सार :
ज्येष्ठ नागरिक जीवित इतिहास हुन् । ज्येष्ठ नागरिकलाई समस्या होइन, राज्यले विकासको रुपमा हेर्नुपर्छ । घर परिवारले ज्ञान र सभ्यताको मुहानको रुपमा हेर्नुपर्छ । परिवारका हरेक सदस्यले करुणा र मैत्री भावले आफ्ना अभिभावकलाई व्यवहार गर्नुपर्छ । संयुक्त परिवारबाट एकल परिवारमा विभाजन हुने क्रमको बढ्दो आकर्षणले गर्दा वृद्ध अभिभावकहरू अप्ठ्यारोमा परेको अवस्था छ । यी बाहेक अन्य धेरै समस्याहरू ज्येष्ठ नागरिकहरूमा छन् । थाहा नपाउने गरी कैदी बनाउनु हँुदैन, सजगतापूर्वक आफ्ना अभिभावकको रेखदेख गर्नुपर्छ । ज्येष्ठ नागरिकको अधिकांश समस्या करुणा र मैत्रीले समाधान गर्न सक्छ । मौजुदा ऐन कानूनको मर्मलाई व्यवहारमा लागू गर्दै हरेक सन्तानले आफ्ना घरका वृद्धवृद्धाहरू प्रति उत्तरदायी हुनुपर्छ ।
परिचय :
ज्येष्ठ नागरिकको परिभाषा कानूनी, सामाजिक र सांस्कृतिक सन्दर्भमा फरक–फरक हुन सक्छ । समान्यतयाः ज्येष्ठ नागरिक भन्नाले ती व्यक्ति बुझिन्छ जो आफ्नो जीवनको वृद्धावस्थामा प्रवेश गरेका हुन्छन् र विशेष उमेरमा पर्दछन् । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ का अनुसार ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पुगेको नेपाली नागरिक भन्ने बुझिन्छ । यसरी देश अनुसार ज्येष्ठ नागरिकको परिभाषा फरक–फरक रहने गरेको पाइन्छ । भारतमा पनि ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मानिन्छ । कोलिन डिक्सनरीका अनुसार ‘ज्येष्ठ नागरिक भनेको सेवानिवृत्त, वृद्धावस्था वा पेन्सन प्राप्त गर्ने वृद्ध व्यक्ति हो ।’ सामाजिक र सांस्कृतिक रुपमा परिभाषा गर्दा समाजले ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवका स्रोतका रुपमा हेर्छ भन्न सकिन्छ । उनीहरूलाई परिवार र समुदायमा सम्मानजनक स्थान दिनु कर्तव्य मानिन्छ ।
२०औं शताब्दीमा मानव जनसंख्या वृद्धिको क्रममा ज्येष्ठ नागरिकको अवस्थामा व्यापक वृद्धि भएको कारणले २१औं शताब्दिको लागि एक चुनौतीको रुपमा देखापरेको छ । वृद्ध व्यक्तिहरूको यसरी बढिरहेको अनुपातलाई हेर्दा विभिन्न राष्ट्रहरूले आफ्ना पूर्व निर्मित योजनाहरूमा परिमार्जन गरी यसमा नयाँ वास्तविकताको सामना गर्न नयाँ ढंगले नीतिनिर्माण गर्न र सामाजिक योजना बनाउन बाध्य भएका छन् । नेपालमा जनगणना २०७८ अनुसार ज्येष्ठ नागरिकको जनसंख्या लगभग ९% रहेको छ । खासगरी दोस्रो विश्वयुद्धदेखि नै संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय निकायहरूले विश्वव्यापी वृद्धावस्थाको विषयमा बढी ध्यान केन्द्रित गर्न थालेको देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवासुविधा प्रदान गर्नका लागि केही कोशिसहरू भएको देखिन्छ । ज्येष्ठ नागरिकहरूको अधिकारको संरक्षण र सम्बद्र्धन गरी उनीहरूमा भएको अमुल्य अनुभव, सिप, ज्ञान र क्षमतालाई समेत राष्ट्रको विकासमा लगाउन योजनावद्ध ढंगले काम गर्नु आवश्यक छ ।
ज्येष्ठ नागरिकक समस्या :
