ने लोकप्रिय माई मेलाप्रति सबैमा चाख र चासो रहने गरेको छ । मेलामा हुने खेलतमासा मात्र होइन, यो मेलाको अलि फरक र विशिष्ट प्रकारको आकर्षण छ, ती मानिसमा जसले यसको महत्वलाई हृदयमा लिएका छन् । नेपालकै सबैभन्दा पक्की पुल भएको कनकाई माईको दुबैतर्फ किनारमा माघे संक्रान्तिको दिन अत्यन्तै ठूलो मेला लाग्छ । नेपालका पूर्वाञ्चल क्षेत्रका साथै भुटान, पश्चिम बङ्गाल, सिक्किम, मेघालय, अरुणाञ्चल, मणिपुर, आसाम लगायतका क्षेत्रबाट यहाँ पवित्र स्नान गरी मेला भर्न सयौं–हजारौं भक्तजनहरु आउँछन् । कनकाई माईलाई भाकल पूरा गर्ने अति विशिष्ट देवीको रुपमा पनि मानिन्छ । वर्षैभरि पूजाआजा, बिहे, ब्रतबन्ध, श्राद्ध तथा पितृउद्धार, पुराण आदि विभिन्न प्रकारका अनुष्ठान तथा कार्यक्रमहरु भइरहने यस कोटीहोम क्षेत्र धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय क्षेत्र हो । हरेक सालका शिवरात्री, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी, ऋषिपञ्चमी, श्रीपञ्चमी जस्ता पावन पर्वहरुमा यहाँ श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।
विशेषगरी माघे संक्रान्तिका दिन आयोजना हुने माई मेला हेर्न बालबालिकादेखि वृद्धबनिता सबै लालायित हुन्छन् । बालबालिकाहरु माई मेला शुरु हुने समयको एकडेढ महिनाअघिदेखि नै यसको प्रतिक्षामा औंला गन्न थाल्छन् । टाढा–टाढादेखि पैदल हिँडेरै भए पनि हजारौं भक्तजन तथा मेलाका पारखीहरु मेला भर्न आउँछन् । मानिस र गाडीको घुइँचोले गर्दा ट्राफिक प्रहरी र प्रशासनलाई सडक र यातायात व्यवस्थापन गरी दूर्घटना न्यूनीकरण गर्न हम्मे–हम्मे पर्छ । माईधाम क्षेत्र पूर्वकै एक सुपरिचित धार्मिक स्थल बन्न पुगेको छ । कनकाई नदी र कनकाईधाम कोटीहोमकोे गरिमामय इतिहास आज झापावासीको लागि गौरवको विषय हो । कनकाई नदी, कनकाईधाम कोटीहोम, कनकाईघाट र यहाँको प्राकृतिक तथा धार्मिक विशिष्टता अनुपम रहेको छ । हरेक माघे सङ्क्रान्तिको आगमनसँगै माई मेला सम्झनामा आइरहन्छ ।
कनकाई माईको पूर्वेली सभ्यतामा रहेको देनलाई माई मेलाले अझ उजिल्याउन सहयोग पुगेको छ । अत्युच्च प्रसिद्ध सनातनी वैदिक केन्द्र कोटीहोम क्षेत्रलाई बृहत् कनकाईधाम धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न साँचो अर्थमा भन्ने हो भने माई मेलाको प्रत्यक्ष वा परोक्ष भूमिका छ । कनकाईमाई हाम्रो सभ्यताको मूल धमनी हो । कनकाई माईमा वर्षेनि लाग्ने मेला यसको प्रमुख आकर्षण हो । कनकाईको माईमेलाको सुरुवात कहिलेदेखि भयो भन्ने सम्बन्धमा आजसम्म कुनै ऐतिहासिक तथ्यहरु फेला परेका छैनन् । कनकाई नदीको संरक्षण र यसको दुबै तर्फको तटमा लाग्ने मेलाको महत्वलाई शिरोधार्य गरी यी क्षेत्रहरुको विकासका लागि सबै लाग्न आवश्यक छ ।
माघे सङ्क्रान्ति अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्वपूर्ण महिना हो । माघे सङ्क्रान्तिका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । माघ १ बाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र हिउँद घट्दै जाने र बसन्तका साथै ग्रिष्म बढ्दै जाने मान्यता छ । महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणमैदानमा अर्जुनका धनुष वाणहरुले शरीरमा सर्वत्र छेडिएका भीष्म पितामहले माघे सङ्क्रान्तिकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । यसरी, धार्मिक, सांस्कृतिक र जातीय रूपमा माघे संक्रान्ति अर्थात् माघीको ठूलो महत्व रहेको छ र हामी सबैका लागि माई मेलाको त्यति नै धेरै आकर्षण छ । २०८१ सालको कनकाई माईमेला हामी सबैलाई स्वागत गर्न आफ्ना दुबै हात फैलाएर हाम्रासामु उपस्थित छ ।