ज्येष्ठ नागरिकको समस्या सामाजिक समस्या हो । समाजको एउटा हिस्सा ज्येष्ठ नागरिक पनि हो । मानिस जन्म लिएपछि बालक अवस्थामा बुबाआमाको माया र सहयोगमा हुर्कन्छ भने वृद्धावस्थामा छोराछोरीको रेखदेखमा वृद्ध जीवनको अन्त्य हुन्छ । यो चक्रमा हरेक मानिसको जीवनले ज्येष्ठ नागरिक अवस्थालाई स्वीकार्नै पर्छ । हरेक परिवारको लागि ज्येष्ठ नागरिक भार होइन, सम्पत्ति हो । सन्तान लगायत धन सम्पत्तिको सृजना र व्यवस्था गर्ने मातापिता जीवनको उत्तराद्र्धमा मूल्यवान सम्पत्ति बराबर हुन्छन् । हरेक सन्ततिले मूल्यवान सम्पत्ति जत्तिकै आफ्ना बाबुआमालाई मान्नुपर्छ । यो सोच अहिलेको आधुनिक युगमा कमी हँुदै गएको छ । यो कमी हुनुमा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको द्वन्द्वको कारणको रुपमा लिन सकिन्छ । समयको विकाससँगै नेपाली समाजमा अहिले एकल परिवारप्रति आकर्षण बढेको देखिन्छ । अहिलेको विकासको अनेकौं बहानामा ज्येष्ठ नागरिकहरू आफ्नै सन्तानहरूबाट एक्लिनुपर्ने बाध्यताहरूको सृजना भएको देखिन्छ ।
आधुनिकतावादको होडबाजीमा छोराछोरीहरू चल्नुपर्ने अवस्था र सामाजिक मर्यादाका लागि अरुभन्दा धेरै वा आवश्यक सम्पत्ति जम्मा गर्नुपर्ने रहरका कारण घरमा ज्येष्ठ नागरिक एक्लिएको देखिन्छ । गरिबीको कारण न्यूनतम् आवश्यकता पूरा हुन नसकेर पनि परिवारका अरु सदस्यदेखि ज्येष्ठ नागरिकहरू एक्लिएको पाइन्छ । विश्वमा लगभग ६०% ज्येष्ठ नागरिकहरू प्रति नाकारात्मक सोच रहेको अवस्था एउटा सर्वेक्षणले देखाएको छ । ज्येष्ठ नागरिकहरू मध्ये ६०% जतिलाई दीर्घरोगले ग्रस्त पारेको छ (हेल्पएज इन्टर्नेशनलको अध्ययन) । करिब १५% ज्येष्ठ नागरिकले शारीरिक, मानसिक वा आर्थिक दुव्र्यवहारको अनुभव गरेका छन् (मानव अधिकार आयोग प्रतिवेदन)। गरीबभन्दा बढी धनी परिवारमा र गाउँभन्दा बढी शहरका परिवारमा ज्येष्ठ नागरिकका समस्या छन् ।
कतिपय परिवारमा ज्येष्ठ नागरिकलाई कैदीको रुपमा बिहान–बेलुका खान दिने र घर रुङ्ने लगाउने कार्यहरू गरिएका छन् । त्यति मात्र होइन, पसलबाट सामान किनेर ल्याउने, नाति–नातिनाहरूलाई स्कूल पु¥याउने, बत्तीको बिल तिर्न पठाउने, गेट थुन्ने र खोल्ने काम, अरुले नभ्याउँदा फुर्सदिला भनिने वृद्धाले गरी दिनुपर्ने जस्ता कार्यहरू थाहा नपाउने तरिकाले ज्येष्ठ नागरिक माथि भार पर्न गएको पाइन्छ । छोराछोरी, नातिनातिनाको माया र प्रियताको कारण ज्येष्ठ नागरिकमा असर परेको थाहा हुन्न, तर घरमा पाहुना आएको बेला पाहुनासँग ज्येष्ठ नागरिकले मनका व्यथा पोखेपछि थाहा हुन्छ । कहिलेकाही परिवारमा कुनै त्रुटी भएको बेला मात्र ज्येष्ठ नागरिकको पीर सबैलाई थाहा हुन्छ । ज्येष्ठ नागरिकलाई शारीरिक, मानसिक र अध्यात्मिक रुपमा स्वास्थ्य रहन अत्यन्तै जरुरी हुन्छ । यो उमेरमा वृद्धास्थाका मानिसलाई सक्रियताको नाममा परिवारको काम होइन, उनीहरूमा मनोवैज्ञानिक रुपमा परिवर्तन ल्याउन अग्रता, सम्मान, अघिल्ला ज्ञान र अनुभवहरूलाई महत्वपूर्ण बनाउने अवसरहरू प्रदान गर्नु आवश्यक छ ।
गरीब परिवारमा ज्येष्ठ नागरिकले पोषिलो भोजन, औषधि उपचार र सक्रिय जीवनका अवसरहरू नपाउन सक्छन् । कतिपय गरीब परिवारमा ज्येष्ठ नागरिकले नै परिवारको भरणपोषण गरी दिनुपर्ने बाध्यता पनि रहेको देखिन्छ । यसरी गरीब वा धनी परिवारमा ज्येष्ठ नागरिकका समस्या सृजना हुनु भनेको घरपरिवारका सदस्यले सकारात्मक सोचमा विकास गर्न नसक्नु हो र राज्यको ज्येष्ठ नागरिक लक्षित दीर्घकालिन योजनाको अभाव हो । सम्पत्ति नहुने ज्येष्ठ नागरिकहरू आफ्नो सन्तानको भरोसा गर्न नसकेर मागेर भए पनि जिविका चलाउने गरी दुःख पाइरहेका छन् भने सम्पत्ति हुने ज्येष्ठ नागरिकहरू उनीहरूको नाममा रहेको सम्पतिमा छोराबुहारीको आशक्तिले गर्दा हुने दुखपूर्ण व्यवहारहरूको कारण कष्ट पाइरहेको देखिन्छ । यस्ता दुःखकष्ट ज्येष्ठ नागरिकहरूका लागि घर–परिवारकै सदस्यहरूका नकारात्मक सोचका कारण उत्पन्न हुन्छ ।
ज्येष्ठ नागरिकका अधिकार :
ज्येष्ठ नागरिकका समस्याहरू समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्रसंघले सन् १९४८ मानव अधिकार घोषणा पत्रमा समावेश गरेको छ । यसमा धारा १ देखि ३० सम्म ‘प्रत्येक व्यक्ति’ र ‘कुनै पनि व्यक्ति’ भन्ने शब्दले ज्येष्ठ नागरिकलाई समेत अधिकार सुरक्षित गरेको देखिन्छ । त्यसैगरी हाम्रो देश नेपालले ज्येष्ठ नागरिकको समस्यालाई व्यवस्थापन गर्न ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ निर्माण गरेको छ । यो ऐनलाई अझ व्यवस्थित गर्न २०७९ मा पुनः संशोधन गरेको देखिन्छ । २०६३ सालताका कार्यरत उच्च ओहदाका मन्त्री, सांसद, सरकारी निकायका प्रमुख र अधिकृतहरू मध्ये कोही अहिले आ–आफ्ना घरमा ज्येष्ठ नागरिकका रुपमा छन् । उनीहरूले पनि समस्या झेलिरहेका छन् । कतिपय त मरेर गए होलान्, बाँचेकाहरू कोही राम्रै होलान्, ती मध्ये कोहीले दीर्घरोगी भएर घरपरिवारको वेस्याहार र बोझ भएर मानसिक असन्तुलन अवस्थामा दिन बिताइरहेका पनि छन् । ती मध्ये कोही बाँचेकाहरूले विभिन्न पत्र पत्रिकामा ज्येष्ठ नागरिकका डर र घत लाग्दा समस्याहरू लेखेका छन् । त्यतिमात्र होइन, प्रत्येक ज्येष्ठ नागरिकलाई कम्तिमा रु. १५ हजार वृद्ध भत्ता हुनुपर्छ अनि मात्र ज्येष्ठ नागरिकको न्यूनतम् आवश्यकता पुरा हुन सक्छ भनेर लेखेका पनि छन् । देशले भत्ता बढाउन नसके पनि ज्येष्ठ नागरिक सम्बन्धी २०६३ ऐन पछिल्लो संशोधनसम्म आइपुग्दा केही हदसम्म ज्येष्ठ नागरिकलाई राहत मिलेको देखिन्छ । नेपालको संविधान २०७२ को धारा ४१ मा मौलिक हकको रुपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ ।
बौद्ध दृष्टिकोण :
गौतम बुद्धले जवानीमा ज्ञान प्राप्त गरे, तर ज्ञान बाड्ने काम वृद्धावस्थासम्म गरे । उनले ज्ञान प्राप्त गर्नुमा उनले देखेको चार दृश्य मध्ये एउटा वृद्धावस्था पनि हो । उनले रोगी मानिस, वृद्ध मानिस, सन्यासी र मृत मानिस देखेपछि उनमा एउटा सोचको उत्पन्न भयो । हुन त उनले यो दृश्य जहिले देखेका हुन् । उनका अगाडि उनका पिता पनि ५७ वर्षभन्दा बढी उमेरका थिए । तर, एउटा सोचको परस्थितिले व्यक्तिलाई हौस्याउन मद्दत गरिरहेको हुन्छ, जुन गौतम सिद्धार्थलाई त्यो परस्थितिले गरायो । यी चारै दृश्य भएको समस्याको हल के हुन सक्छ भनि खोज गर्ने स्थितिको सृजना सिद्धार्थ गौतमलाई त्यही परस्थितिले गरायो । गौतम बुद्ध स्वयम्ले वृद्धावस्थालाई जीवनको एक ठूलो दुःखको समय हो भनि अथ्र्याएका हुन् । तर, यसबाट मुक्ति पाउन सकिन्छ भनेका छन् । उनको शिक्षामा समग्र संसार दुःख, अनात्मा र अनित्य छ भनिएको छ । वृद्धावस्था पनि अस्थायी (अनित्य) रहेको कुरा उनले बताएका छन् ।
बुद्धको शिक्षामा इच्छा र चाहना नै दुःखको प्रमुख कारण हो । बुद्धले सुख र भौतिक वस्तुको चाहनाबाट मुक्त हुनु नै दुःखबाट मुक्त हुनु हो भनेका छन् । कुनै पनि व्यक्ति रहरले वृद्ध हुँदैन, यो नितान्त स्वभाविक प्रक्रिया हो । सामाजिक, शारीरिक एवम् विभिन्न अवस्था र परिवेशले यस अवस्थाका व्यक्तिहरू स्वभावतः एक जवान व्यक्तिसरह स्वनिर्भर रहन सक्दैन, तर वृद्धावस्थामा उनीहरूले आफूलाई युवा अवस्थाको आफू र आफ्नो शरीरको चाहना नगरी आफ्नो अवस्थाको बोध गरेमा उनीहरूको मानसिकतामा परिवर्तन आउँछ, जसले गर्दा उनीहरू दुःखी रहनु पर्दैन । बुद्ध स्वयम्ले उनका नजिकको शिष्य आनन्दलाई बताएका थिए– ‘मेरो शरीर बिरामी भए पनि मेरो मन बिरामी भएको छैन ।’ बुद्धको यस भनाइलाई हेर्दा उनको पहिलो आर्य सत्यको यथार्ततालाई उजागर गरेको देखिन्छ । भन्नाले वृद्धा अवस्था अपरिहार्य छ । यसलाई अस्वीकार गर्नुको विकल्प नै छैन ।
बुद्धले कर्म र फलको व्याख्या गरेका छन् । व्यक्तिले जस्तो कर्म ग¥यो, त्यस्तै परिणाम भोग्छ । जसले वर्तमानमा आफ्ना अभिभावकको स्याहार गर्छ, त्यो उसको सोही अनुरुपको कर्म विपाक बनेर उसको भावी जीवनमा लागू हुन्छ । त्यसैले बौद्ध शिक्षा र दर्शनमा हरेक तरिकाले अभिभावकहरू सम्मानित रहेका छन् । तिनीहरूको रेखदेख र सेवा गर्नु हरेक सन्ततिको निर्विकल्प दायित्व हो । बौद्ध दर्शनमा रहेको मौलिक सिद्धान्त करुणा र मैत्री हो । संसारमा रहेका हरेक प्राणीप्रति करुणा र मैत्री भाव राख्नुपर्छ । यो भावले ज्येष्ठ नागरिकप्रति हरेक सन्तानले व्यवहार गरेमा वृद्ध अभिभावकको संरक्षण र सम्मान हुनेछ । करुणा र मैत्री भावले ज्येष्ठ नागरिकको आवश्यकताको पूर्ति गर्न मद्दत पुग्छ । यसबाट समाजमा मानवीयता कायम हुन्छ ।
सन्तानहरूले हरेक प्रकारले सेवा गर्नुपर्छ, आइपर्ने सबै भार बहन गर्नुपर्छ, हरेक प्रकारले बिँडो थाम्नुपर्छ, कुलपुत्र बनी अंश लिन योग्य बन्नुपर्छ र मृत्युपश्चात पनि पुण्य गरी सत्पुरुष बन्नुपर्छ भनि बौद्ध ग्रन्थमा खास गरी दीघनिकायको सिहांलोवाद सुत्तमा भनिएको छ । यी भनाइहरूले पनि वृद्धावस्थामा पुगेका अभिभावकलाई सम्मान र संरक्षण गर्नुपर्छ भन्ने कुरालाई लक्षित गरेको छ । ज्येष्ठ नागरिक भनेका परिवारका बोझ होइनन् बरु यी सभ्यताका मुहान हुन् । उनीहरू भएकाले नै आज हामी छौं र भोलिका हाम्रा सन्ततिका लागि हामी ज्येष्ठ नागरिक हुनेछौं । ज्येष्ठ नागरिक समस्या होइन, विकासको एउटा पक्षको रुपमा हेरिनुपर्छ । यो साकारात्मक सोचका साथ ज्येष्ठ नागरिकको समुचित रेखदेख, सम्मान र सुरक्षाका लागि हरेक सन्तति, समाज र राज्यको महत्वपूर्ण दायित्व रहेको छ ।